close

आर्टिफिसियल इन्टेलिजेन्ससँगै उदाएको प्रम्प्ट इन्जिनियरिङ के हो, कस्तो छ करियर ?

टेकपाना टेकपाना

जेठ १७, २०८० १२:१८

आर्टिफिसियल इन्टेलिजेन्ससँगै उदाएको प्रम्प्ट इन्जिनियरिङ के हो, कस्तो छ करियर ?

काठमाडौं । गत वर्ष ओपनएआईको च्याटजीपीटी सार्वजनिक भएसँगै हरेक क्षेत्रमा यसको प्रयोग हुन थाल्यो । त्यस्तै विभिन्न प्रयोजनका लागि नयाँ-नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल विकास भए । योसँगै एआईले अब रोजगारी खोस्ने चर्चा चुलिएको छ ।

तर एआईको सकारात्मक पक्ष भनौं, यही कारण एउटा नयाँ कामको जन्म भएको छ । कतिपयले यसलाई एआई युगको एक आधारभूत सीप मान्ने गरेका छन् । यो हो, प्रम्प्ट इन्जिनियरिङ (Prompt Engineering) । 

एआईले चर्चा पाउन थालेसँगै प्रम्प्ट इन्जिनियरिङको चर्चा कुरा हुन थालेको हो । यसैले प्रम्प्ट इन्जिनियरिङ र एआईको चर्चा समानान्तर जस्तै बनेको छ ।

त्यस्तै प्रम्प्ट इन्जिनियरहरूलाई कम्पनीहरूले आकर्षक तलब दिएको समाचार पनि बाहिरिएका छन् ।

के हो प्रम्प्ट ?

प्रम्प्ट इन्जिनियरिङबारे बुझ्नुअघि ‘प्रम्प्ट’ बारे बुझ्न आवश्यक छ । लार्ज ल्याङ्वेज मोडेल्स (एलएलएम) एआई, जेनेरेटिभ एआईमा यसको भूमिका उल्लेखनीय हुन्छ । प्रयोगकर्ताले प्रम्प्टको सहायताबाट नै एआईसँग सञ्चार स्थापित गर्ने गर्छन् । 

सरल भाषामा भन्दा टेक्स्टको छोटो रूप नै प्रम्प्ट हो । एलएलएम एआईलाई टेक्स्ट लेख्न, भाषा अनुवाद गर्न, विभिन्न सामग्री लेख्न र प्रयोगकर्ताको प्रश्नहरूको जवाफ दिन प्रम्प्टले गाइड गर्छ । प्रयोगकर्ताले एआईबाट चाहेको प्रतिक्रिया अथवा उत्तर प्राप्त गर्न कुनै इन्पुट वा जिज्ञासा प्रयोग गर्छन्, त्यही नै प्रम्प्ट हो ।

प्रम्प्ट केही शब्द वा अनुच्छेदको पनि हुन सक्छ । त्यस्तै सरल र एकदम जटिल पनि हुन सक्छ । ‘बिरालोबारे कविता लेख’लाई एक सामान्य प्रम्प्ट मान्न सकिन्छ भने ‘जङ्गलमा हराएको कालो रङ्गको बिरालोबारे गद्य कविता लेख’लाई एक जटिल प्रम्प्ट । हुन त यी दुवै प्रम्प्टले काम गर्छन् ।

तर दोस्रो अलि जटिल र धेरै विवरण भएकाले नतिजा पनि तुलनात्मक रूपमा पहिलोको भन्दा स्तरीय प्राप्त हुन्छ । यसैले जे चाहेको हो, ठ्याक्कै त्यो पाउन उत्कृष्ट प्रम्प्ट डिजाइन हुन आवश्यक छ । त्यही प्रम्प्ट डिजाइन गर्ने कामलाई प्रम्प्ट इन्जिनियरिङ भनेर चिन्ने गरिन्छ । यसबारे अझ जान्न प्रम्प्टको थप अवधारणाबारे स्पष्ट हुन आवश्यक छ । 

प्रम्प्टको आधारभूत कुरा

सामान्य खालका प्रम्प्ट प्रयोग गर्दा पनि नतिजा प्राप्त हुन्छ । तर नतिजा स्तरीय अथवा आफूले सोचे जस्तो नहुन सक्छ । यही कारण उत्कृष्ट नतिजाका लागि प्रम्प्ट पनि त्यस्तै हुन आवश्यक छ ।

प्रम्प्टमा सूचना, निर्देशन समावेश हुने गर्छ । यी बाहेक सन्दर्भ, इन्पुट वा उदाहरण समेत समावेश हुन सक्छ । यी सबै भएको प्रम्प्टबाट मात्र आफूले खोजेको कुरा सजिलै प्राप्त गर्न सकिन्छ ।  

