close

अब उडिरहेको फ्लाइटबाटै राइड तथा होटल बुक गर्न सकिने

टेकपाना टेकपाना

भदौ १९, २०७९ १३:२४

अब उडिरहेको फ्लाइटबाटै राइड तथा होटल बुक गर्न सकिने

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनी यति एयरलाइन्सले फ्लाइटबाटै राइड शेयरिङ सेवा बुकिङ गर्न सकिने सेवा उपलब्ध गराउने भएको छ । फ्लाइटबाट बाहिर निस्किएर आफ्नो गन्तव्यसम्म पुग्न सवारी खोज्नुपर्ने तथा सवारी कुर्नुपर्ने बाध्यतालाई सहज बनाउन कम्पनीले यो सेवा उपलब्ध गराउन लागेको कम्पनीका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

”फ्लाइटबाट नै आफ्नो राइड शेयरिङ सेवा तथा होटल बुक गर्ने व्यवस्थालाई सहज बनाउन हामी काम गरिरहेका छौं । यसको लागि आवश्यक छलफलहरू भइरहेको छ,” उनले भने, ‘चाँडै नै यो सेवा सुरु गर्नेछौ ।’ कुनै ठाउँमा जाँदा सवारी तथा होटल बुक गर्नका लागि यात्रुलाई सहज होस् भन्ने उद्देश्यका साथ यो सेवा उपलब्ध गर्न लागिएको उनको भनाई छ ।

केही महिना अगाडि मात्र कम्पनीले इन-फ्लाइट इन्टरटेनमेन्ट सेवा सञ्चालनमा ल्याएको थियो । ‘यति स्क्रिन’ नाम दिइएको यो सेवा प्रयोग गर्नको लागि प्रयोगकर्ताले हवाईजहाजमा चढिसकेपछि आफ्नो मोबाइलमा ‘एरोप्लेन मोड’ अन गरेर वाईफाई अन गर्नुपर्ने हुन्छ ।

यसपछि आफ्नो ब्राउजरमा गएर यति स्क्रिन टाइप गरेर आवश्यक विवरण दिएपछि यति स्क्रिन भित्र रहेका विभिन्न सामग्रीहरू स्क्रिनमा देखिनेछ । यो सेवा अन्तर्गत यात्रुले प्लेनभित्र आफ्नो यात्राको दौरान उपलब्ध छोटो भिडिओहरू, चलचित्र, गीत हेर्न पाउनेछन् भने विभिन्न गेमहरू पनि खेल्न सकिने छ ।

कम्पनीले यो सेवा गत जुलाई देखि सुरु गरेको थियो ।  यो सेवालाई थप परिष्कृत गर्दै सामग्रीहरू थप गर्ने र यात्रुलाई यात्रालाई मनोरञ्जनात्मक बनाउनका लागि थप सुधार गर्दै जाने उनले बताए । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३