ट्रेन्डिङ:
डेड आइज गाइज: जसले नेपाली सहित विदेशी पब्जी टिम सम्हालिरहेको छ कस्तो छ ग्लोबल आईएमई बैंकको नयाँ मोबाइल बैंकिङ एप ? नेपालको सीमा विवादः जमिनमा भारत र अन्तरिक्षमा लाओससँग एनसेलको होम एन्ड अवे डेटा अफर, ५९९ रुपैयाँमै ६० जीबी डेटा एनसेलको मुख्य कम्पनी आजियटा अन्तर्गत रोबीले बंगलादेशमा गर्‍यो फाइभजी परिक्षण अब फेला पारेको मोबाइल बिक्री गरे कारबाही हुने ल्यापटप सिधै अफ गर्ने बानी छ ? ख्याल राख्नुस् यी कुरा कस्तो छ ग्लोबल आईएमई बैंकको नयाँ मोबाइल बैंकिङ एप ? 'सबको फोन'बाट पुराना मोबाइल किन्दा ३० प्रतिशत छुट, आईफोन सेभेन २० हजार रुपैयाँमा पाइने फोनमा खोकेकै भरमा कोभिड-१९ संक्रमण भए नभएको पत्ता लगाउने मोबाइल एप तयार
close

डेड आइज गाइज: जसले नेपाली सहित विदेशी पब्जी टिम सम्हालिरहेको छ

गणेश सुवेदी गणेश सुवेदी

असोज ४, २०७९

काठमाडौं । पाँच वर्षअघिकाे त्याे समय, जुनबेला पब्जी, फ्रिफायर जस्ता ब्याटल रोयल गेम मोबाइलका लागि आएका थिए ।

यी गेम मोबाइलमा आउने बित्तिकै लोकप्रिय भए । भिन्न गेम शैलीका कारण युवा पुस्ताले यस प्रकारका गेम धैरै रुचायाे । यस प्रकारको आकर्षणबाट अभिषेक मगर (सिफु) पनि टाढा रहन सकेनन् ।

उनले पनि आफ्नो मोबाइलमा पब्जी खेल्न थाले । सुरु सुरुमा त उनी पनि अरु जस्तै रमाइलोका लागि पब्जी खेल्थे ।

विस्तारै गेममा नयाँ साथी जोडिन थालेपछि उनी टिम बनाएर खेल्न थाले । पहिला ‘फ्ल्याश’ नामको टिम बनाए । केही समयपछि नयाँ टिम ‘डेडआइज गाइज’ बनाए, जुन अहिले नेपालकै शीर्ष पब्जी टिममध्ये एक हाे । 

 

 कसरी बन्यो डेडआइज गाइज ?

सन् २०१९ मा ई-स्पोर्ट्सबाट देशलाई चिनाउने लक्ष्य लिएर स्थापना भएको 'डेडआइज गाइज'ले अहिले विभिन्न उपलब्धि पाएको छ ।

यो टिममा अहिले पब्जीबाहेक फ्रिफायर, एरिना अफ भ्यालोर र पब्जीकै मङ्गोलियन टिम वारियर्स पनि आबद्ध छ ।

नेपालमा नै बसेर सिफुले सबै टिम सम्हालिरहेका छन् । बिजनेसभन्दा पनि देशको प्रतिनिधित्व गर्ने हिसाबले याे टिम खडा गरेको सिफु सुनाउँछन् ।

टिमको नाम डेडआइज गाइज भने पब्जी खेल्दा पाएको ‘डेडआई’ टाइटलबाट राखेको उनी सुनाउँछन् ।

टिमको नाम जुराइसकेपछि उनलाई राम्रो खेलाडी चाहिएको थियो । खेलाडी राम्रो नभएसम्म देशको प्रतिनिधित्व गर्ने सपना हुँदैन भन्ने उनले बुझेका थिए । त्यसैले राम्रो टिम बनाउन उनले अन्य टिमका खेलाडीलाई पनि आफ्नो टिमबाट खेलाउन थाले ।

