close

आईफोन १३ हुँदा हुँदै आईफोन १४ किन्ने सोचमा हुनुहुन्छ ? यी कुरामा ख्याल राख्नुहोस्

टेकपाना टेकपाना

भदौ २१, २०७९ १४:४४

आईफोन १३ हुँदा हुँदै आईफोन १४ किन्ने सोचमा हुनुहुन्छ ? यी कुरामा ख्याल राख्नुहोस्

काठमाडौं । भोलि अर्थात् बुधबार एप्पल इभेन्ट आयोजना हुँदै छ । नेपाली समय अनुसार राति १०ः४५ बजेदेखि सुरू हुने यो इभेन्टमा एप्पलका विभिन्न उत्पादन सार्वजनिक हुने अनुमान गरिएको छ । यसअन्तर्गत मुख्य आकर्षणका रूपमा आईफोन १४ सिरिज रहेको छ ।

नयाँ आईफोन आउँदा स्वभावैले प्रयोग गर्ने चाहना तपाईँले पनि राख्नुभएको छ होला । यदि तपाईँ आईफोन १३ प्रयोगकर्ता हुनुहुन्छ भने आईफोन १४ आफूलाई उपयुक्त हुने नहुने कुरामा द्विविधामा पर्नु भएको हुनसक्छ ।

आईफोनको नयाँ मोडेलमा शिफ्ट हुन चाहनुहुन्छ भने यो लेख तपाईँका लागि उपयुक्त हुनसक्छ । यहाँ हामीले आईफोन १३ का विभिन्न मोडेलको तुलना आईफोन १४ सिरिजसँग गरेका छौँ, जसले गर्दा तपाईँले उक्त फोन आफूलाई उपयुक्त भए नभएको विश्लेषण गर्न सक्नुहुन्छ ।

आईफोन १३

आईफोन १३ आधिकारिक रूपमा १४ सेप्टेम्बर २०२१ मा सार्वजनिक भएको थियो । यसमा भएको सबैभन्दा उत्कृष्ट फिचर भनेको यसको पर्फमेन्स हो, जसले जोकोहीलाई आकर्षित पार्छ ।

त्यस्तै आकर्षक तथा गुणस्तरीय डिस्प्ले र उत्कृष्ट क्यामेरा हुनु यो फोनको राम्रो पक्ष हो । अहिले आईफोनको नयाँ मोडेल सार्वजनिक हुन लागेको हुँदा धेरैलाई आईफोन १३ हुनेले आईफोन १४ र आईफोन १३ मध्ये कुन उपयुक्त भन्ने कुराको खोजी गरिरहेका हुन्छन् ।

सबैभन्दा पहिले कुरा गरौँ यी फोनमा हुने चिपसेटबारे । आईफोन १३ जस्तै आईफोन १४ मा पनि ए१५ बायोनिक सिलिकन चिप हुने अपेक्षा गरिएको छ । एप्पलले नयाँ मोडेलमा र्‍याम बढाउनसक्छ । तर, र्‍याम बढाउँदैमा यसको पर्फमेन्समा पहिलेको भन्दा धेरै भिन्नता हुन्छ भन्ने हुँदैन ।

र्‍याममा हुने वृद्धिलाई नै लिएर आईफोन १४ लिने सोच्नु भएको छ भने त्यो उपयुक्त हुँदैन । एप्पलले सार्वजनिक गर्ने नयाँ मोडेलको क्यामेरामा केही नयाँ फिचरहरू थपिने अपेक्षा गरिएको छ ।

तर, हामी के अनुमान गर्न सक्छौँ भने यसमा नयाँ फिचर थपिए पनि क्यामेराका लागि प्रयोग हुने हार्डवेयर भने उही नै रहनेछ । यसको फ्रन्ट क्यामेरा भने आईफोन १३ भन्दा केही सुधार भएर आउनेछ ।

आईफोन १३ र आईफोन १४ मा प्रायः फिचर समान हुने भए तापनि यसको डिस्प्लेको रिफ्रेस रेटमा भने केही बदलाव आउन सक्नेछ ।