प्रम्प्टको ढाँचा

उत्कृष्ट प्रम्प्ट बनाउन विभिन्न ढाँचा अथवा विधि प्रयोग गर्न सकिन्छ । सामान्यतया प्रम्प्टमा ‘प्रश्न’ र ‘निर्देशन’ हुने गर्छ । यसलाई क्वेसन आन्सरिङ (क्यूए) फर्म्याट भनिन्छ । प्रम्प्टको आधारभूत ढाँचा नै यसलाई मान्ने गरिन्छ । यसअन्तर्गत थप अन्य ढाँचा हुने गर्छन् । 

‘जिरो सट प्रम्प्टिङ’ त्यस्तै एक हो । यो त्यस्तो ढाँचा हो, जसमा एलएलएमलाई कुनै तालिम वा बिना उदाहरण काम अह्राउने गरिन्छ । त्यस्तै अर्को हो, फ्यु सट प्रम्प्टिङ (Few-shot Prompting) ।

यसमा केही उदाहरण दिएर मात्र एलएलएमलाई काम सम्पन्न गर्न दिइन्छ । ‘चेक अफ थट प्रम्प्टिङ’ मा धेरै ओटा प्रम्प्टबाट निर्देशन दिइन्छ । तर ती सबै प्रम्प्ट एक-अर्कासँग सम्बन्धित वा जोडिएका हुन्छन् । 

तर सोच्नुपर्ने कुरा के छ भने प्रम्प्टका लागि यी ढाँचा मात्र प्रयोग गर्नुपर्छ भन्ने छैन । यीबाहेक थुप्रै ढाँचा रहेका छन् । कस्तो प्रकारको काम छ, त्यही अनुसारको ढाँचा प्रयोग गर्न सकिन्छ ।

प्रम्प्टको तत्व

प्रम्प्ट बन्नका लागि चाहिने कुरालाई नै यसको तत्व मानिन्छ । विशेषत: यसको तत्व यसप्रकार हुने गर्छ:

निर्देशन: एआई मोडेलबाट गराउन खोजेको विशेष कामका लागि दिइने आदेश

सन्दर्भ: मोडेलको कामलाई प्रभावकारी बनाउन दिइने थप सूचना 

इन्पुट डेटा: चाहेको वा खोजेको प्रतिक्रिया पाउन उपलब्ध गराइने सामग्री

आउटपुट इन्डिकेटर: नतिजाको प्रकार अथवा ढाँचा

प्रम्प्ट बनाउन यी चारै तत्व प्रयोग गर्नुपर्छ भन्ने छैन । यिनको प्रयोग पनि कस्तो खालको काम छ, त्यही अनुसार गर्न सकिन्छ । 

प्रम्प्ट इन्जिनियरिङ

माथिका अनुच्छेदहरूबाट हामीले प्रम्प्टबारे थाहा पाइसक्यौं । पुन: दोहोर्याउँदा एआई मोडेलसँग सञ्चार गर्ने माध्यम प्रम्प्ट हो । त्यस्तै उत्कृष्ट प्रम्प्ट बनाउन प्रयत्न गर्नु नै प्रम्प्ट इन्जिनियरिङ ।

छोटोमा भन्दा एआईको क्षेत्रमा जन्मेको नयाँ अवधारणा नै प्रम्प्ट इन्जिनियरिङ हो । यो प्राकृतिक भाषामा प्रशोधन गरिन्छ । यसमा विशेष गरेर एआईले गर्नु पर्ने कामको विवरण राखिएको हुन्छ । 

यसमा शब्द, अनुच्छेद, सङ्केत तथा ढाँचाको उत्कृष्ट छनोट गर्नु पर्ने हुन्छ । तब मात्र एआईले स्तरीय र सान्दर्भिक जवाफ दिन्छ । तपाईंले च्याटजीपीटी प्रयोग गरिरहनु भएको छ भने सायद यो कुरा विचार गर्नु भएको होला । जस्तो; कृपया, मलाई मानव इतिहास बताउ र कृपया, मलाई तीन अनुच्छेदमा मानव इतिहास बताउ  भनेर प्रम्प्ट लेख्दा भिन्न भिन्न जवाफ प्राप्त हुन्छ ।

यसरी प्रम्प्ट इन्जिनियरले एआईलाई उत्कृष्ट उत्तर दिने बनाउन प्रम्प्ट सिर्जना गर्ने गर्छन् । यसले गर्दा मसिनको नतिजा दिने क्षमता सुधार हुने गर्छ । 

एआईका लागि प्रम्प्ट इन्जिनियरिङ निकै महत्त्वपूर्ण हुने गर्छ । एलएलएम एआईलाई थप प्रभावकारी रूपमा बुझ्न र प्रयोग गर्न यसले सहयोग गर्छ ।

एलएलएमको सामान्यदेखि जटिल समस्या समाधान गरेर यसको क्षमता सुधार गर्न समेत प्रम्ट इन्जिनियरिङ प्रयोग गर्ने गरिन्छ । यसकारण एलएलएमलाई कार्य गर्न निर्देशन दिन प्रम्प्ट डिजाइन गर्नु नै प्रम्प्ट इन्जिनियरिङ हो । 

