close

आजदेखि यी ठाउँबाट निःशुल्क ई-सिम वितरण गर्दै टेलिकम

टेकपाना टेकपाना

असोज ४, २०७९ ७:४०

आजदेखि यी ठाउँबाट निःशुल्क ई-सिम वितरण गर्दै टेलिकम

काठमाडौं । नेपाल टेलिकमले सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकहरुलाई निःशुल्क ई–सिम वितरण गरिरहेकोमा आजदेखि अन्य ठाउँबाट पनि सेवा दिने भएको छ ।

पर्याप्त मात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि ग्राहकहरुमाझ प्रवर्द्धनात्मक परीक्षणको रुपमा ई–सिम वितरण गर्न थालिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मंगलबारदेखि सुन्धारास्थित ग्राहक सेवा केन्दका अतिरिक्त ग्राहक सेवा केन्द्रहरु नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयहरु लगायत ग्राहक सेवा केन्द्र पुल्चोकबाट पनि माग बमोजिम वितरण गरिने छ ।

मोबाइल सेटमा ई-सिम इन्स्टल गर्नका लागि क्यूआर कोडमार्फत स्क्यान गर्नुपर्छ । क्यूआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र ई-सिम प्रयोग गर्न सकिने जनाइएको छ ।

त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा ई-सिम चल्ने/नचल्ने यकिन गरेर मात्र ई-सिमका लागि कम्पनीका ग्राहक सेवा केन्द्रमा जान अनुरोध गरिएको छ ।

यसका लागि आफ्नो मोबाइलबाट *#06# डायल गर्नुपर्छ । यसरी डायल गर्दा EID लेखिएको संकेतसहित नम्बरहरु देखियो भने उक्त सेटमा ई–सिम चल्छ भनी थाहा पाउन सकिन्छ ।

त्यसैगरी आईफोन र एन्ड्रोइड सिस्टमयुक्त मोबाइल सेटको सेटिङमा भएका विभिन्न अप्सन हेरेर पनि ई–सिम चल्ने वा नचल्ने पत्ता लगाउन सकिन्छ ।

आईफोन वा एन्ड्रोइडको सेटिङमा Add Mobile Plan वा Add Data Plan देखियो भने पनि त्यसमा सामान्यतः ई–सिम चल्छ भन्ने कुरा थाहा हुन्छ ।

फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिम हालका लागि निःशुल्क ई–सिममा परिवर्तन गर्न सकिने छ ।

त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमै ई–सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध गराइने छ ।

ई–सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । ई–सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन । यसबाट फोन गर्ने र डेटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ ।  

पछिल्लो अध्यावधिक: असोज ४, २०७९ ७:४०