close

सामाजिक सञ्जालमा नेता र कार्यकर्ता बदनाम गर्न अन्तर्राष्ट्रिय गिरोह परिचालित छः महेश बस्नेत

टेकपाना टेकपाना

भदौ २९, २०७९ १७:१४

सामाजिक सञ्जालमा नेता र कार्यकर्ता बदनाम गर्न अन्तर्राष्ट्रिय गिरोह परिचालित छः महेश बस्नेत

काठमाडौं । नेपाली नेता तथा कार्यकर्ता विरुद्ध सामाजिक सञ्जालमा अन्तर्राष्ट्रिय मिसनबाट परिचालित समूह नै लागि परेको भन्दै एमाले नेता तथा सांसद महेश बस्नेतले गम्भिर आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद बस्नेतले सामाजिक सञ्जालमा नेता र कार्यकर्ता विरुद्ध ‘वार रुम’ नै बनाएर विभिन्न समूहहरू परिचालित गराइएको दाबी गरेका हुन् ।

सामाजिक सञ्जाल मार्फत राजनीतिक प्रणाली र पार्टी व्यवस्थालाई नै बिथोल्ने गरी लागि पर्नेमा बौद्धिक अराजकतावादी देखि, अभियन्ताहरू, सञ्चारकर्मीसम्म रहेको उनको भनाई थियो । “केही बौद्धिक अराजकतावादी शक्तिहरू, केही अभियन्ताहरू, केही स्वतन्त्रवादीहरू, केही सञ्चारकर्मीहरू र केही जनप्रतिनिधिहरू साइबर अपराध आकर्षित हुने गरी ‘वार रुम’ सञ्चालन गर्दै सामाजिक सञ्जालको दुरुपयोग गर्दै छन्,” उनले भनेका छन् ।

सामाजिक सञ्जाल मार्फत नेता तथा कार्यकर्तालाई बदनाम गराउन खोजेको पनि उनले बताए । यसमा अन्तर्राष्ट्रिय मिसनको हात रहेको दाबी गर्दै उनले यसबाट देशको संस्कार समाप्त हुने भन्दै त्यस्ता व्यक्तिहरूलाई आवश्यक कारबाही गर्न प्रतिनिधि सभामार्फत सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

“सामाजिक सञ्जालको दुरुपयोग गर्दै नेता र कार्यकर्तालाई बदनाम गर्ने तत्त्वहरू अन्तर्राष्ट्रिय मिसनबाट परिचालित भएको मेरो निष्कर्ष छ । यी तत्त्वहरूलाई विद्युतीय कारोबार ऐन अनुसार उचित कारबाही गर्नुपर्छ,” उनले थपे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४