close

प्लस टु पास विद्यार्थीले स्नातकमा कुन इन्जिनियरिङ पढ्दा राम्रो ? ‍

बाबुराम दवाडी बाबुराम दवाडी

भदौ २६, २०७९

प्लस टु पास विद्यार्थीले स्नातकमा कुन इन्जिनियरिङ पढ्दा राम्रो ? ‍

काठमाडौं । प्लस टुको परीक्षा पूरा भएलगत्तै राजधानीका कोचिङ सेन्टर खचाखच हुन्छन्, विशेषगरी विद्यार्थीहरूमा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पस लगायत सरकारी क्याम्पसहरूमा इन्जिनियरिङ पढ्ने धोको हुन्छ ।

कोहीकोही पहिले नै विदेश पढ्न जाने मनस्थिति बनाएर टोफेल, जीआरई, आईईएलटीएस आदि गर्नतिर लागिसकेका हुन्छन् ।

तर  कतिपय चाहिँ बुबाआमाको चाहना विपरीत विदेशिन खोज्ने बच्चाहरू पनि हुन्छन् । जसका कारण पारिवारिक द्वन्द्व पनि हुने गर्छ ।

यो विदेशिने चक्करको द्वन्द्व त छँदै छ, तर र्को द्वन्द्व हुने गर्छ– बुबाआमाले रोजेको विषय पढ्नेकी, आफूले रोजेको विषय ?

प्लस टुको परीक्षा सकेलगत्तै बुबाआमाको चासो बढ्छ र परामर्शका लागि इन्जिनियर भई शिक्षण पेशामा लागेकाहरूको खोजी हुन थाल्छ– “सर मैले त इन्जिनियरिङमा यो विषय पढ्न भनेको मेरो छोराछोरीले त मान्दै मान्दैन । लौन सम्झाइदिनु पर्‍यो । कुन विषय पढ्दा बढी कमाइ हुन्छ, कम्प्युटर कि सिभिल वा अन्य कुनै ?” आदि इत्यादि ।

प्रत्येक वर्ष दशैँ लगायतका विभिन्न चाडपर्वहरूमा बुबाआमाहरूले आफ्ना बालबालिकालाई आशीर्वाद दिने चलन छ, “इन्जिनियर बनेस्, डाक्टर बनेस्” आदि ।

बालबच्चाहरू नाबालिगबाट बालिग हुने मोडमा छन् र प्लस टु साइन्स स्ट्रिम पनि पास गरिसकेका छन् ।

उनीहरूको दिमागमा पक्कै पनि घण्टी बजेको होला, “लाs ss ! बुबाआमाले ‘इन्जिनयर बनेस्’ भन्नु हुन्थ्यो । तर कुन चाहिँ इन्जिनियर बन्ने होला ?”

अधिकांश छोराछोरीहरू साथी सर्कलबाट उत्प्रेरित हुने भएकाले त्यसै अनुसार निष्कर्षमा पुग्ने गर्दछन् ।

तर बुबाआमाको चिन्ता आफ्ना छोराछोरीलाई कुन विषय पढाउँदा भविष्य राम्रो हुन्छ, राम्रो कमाइ गर्न सक्छ भन्नेमा रहन्छ र उनीहरूलाई सोही अनुसार सम्झाई बुझाई गर्न लाग्छन् ।

तर छोराछोरी भने आफ्नै रोजाईको विषय पढ्नेमा बाआमालाई मनाउनतिर लाग्छन् । यो द्वन्द्व प्रायः माथिल्लो वर्गका परिवारको हकमा लागू हुन्छ ।

गरिब-निम्नस्तरको समुदायमा चाहिँ कुन विषय पढ्दा थोरै पैसामा पढ्न पाइन्छ भन्ने कुराले मुख्य भूमिका खेल्ने गर्दछ ।

इन्जिनियरिङ अध्ययन संस्थानका आंगिक क्याम्पसहरूमा नाम निकाल्न सफल भएमा आफ्नो र्‍याङ्किङले जुन विषय पढ्न पाइन्छ, पढ्ने हो ।

तर संस्थानका आङ्गिक क्याम्पसमा नाम निकाल्न सकिनए भने बुबाआमालाई अर्को टाउको दुःखाई सुरु हुन्छ ।

