काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले ईस्पोर्ट्सका लागि एक करोड बजेट छुट्याइएको विषयमा स्पष्टीकरण दिएका छन् । मेयरको सय दिनको उपलब्धि सार्वजनिक गर्दै उनले सामाजिक सञ्जालमार्फत बजेट बिनियोजनको औचित्य देखाउन खोजेका हुन् ।
उनले गीत गाउने, नाच्ने जस्ता कलाकारहरू प्रति केही पहिलेसम्म समाज अनुदार रहेको विषयलाई मेयर बालेनले उदाहरणको रूपमा प्रस्तुत गरेका छन् । “त्यसमा पनि महिला कलाकारहरूका लागि त सम्मान भन्दा पनि अप्ठ्यारा बढी थिए । तर अहिले अवस्था फेरिएको छ,” उनले भनेका छन्, “यतिसम्म कि यी सम्बन्धित रियालिटी शोहरूमा जित्नका लागि परिवारले नै लगानी गर्ने तथा सानै उमेरदेखि नाच्न, गाउन तालिम दिने क्रम बढेको छ । यो हामीले देख्दादेख्दै भएको परिवर्तन हो ।”
त्यस्तै परिवर्तन खेल क्षेत्रमा पनि भइरहेको उल्लेख गर्दै मेयर बालेनले ईस्पोर्टस पनि खेलको रूपमा भविष्यको आम्दानीको क्षेत्र तथा राष्ट्रिय गौरवको विषय बन्दै गएको बताएका छन् ।
“त्यसमा हामी तयार हुने कि नहुने ? त्यो परिवर्तनलाई आत्मसाथ गर्ने कि नगर्ने ? यो प्रश्न प्रमुख थियो,” उनले अगाडि भनेका छन्, “हामीले त्यो परिवर्तनलाई समाजमा स्थापित गर्नका लागि बजेट छुट्यायौँ । बजेट छुट्याउने वित्तिकै आएका प्रतिक्रिया र मानिसहरूले बुझ्दै गए पछि आएका प्रतिक्रियाहरू फरक पर्न थालेका छन् ।”
ईस्पोर्टसमा योजना अनुसार कार्यक्रम भए भविष्यमा आफूले त्यसका लागि बजेट छुट्याउनुको उपादेयता समेत हासिल हुन सक्ने आश्वासन दिँदै उनले उक्त दिन कुर्न आग्रह गरेका छन् ।