काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी साओमीले आफ्नो नयाँ प्रोडक्टको रुपमा विश्व बजारमा साओमी १३ अल्ट्रा सार्वजनिक गर्ने तयारी गरेको छ । केही समय अघिमात्रै कम्पनीका प्रमुख कार्यकारी अधिकृत ली जुनले साओमी १३ अल्ट्राको उपलब्धताको विषयमा जानकारी दिएका थिए ।
यो सँगै बजारमा साओमी १३ अल्ट्रामा हुन सक्ने फिचरका विषयमा अड्कल बाजी सुरु भएको छ । यही क्रममा चिनियाँ प्लेटफर्म विबोमार्फत एक जना प्रयोगकर्ताले साओमी १३ अल्ट्राको नयाँ तथ्य सार्वजनिक गरेका छन् ।
उक्त प्रयोगकर्ताका अनुसार साओमीको आगामी उत्पादन साओमी १३ अल्ट्रामा १ इन्चको प्राइमरी क्यामेरा सेन्सर उपलब्ध हुनेछ ।
स्न्यापड्रयागन ८ जेन २ प्रोसेसरमा आधारित हुने फोनमा लाईकाद्धारा मान्यता प्राप्त क्यामेरा हुने जनाइएको छ । लाईका विश्व क्यामेरा बजारमा उत्कृष्ट ब्राण्ड हो ।
फोनमा १ इन्चको सेन्सर सहित ५० मेगा पिक्सेलको मुख्य क्यामेरा रहने छ । भने, ४८ मेगापिक्सेलको टेलिफोटो र अल्ट्रावाइड सेन्सर रहने दावी गरिएको छ ।
सँगै फोनको चार्जिङ सिस्टम समेत परिष्कृत हुने बताइएको छ । उक्त विबो प्रयोगकर्ताका अनुसार फोनमा २०० वाटको फास्ट चार्जिङ सिस्टम उपलब्ध हुनेछ ।
यसअघि साओमीले २१० वाटसम्मको चार्जिङ सिस्टमका लागि अनुमति प्राप्त गरिसकेकाले उनको अनुमानलाई नकार्न भने सकिँदैन ।