विगत केही वर्षको ट्रेण्ड हेर्ने हो भने सिभिल, कम्प्युटर र आर्किटेक्चर विषयमा माग बढी भएकाले अहिलेका प्लस टु पासआउटले पनि सायद त्यसैलाई आफ्नो रोजाइको विषय बनाउँछन् ।

तर निजी इन्जिनियरिङ कलेजहरूले विद्यार्थीहरूको यही मागलाई मौकाको रूपमा हेरिरहेका हुन्छन् ।

ती विषयहरूमा उच्च शिक्षण शुल्क लाग्ने साथै छुट समेत फिटिक्कै नदिने र इलेक्ट्रोनिक्स, इलेक्ट्रिकल लगायतका अन्य विषयमा भने २० देखि झण्डै ८० प्रतिशतसम्म डिस्काउन्ट दिने स्किम सहित थुप्रा विज्ञापनहरू बजारमा आइसकेका छन्, आउँदै छन् ।

पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय लगायतका थुप्रै विश्वविद्यालयहरूले यस वर्षको इन्जिनियरिङ प्रवेशका लागि परीक्षाको मिति तय गरिसकेको अवस्था छ ।

छोराछोरीमा नाम चलेका कलेज र कार्यक्रम पढ्ने इच्छा हुन्छ, तर बुबाआमाको चासो आफ्नो आर्थिक अवस्थाले धान्ने तर्फ हुन्छ ।

प्रायः सबै विद्यार्थीले इन्जिनियरिङ अध्ययन संस्थानको प्रवेश परीक्षालाई लक्षित गर्ने हुँदा त्यसपछि मात्र अन्यमा भर्नाको चहलपहल बढ्ने गर्दछ । तसर्थ त्रिवि बाहेक अन्य सबै विश्वविद्यालयहरूले एक भन्दा बढी प्रवेश परीक्षा लिने गर्दछन् ।

संस्थानको प्रवेश परीक्षामा नाम निकाल्न नसक्ने तर अन्य विश्वविद्यालयहरूमा पहिले नै भर्ना समाप्त हुने वा अन्य राम्रा कलेजहरूमा पहिला नै सिट सङ्ख्या भरिने अवस्थाले कहिले कहिँ विद्यार्थीहरू अलपत्र पर्ने र नियमित शैक्षिक कार्यक्रममा भर्ना हुनै नसक्ने परिस्थिति समेत आइरहेको हुन्छ ।

त्यसैले विद्यार्थीहरूले एक भन्दा बढी विश्वविद्यालयमा प्रवेश परीक्षा दिएर आफ्नो सिट पहिला नै सुरक्षित गर्नु पर्ने बाध्यात्मक परिस्थिति हाललाई कायमै छ । विश्वविद्यालय अनुदान आयोगले जारी गरेको नयाँ निर्देशिका अनुसार सबै इन्जिनियरिङ कलेजहरूले अब एउटै पाठ्यक्रममा प्रवेश परीक्षा लिनु पर्ने, विदेश पढ्न जाने विद्यार्थीले नेपालको विश्वविद्यालयको कुनै एउटा प्रवेश परीक्षा पास गरेको खण्डमा मात्रै शिक्षा मन्त्रालयबाट नो-अब्जेक्सन लेटर पाउन सक्ने प्रावधान राखेको छ ।

अबका दिनमा चिकित्सा शिक्षाको जस्तै एकद्वार प्रणालीबाट इन्जिनियरिङ प्रवेश परीक्षा सञ्चालन गरेमा धेरै हदसम्म थुप्रै विश्वविद्यालयहरुमा धेरै प्रवेश परीक्षाहरू दिनुपर्ने झन्झटबाट विद्यार्थीहरु मुक्त हुनेछन् ।

नेपालमा उपलब्ध इन्जिनियङ विषय

नेपालभर इन्जिनियरिङ शिक्षा प्रदान गर्ने दश भन्दा बढी विश्वविद्यालय छन् । प्रत्येक वर्ष हजारौं विद्यार्थीहरू प्रवेश परीक्षा दिएर इन्जिनियर बन्ने सपनासहित पढाइ सुरु गर्छन् ।