प्रम्प्ट इन्जिनियरिङ: नयाँ करियर

नयाँ-नयाँ एआई टुलहरू विकास हुँदै जाँदा प्रम्प्ट इन्जिनियरिङलाई एक लोकप्रिय प्राविधिक काम (Tech Job) मान्न थालिएको छ । त्यस्तै उदाउँदो र रचनात्मक क्षेत्र बन्दै गइरहेको छ ।

यसमा दक्ष भएकाले एलएलएम एआईलाई तालिम दिन, तिनीहरूबाट धेरै उत्तर प्राप्त गर्न, कमजोरी सुधार गर्न सक्छन् । यसैले कम्पनीहरूले प्रम्प्ट इन्जिनियरहरूलाई आकर्षक तलब दिएर राख्न थालेका छन् । 

अहिले थुप्रै कम्पनीहरूले प्रम्प्ट इन्जिनियरलाई ६ डिजिटको तलब दिने गरेका समाचारहरू आएका छन् । विशेषत: प्रम्प्ट इन्जिनियरहरूले एआई सिस्टमका लागि प्रम्प्ट विकास गर्ने र सिस्टमलाई सुधार गर्ने काम गर्छन् ।

हुन त एआईले के गर्ने भन्ने निर्देशन दिनु नै प्रम्प्ट हो । यो मुलत: न्याचुरल ल्याङवेजमा लेखिने गरिन्छ । यद्यपि यो टेक्निकल फर्म्याटमा समेत लेखिने गरिन्छ । 

प्रम्प्ट इन्जिनियरको भूमिका

प्रम्प्ट इन्जिनियरहरूले एलएलएम, मसिन ट्रान्सलेसन सिस्टम, इमेज रिकग्निसन सिस्टम जस्ता एआई सिस्टममा काम गर्छन् । उनीहरूलाई प्रभावकारी प्रम्प्ट विकास गर्न, यी प्रणालीहरूले कसरी काम गर्छन् भन्नेबारे गहिरो ज्ञान भने हुन आवश्यक छ । 

यो काम चुनौतीपूर्ण र आकर्षक दुवै छ । किनकि उनीहरूले नयाँ एआई एप्लिकेसन विकास गर्न नवीन र जटिल एआई अनुसन्धानमा काम गर्नुपर्ने हुन्छ ।

यसका लागि उनीहरूलाई रचनात्मक हुन र मानव भाषामा (Human Language) दक्षता हुन आवश्यक छ । यद्यपि कम्पनी/संस्था अनुसार प्रम्प्ट इन्जिनियरको काम भने फरक-फरक हुन सक्छ । तर सबै प्रम्प्ट इन्जिनियरको साझा काम भने मसिनले आउटपुट दिने कुरालाई सुधार गर्ने हुन्छ । 

प्रम्प्ट इन्जिनियर बन्न के गर्ने ?

प्रम्प्ट इन्जिनियर बन्न तपाईंसँग केही प्राविधिक सीप हुन आवश्यक छ । यस बाहेक सफ्ट स्किल (प्राविधिक बाहेक अन्य सीप) पनि हुन पर्छ । तल बुँदागत रूपमा प्रम्प्ट इन्जिनियर बन्न चाहिने कुरा दिइएको छ: 

-विश्लेषणात्मक र समस्या समाधान गर्ने क्षमता

-बिग डेटा प्रविधि (हडुप, अपाचे स्पार्क आदि) मा प्राविधिक अनुभव

-जाभा, सी++, पाइथन जस्ता प्रोग्रामिङ ल्याङ्वेजमा दक्षता

-एआई टुल र डेटा एनालाइजिङमा अनुभव

-एआई, न्याचुरल ल्याङ्वेज प्रोसेसिङ र मसिन लर्निङबारे ज्ञान आदि ।

कहाँ सिक्ने प्रम्प्ट इन्जिनियरिङ ?

अहिले अनलाइनमा प्रम्प्ट इन्जिनियरिङबारे विभिन्न स्रोत भेटाउन सकिन्छ । जहाँबाट तपाईंले प्रम्प्ट इन्जिनियरिङबारे सिक्न सक्नुहुन्छ । एआई कम्पनीमा काम गर्न मात्र नभई स्वयं आफैंलाई पनि यो सीप काम लाग्छ ।

डिप लर्निङ एआईले नि:शुल्क प्रम्प्ट इन्जिनियरिङको क्लास दिने गर्छ । यसमा स्वयं ओपन एआईका इन्जिनियरले कक्षा दिने गर्छन् । त्यस्तै गीटहब, लर्न माइक्रोसफ्ट, हेल्प ओपन एआई, लर्न प्रम्प्टिङ लगायत अन्य थुप्रै प्लेटफर्म रहेका छन्, जहाँबाट नि:शुल्क प्रम्प्ट इन्जिनियरिङ सिक्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १७, २०८० १३:७