close

बाह्य लगानी बिना कसरी १ अर्ब डलरको कम्पनी बन्यो ‘जोहो’ ?

टेकपाना टेकपाना

भदौ २६, २०७९ १६:३२

बाह्य लगानी बिना कसरी १ अर्ब डलरको कम्पनी बन्यो ‘जोहो’ ?

काठमाडौं । हरेक स्टार्टअप कुनै न कुनै रूपमा भिन्न हुन्छन् । एउटा सानो ठाउँबाट सुरुवात भए तापनि कुनै दिन संसार नै ओगट्ने क्रान्तिकारी सोचले भरिपूर्ण हुन्छन्, स्टार्टअप ।

कतिपयले आफूले गरिरहेका कुनै काम वा अध्ययनलाई नै छोडेर स्टार्टअप सुरु गरेका हुन्छन् । आफ्नो विचारलाई पूर्ण भरोसा गरेर त्यसैमा समय लगानी गर्नेहरू सफल भएका उदाहरण प्रशस्त छन् ।

यद्यपि यसरी सिर्जना गरेको स्टार्टअपको ‘भ्यालुएसन’ एक अर्ब डलर बढी हुनु भनेको आफैंमा अनौठो सफलता हो । त्यसमा पनि कम्पनीले बाह्य लगानीबिना नै त्यो स्तरको सफलता पाएको छ भने उक्त कम्पनी अझ माथि पुग्ने अपेक्षा गरिएको हुन्छ ।

जोहो, त्यस्तै सफलता बोकेको स्टार्टअप हो । याे बहुराष्ट्रिय प्रविधि कम्पनी हो ।

यसले वेबमा आधारित बिजनेस टुल तयार पार्ने गर्छ । जोहोले पछिल्लो वर्ष आफ्नो वार्षिक आम्दानी बढाएर एक अर्ब डलर पुर्‍याएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

निजी कम्पनी भएकाले आम्दानी भएको वास्तविक रकम कम्पनीले बाहिर ल्याएको छैन । हालसम्म जोहोले कुनै पनि बाहिरी लगानी प्रयोग गरेको छैन ।

आफ्नै सिद्धान्त र विचारबाट सुरु भएको स्टार्टअप जोहो, आर एण्ड डी (रिसर्च एण्ड डेभलपमेन्ट) मा नयाँ संस्कारको विकास गर्ने कम्पनीका रूपमा परिचित छ । त्यस्तै उत्पादन विकासमा पनि कम्पनीले राम्रो छवि बनाएको छ ।

यस कम्पनीले ५० भन्दा बढी बिजनेट टुल तयार पारेको छ, जसले फाइनान्स, सेल्स तथा मार्केटिङ, कस्टुमर सेवा र थुप्रै अन्य सफ्टवेयर क्याटेगोरीका कम्पनीलाई सेवा उपलब्ध गराउँछ ।

‘बुस्ट युजेज’को फ्रिमियम मोडेल उपलब्ध गराउने यस कम्पनीले सेल्सफोर्स, गुगल, माइक्रोसफ्ट र ओराकल जस्ता कम्पनीसँग यो सेवामा प्रतिस्पर्धा गरिरहेको छ ।

यस कम्पनीले अहिले बिजनेस इन्टेलिजेन्स, कस्टुमर सोलुसन, सेक्युरिटि एण्ड आइटी मेनेजमेन्ट, लिगल, ह्युमन रिसोर्स, इमेल एण्ड कोलाबोरेसन, फाइनान्स, ग्राहक सेवा, सेल्स एण्ड मार्केटिङ जस्ता सेवा उपलब्ध गराउँछ ।

आफूले उपलब्ध गराउने सेवाका कारण विश्वास जितेको जोहोले एक अर्ब डलरभन्दा बढी आम्दानी गर्न सफल भएको छ ।

-टेकक्रन्चबाट । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३