इन्जिनियरिङ पढ्न भारत, जापान, अस्ट्रेलिया लगायतका देशहरूमा जानेहरूको भीड पनि दिनानु दिन बढेकै छ । नेपालमा स्नातक तहमा हाल कायम रहेका मुख्य इन्जिनियरिङ स्ट्रिमहरू निम्न प्रकार छन् ।

१. कम्प्युटर तथा इन्फरमेसन टेक्नोलोजी स्ट्रिम

  • कम्प्युटर इन्जिनियरिङ
  • आईटी इन्जिनियरिङ
  • सफ्टवेयर इन्जिनियरिङ

२. इलेक्ट्रोनिक्स इन्जिनियरिङ स्ट्रिम

  • इलेक्ट्रोनिक्स तथा कम्युनिकेसन इन्जिनियरिङ
  • इलेक्ट्रोनिक्स, कम्युनिकेसन तथा इन्फरमेसन इन्जिनियरिङ
  • इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (कम्युनिकेसन)

३. इलेक्ट्रिकल इन्जिनियरिङ

  • इलेक्ट्रिकल इन्जिनियरिङ
  • इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ (पावर एण्ड कन्ट्रोल)

४. सिभिल इन्जिनियरिङ स्ट्रिम

  • सिभिल इन्जिनियरिङ
  • सिभिल एण्ड रुरल इन्जिनियरिङ
  • जियोमेट्रिक्स इन्जिनियरिङ
  • हाइड्रोपावर इन्जिनियरिङ
  • एग्रिकल्चर इन्जिनियरिङ
  • इन्भाइरोमेन्टल इन्जिनियरिङ

५. मेकानिकल इन्जिनियरिङ स्ट्रिम

  • मेकानिकल इन्जिनियरिङ
  • इन्डष्ट्रियल इन्जिनियरिङ
  • अटोमोबाइल इन्जिनियरिङ
  • एरोस्पेस इन्जिनियरिङ

६. आर्किटेक्चर स्ट्रिम

  • ब्याचलर इन आर्किटेक्चर

अब कुन इन्जिनियरिङ पढ्ने ?

अब हाम्रो मूल प्रश्न कुन इन्जिनियरिङ विषय पढ्ने भन्नेतर्फ नै लागौँ । प्लसटु तहका विद्यार्थीहरूको दिमाग भनेको उमेरको हिसाबले काचो माटो सरह हो, जस्तो आकार दिने चाह्यो, त्यसै अनुरूप ढाल्न सकिन्छ । 

कम्प्युटर इन्जिनियरिङ पढ्दा कम्प्युटर इन्जिनियर बनिन्छ, सिभिल, इलक्ट्रिकल, मेकानिकल इत्यादि जे पढिन्छ, सोही विषयको इन्जिनियर बन्ने कुरा छँदैछ । यो विषय छनौटले नै आफ्नो भविष्यको दिशा तय गर्छ ।

मुख्य कुरा जुन विषय तय हुन्छ, त्यो विषयमा राम्रो गर्न सक्नु पर्‍यो । अन्यथा जस्तोसुकै नाम चलेको राम्रो विषय पढे पनि आफूले राम्रो ज्ञान हासिल गर्न सकिएन भने त्यसको कुनै मूल्य हुँदैन ।

बुबाआमाले पनि कुनै विषय पढाउन पाए राम्रो कमाइ होला, इज्जत बढ्छ भन्ने हिसाबले सोच्नु उचित हुँदैन । जुन सुकै विषय पढे पनि आफ्ना छोराछोरीहरू अब्बल हुनु पर्‍यो भन्ने ठाने पुग्छ । त्यसो भएमा मान, सम्मान, इज्जत, आम्दानी आदी सबै प्राप्त हुन्छ ।

इन्जिनियरिङ वा डाक्टरी पढ्दैमा यी चिजहरू त्यसै प्राप्त भइहाल्ने होइन । आफ्ना छोराछोरीहरूलाई संयमित, अनुशासित, र लगनशील बन्न सहयोग गर्ने र छोराछोरीहरूले थ्रिडी अर्थात डिसिप्लिन (अनुशासन), ‘डिटरमिनेसन’ (दृढता) र ‘डेडिकेसन’ (लगनशील) सिद्धान्तलाई अनुसरण गर्न लगाएको खण्डमा जुन सुकै विषयमा पनि सफलता हासिल गर्न सक्छन् ।

