प्रधानमन्त्री बालेनको ‘नेपालले भारतको सीमा मिचेको’ अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग
जेठ १८, २०८३ १४:४३
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले संसद्मा आइतबार दिएको विवादित अभिव्यक्तिप्रति विपक्षी दलहरूले आपत्ति जनाउँदै त्यसलाई संसद्को रेकर्डबाट हटाउन माग गरेका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले कुनै पनि आधार र प्रमाणबिना ‘नेपालले पनि भारतको सीमा मिचेको’ भन्नु राष्ट्रिय हित विपरीत र गैरजिम्मेवारपूर्ण भएको जिकिर गरे । उनले प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि र आधिकारिक धारणामा नकारात्मक असर पर्ने उल्लेख गरे ।
“चिया पसलको गफ र संसद्को अभिव्यक्तिबिच फरक हुन्छ । सामान्य नागरिकले भनेको कुरा र देशको प्रधानमन्त्रीले भनेको कुराको प्रभाव फरक हुन्छ । प्रधानमन्त्रीज्यूले जब कुनै दाबी गर्नुहुन्छ, त्यसलाई देशले सरकारी धारणा ठान्छ, अन्तर्राष्ट्रिय समुदायले नेपालको आधिकारिक दृष्टिकोणको रूपमा लिन्छ र जनताले त्यसलाई सत्यका रूपमा ग्रहण गर्छन्,” उनले थपे, “तथ्याङ्क बिनाको अभिव्यक्ति राजनीतिक भाषण हुन सक्छ, तर त्यो राज्य सञ्चालन गर्ने आधार बन्न सक्दैन । अनुमानका आधारमा राष्ट्र चल्दैन, तथ्यका आधारमा चल्छ । भावनाले ताली पाउन सक्छ, तर तथ्यले मात्र विश्वास जित्न सक्छ ।”
प्रधानमन्त्रीले कुन आधारमा नेपालले भारतको सीमा मिचेको दाबी गरे भन्दै शाहीले त्यसको प्रमाण संसद्मा पेस गर्न चुनौती समेत दिए । “यदि सरकारसँग नेपालले भारतको सिमाना मिचेको कुनै पनि दाबी आधार छ भने सम्मानित संसद् समक्ष प्रस्तुत गर्न म अपिल गर्दछु । यदि छैन भने जनतालाई भ्रमित गर्ने खालका अभिव्यक्तिबाट सरकार स्वयं जोगिनुपर्छ,” उनले भने ।
प्रजातन्त्रमा विश्वासको आधार सत्य हुनुपर्ने र सत्यको आधार तथ्याङ्क हुनुपर्ने भन्दै शाहीले सभामुखलाई आग्रह गरे, “प्रधानमन्त्रीले तथ्य बिना संसद्मा बोलेका शब्दहरू संसद्को रेकर्डबाट हटाउनका लागि म सम्माननीय सभामुख ज्यूलाई अपिल गर्न चाहन्छु ।”
त्यस्तै कांग्रेसका सांसद निश्कल राई, एमालेका ऐन महर, नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पनि प्रधानमन्त्रीले सदनमै आएर माफी माग्नुपर्ने र उनको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग राखे ।
पछिल्लो अध्यावधिक: जेठ १८, २०८३ १४:५४
