ओप्पो रेनो १५ एफ फाइभजीको नयाँ भेरियन्ट नेपाली बजारमा, मूल्य ६४ हजार रुपैयाँ
असार २९, २०८३ २१:५५
काठमाडौं । ओप्पो नेपालले रेनो सिरिज अन्तर्गत नयाँ स्मार्टफोन ओप्पो रेनो १५ एफ ५जी (OPPO Reno 15F 5G) को नयाँ भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यसअघिका संस्करणहरू जस्तै यसमा पनि ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको विकल्प उपलब्ध गराएको छ ।
यो फोन आज (सोमबार) देखि देशभरका आधिकारिक स्टोरहरूमा बिक्रीका लागि उपलब्ध भएको छ ।
कम्पनीले एआई प्रविधिमा आधारित क्यामेरा, शक्तिशाली प्रोसेसर र टिकाउ ब्याट्री जस्ता विशेषताहरू यस मोडेलमा रहेको जनाएको छ ।
विशेषगरी फोटोग्राफी र भिडिओग्राफीमा रुचि राख्ने प्रयोगकर्ताहरूलाई यो फोन उपयोगी हुने बताइएको छ ।
फोनमा ५० मेगापिक्सेलको अल्ट्रा-क्लियर मुख्य क्यामेरा दिइएको छ, जसमा अप्टिकल इमेज स्टेबिलाइजेसन (OIS) प्रविधि समावेश छ । यसले गर्दा हात हल्लिँदा पनि स्थिर र स्पष्ट फोटो तथा भिडियो खिच्न सकिन्छ । सेल्फीका लागि फोनको अगाडि भागमा ५० मेगापिक्सेलकै अल्ट्रा-वाइड क्यामेरा राखिएको छ ।
क्यामेरालाई थप प्रभावकारी बनाउन यसमा एआई पोर्ट्रेट ग्लो, एआई मोसन फोटो र एआई इरेजर जस्ता आधुनिक फिचरहरू छन् । यी फिचरहरूको मद्दतले फोटोबाट अनावश्यक वस्तुहरू हटाउन, गुणस्तर सुधार्न र तस्बिरलाई थप आकर्षक बनाउन सकिने दाबी कम्पनीको छ ।
पातलो र हलुका डिजाइनको यो फोनमा ६.५७ इन्चको फुल एचडी प्लस ओएलईडी डिस्प्ले रहेको छ, जसले १२० हर्जको रिफ्रेस रेट सपोर्ट गर्दछ ।
यो फोन क्वालकम स्न्यापड्रागन ६ जेन १ प्रोसेसरद्वारा सञ्चालित छ भने एन्ड्रोइड १६ मा आधारित ओप्पोकै कलर ओएसमा चल्दछ ।
८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेजका कारण यसमा एकैसाथ धेरै एपहरू सहजै चलाउन र ठुलो मात्रामा डेटा सुरक्षित राख्न सकिन्छ ।
यसमा ७,००० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । साथै, ८० वाटको सुपरभोक फ्ल्याश चार्जले फोनलाई निकै छोटो समयमा फुल चार्ज गर्न मद्दत गर्ने बताइएको छ । धुलो र पानीबाट बचाउनका लागि यसमा आईपी६९रेटिङ दिइएको छ ।
नेपाली बजारमा यो फोन अरोरा ब्लु र ट्वाइलाइट ब्लु गरी दुई रङमा उपलब्ध छ । यस नयाँ भेरियन्टको बजार मूल्य ६३ हजार ९९९ रुपैयाँ तोकिएको छ ।
पछिल्लो अध्यावधिक: असार २९, २०८३ २१:५५
