close

धरानमा अब ड्रोनबाट सुरक्षा निगरानी

टेकपाना टेकपाना

भदौ २२, २०७९ ८:४५

धरानमा अब ड्रोनबाट सुरक्षा निगरानी

सुनसरी । धरान तथा आसपासमा पर्ने नदी खोला, नाला तथा वन जङ्गल क्षेत्रबाट हुने प्राकृतिक स्रोतसाधनको दोहन, खानेपानीको मुहान साथै बजारलगायतका संवेदनशील क्षेत्रको सुरक्षा निगरानी अब ड्रोनबाट गरिने भएको छ ।

धरान उपमहानगरपालिकाका नगर प्रहरीले धरानको समग्र सुरक्षा संवेदनशील क्षेत्रहरूमा ड्रोनबाट निगरानी गर्ने भएको हो । धरानका प्रमुख हर्कराज राई साम्पाङको अवधारणाअनुसार धरानमा विभिन्न खोला, नाला, वन क्षेत्रलगायत बजारसमेतको निगरानीमा नगर प्रहरीले ड्रोन प्रयोग गर्न थालेको हो ।

धरानको स्थानीय सर्दु, खर्दु र निशाने खोलामा भइरहेको वृक्षारोपण, खानेपानीको मुहान निर्माण तथा सरसफाइ अभियानको निगरानी गर्ने काम ड्रोनबाट गर्न सुरु गरिएको प्रमुख साम्पाङले बताए ।

केही दिनअघि खरिद गरिएको ड्रोनको सर्दु खोला क्षेत्रमा प्रमुख साम्पाङलगायत नगर प्रहरी, नगरपालिकाका प्राविधिकसमेतको उपस्थितिमा परीक्षण उडान गरिएको छ ।

भौगोलिक विकटता भएको विभिन्न स्थानमा नियमित हिँडेर त्यहाँको अवस्था बुझ्न पुग्नुभन्दा ड्रोनबाट हेरेर निगरानी गर्न प्रभावकारी हुने बताइएको छ ।

यस क्रममा सर्दु, खर्दु, निशाने र पकुवा खोला क्षेत्रका साथै धरानका अन्य भौगोलिक हिसाबले विकटता रहेका वन जङ्गल, डाँडा पाखालगायतका क्षेत्रमा हुने विकृति र विसङ्गतिको निगरानी अबदेखि नगर प्रहरीले ड्रोनबाट गर्ने धरानका नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताए ।

यसबाहेक धरान बजार क्षेत्रको निगरानी गर्न र आवश्यकताअनुसार अन्य क्षेत्रमा पुगेर भिडिओ र तस्वीर लिनका लागि पनि ड्रोनको प्रयोग गरिने बताइएको छ ।

धरान उपमहानगरपालिकाले फाइभ के प्रविधिको क्यामरा जडित सो ड्रोन उडाउनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीबाट अनुमतिसमेत लिइसकेको छ ।

-गाेरखापत्र    

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३