मानव समुदायमा सबैको दिमागको मात्रा करिब समान हुन्छ । भन्नुको अर्थ तपाईँ-हाम्रो दिमागको मात्रा र अलबर्ट आइन्सटाइनको दिमागको मात्रा उत्तिकै हो । तर उनी किन महान वैज्ञानिक भए हामी किन हुन सकेनौँ ? यसको उत्तर माथि उल्लेखित थ्रिडी सिद्धान्तमा आधारित छ ।

तसर्थ यो विषय गाह्रो छ, त्यो विषय सजिलो छ भनेर सोच्नु भन्दा पहिला सबै विद्यार्थीहरूले आफू कत्तिको यो थ्रिडी सिद्धान्तमा बाँधिएको छु भन्ने कुरा मनन गर्नुपर्ने हुन्छ । आफ्नो विषय तथा पेशामा जब यो थ्रिडी लागू गर्न सक्नु हुन्छ, सफलता आफै हात लाग्न थाल्छ ।

यही थ्रिडीको अभावले गर्दा कतिपय विद्यार्थीहरू इन्जिनियरिङमा भर्ना भएर बीचैमा छोडिरहेका हुन्छन् । त्यसैले आफ्नो पढाइलाई पेशा जत्तिकै महत्त्व दिन सक्नु पर्छ । तपाईँको उद्देश्य कम्प्युटर इन्जिनियरिङ पढेर इन्जिनियर बन्ने हो भने थ्रिडी फुटबल, क्रिकेट आदि गेम खेल्न तथा हेर्न तिर लगाएर पढाइमा सफलता प्राप्त गर्नत कहाँ सकिएला र ?

कि त गेमतिरै लाग्नु पर्‍यो र सफल खेलाडी बन्नु पर्‍यो । सुत्ने र खाने बाहेक दैनिक २४ घण्टामा लगभग १७/१८ घण्टा पढ्ने र खेल्नेमा बित्छ भने आफ्नो समयको सदुपयोग आफ्नै पेशाको लागि गर्नुहोस् । तबमात्र सफल भइन्छ।

कुन इन्जिनियर बन्ने भन्नु भन्दा पहिला आफ्नो झुकाव के मा छ ? पत्ता लगाउन जरुरी हुन्छ । साथीभाइ सर्कलको बहकाउमा लाग्नु भन्दा आफ्ना पुराना गुरुहरू, बुबाआमा लगयात आफूलाई नजिकबाट नियालिरहेकाहरूसँग आफ्नो झुकावको विषयमा राय लिन सक्नुहुन्छ । 

तपाईँको झुकाव कता तर्फ छ भन्ने कुरा आफूलाई भन्दा तपाईँका बुबाआमा अनि गुरुहरूलाई थाहा हुने भएकाले उहाँहरूका सुझावलाई समेत मनन गर्नुहोस् । त्यसपछि जुन सुकै विषय पढे पनि म सफलता प्राप्त गरेरै छोड्छु भन्ने दृढताका साथ विषय छनौट गर्ने हो भने त्यसले सामाजिक, पारिवारीक तथा आर्थिक द्वन्द्व कम गर्न सक्छ । 

अन्त्यमा, वाई-वाई कुइक्स, वाई-वाई चिकेन, वाई-वाई स्पिन्याच आदी सबै वाई-वाई चाउचाउनै हुन, केबल स्वाद मात्रै फरक हो । त्यस्तै कम्प्युटर इन्जिनियरिङ, आईटी इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ आदि पनि कम्प्युटर इन्जिनियरिङ विषयका विधा भएकाले कुन चाहिँ रोज्ने भन्ने सम्बन्धमा त्यति धेरै चिन्ता लिनु पर्दैन ।

लेखकः डा. बाबुराम दवाडी, त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका उप-प्राध्यापक हुन् ।  

वेबसाइटः www.baburd.com.np
ईमेलः [email protected]