आईफोन १३ मा ६० हर्ज रिफ्रेस रेट रहेको छ बने प्रो मोडेलमा १२० हर्ज रिफ्रेश रेट रहेको छ । तर, आईफोन १४ मा भने डिस्प्लेको रिफ्रेस रेट ९० हर्ज हुनसक्ने अनुमान गरिएको छ ।

रिफ्रेस रेट, र्‍याम, फर्फमेन्स र क्यामेराका फिचरका लागि नयाँ मोडेल अर्थात् आईफोन १४ लिने सोच्नुभएको छ भने तपाईँका लागि उपयुक्त हुन सक्छ ।

आईफोन १३ र १३ प्रो म्याक्स

आईफोन १३ र १३ प्रो पनि १४ सेप्टेम्बर २०२१ मा सार्वजनिक भएका थिए ।

यी मोडेलका सबैभन्दा आकर्षक फिचर भनेको ए१५ बायाेनिक चिपको पर्फमेन्स, आकर्षक तथा गुणस्तरीय डिस्प्ले र उत्कृष्ट क्यामेरा हो ।

यी मोडेलमा अभाव भएको कुरा भनेको फास्ट चार्जिङ हो ।

एप्पलले आईफोन १४ प्रो मोडेलमा भने ए१६ बायाेनिक चिप हुने बताइएको छ, जसले आईफोन १३ प्रो मोडेलका तुलनामा राम्रो पर्फमेन्स दिनसक्छ ।

आईफोन १४ प्रो मोडेलमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा रहनेछ । र, अगाडि डिस्प्लेमा हुने नच (Notch) आईफोन १३ प्रो मोडेलभन्दा सानो रहनेछ ।

आईफोन १३ प्रोमा कमी भएको फिचर हाे, फास्ट चार्जिङ । यदि तपाईँलाई आईफोन १३ प्रोमा फास्ट चार्जिङको अभाव खड्किरहेको छ भने आईफोन १४ प्रो लिन सक्नुहुन्छ । किनभने यसले ३० वाटको फास्ट चार्जिङ सपोर्ट गर्ने बताइएको छ ।

यदि तपाईँ आईफोनको नयाँ मोडेलको नचमा परिवर्तन खोजिरहनु भएको छ, त्यसैमा फास्ट चार्जिङ, आकर्षक वाइड तथा अल्ट्रावाइड क्यामेरा खोजिरहनु भएको छ भने आईफोन १४ प्रो उपयुक्त हुनसक्छ ।

आईफोन १३ मिनी

आईफोन १३ मिनी पनि आईफोन १३, १३ प्रो र १३ प्रो म्याक्ससँगै सार्वजनिक भएको मोडेल हो । यसमा ए१५ बायोनिक चिप छ ।

यो मोडेलमा ब्याट्री लाइफ भने कम छ ।

यदि तपाईँसँग आईफोन १३ मिनीको ५.४ इन्चको सानो डिस्प्लेले गर्दा आईफोन १४ सिरिजको कुनै नौलो मोडेल लिने सोचिरहनु भएको हुनसक्छ । त्यसका लागि नै हो भने तपाईँले ६.७ इन्च डिस्प्ले रहेको आईपोन १४ लिन सक्नुहुन्छ ।

आईफोन १३ मिनी प्रयोग गरिरहनु भएको छ र चिपकै कारणले आईफोन १४ को कुनै मोडेल लिने सोचिरहनु भएको छ भने आईफोन १४ उपयुक्त नहुन सक्छ ।

किनभने चिपको सन्दर्भमा आईफोन १३ मिनी र आईफोन १४ मा त्यति भिन्नता नहुने बताइएको छ ।

तर, ब्याट्री र डिस्प्लेका लागि आईफोन १४ को प्रो मोडेल लिन खोजिरहनु भएको छ भने तपाईँलाई ती मोडेल तुलनात्मक हिसाबले केही महँगो लाग्नसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३