“सुरुवातमा टिम  डेडआइज गाइजबाट म, रमेश तासी गुरुङ (रेटेड), सिर्जन थापा (इल्युजन), विशाल राई (वाडु) र ‘सीजे’ खेल्ने गरेका थियौँ । अहिले त टिममा सबै परिवर्तन भइसकेको छ । अहिले टिममा मौसम गुरुङ (टुरुलभ), साहिल शर्मा (अनटप), तरुन रौनियार (चरी), विनय श्रेष्ठ(जोकर) र पुरानो खेलाडीमा इल्युजन मात्र छन्,” उनी भन्छन् ।

उनको टिम पहिलो पटक पब्जी मोबाइल क्लब ओपन (पीएमसीओ) २०२० मा छनोट भयो । यसमा टिमले राम्रै प्रदर्शन गर्‍याे । टिम यो प्रतियोगितामा चौंथो स्थान हासिल गर्न सफल भयो ।

यसपछि टिमले पब्जीका अन्य आधिकारिक प्रतियोगिताहरु पनि खेल्यो । त्यसमा पनि प्रदर्शन सन्ताेषजनक नै रह्यो ।

टिमले खेलेको पब्जीको पहिलो दक्षिण एसिया स्तरको पहिलो प्रतियोगितामा पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसियामा राम्रो प्रदर्शन गर्न सकेन । यो प्रतियोगितामा टिम अङ्क तालिकाको अन्तिम स्थान अर्थात् २०औँ स्थानमा रहेको थियो । जसलाई उनी टिमको अहिलेसम्म कै कमजोर प्रदर्शन मान्छन् ।

तर यो प्रतियोगिताको केही समयपछि २०२० को अन्यतिर भएको प्रतियोगिता पब्जी मोबाइल प्रो लिग साउथ एसिया सिजन टु स्क्रिमको उपाधि जित्दै उत्कृष्ट पुनरागमन गर्‍याे ।

“यो ३-४ महिनाको बीचमा हामीले धेरै मेहनत गर्‍याैं । त्यसैले टिमले उत्कृष्ट प्रदर्शन गर्‍याे,” सिफु सुनाउँछन् ।

डेडआइज गाइजले यो प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तानका सबै टिमलाई हराउँदै प्रतियोगिताको उपाधि जितेको थियो । यसको एक महिनापछि नै टिमले नेपालमा भएको अर्को प्रतियोगिता पब्जी मोबाइल ग्लाडिएटर्स कोलिसियम शाेडाउनको उपाधि जित्यो ।

यसपछि पनि टिमले अन्य प्रतियोगिता खेलिसकेको छ । तर टिमको प्रदर्शनमा भने एकरूपता देखिएको छैन । तैपनि सिफु भोलिका दिनमा आफूहरुले झनै राम्रो खेल्ने राम्रो खेल्नेमा विश्वस्त छन् ।

अबको डेडआइज गाइजकाे योजना भनेको पब्जीसँगै मोबाइल तथा अन्य कम्प्युटर गेमका टिमहरू पनि जोड्ने रहेको उनी बताउँछन् ।

“सबै गेमको वर्ल्ड च्याम्पियनशिपमा आफ्नो टिम पुगेको हेर्ने लक्ष्य छ” उनी भन्छन् ।

उनले केही समयअघि मात्रै पब्जीबाट सन्यास लिएको घोषणा गरे । उनको अबको योजना भनेको कोच बनेर टिमहरूलाई सहयोग गर्ने रहेको छ ।

यसअघि पनि उनले सिकाउने काम भने गरेका छन् । आवश्यक पर्दा पब्जी टिम ज्यानमारा र इलिमेन्ट्रिक्सलाई पनि सहयोग गर्ने गरेको उनी बताउँछन् ।

“गेमभित्र मात्र हामी प्रतिस्पर्धी हाैं । बाहिर त साथी हौँ,” हाँस्दै उनी भन्छन् ।

अहिले डेडआइज गाइजले २५ जनाभन्दा धेरैलाई रोजगारी दिएको छ ।

नेपालसहित मङ्गोलियामा टिमले बुट क्याम्प सञ्चालन गरिरहेको छ, जहाँ खेलाडीहरुलाई आवश्यक पर्ने आधारभूत तथा अत्यावश्यक सबै सुविधा उपलब्ध गराइएको हुन्छ ।

बुटक्याम्पमा खेलाडीहरुलाई खाने बस्ने सुविधाको साथै जिम, स्विमिङ पुल, होम थेटरहरूकाे पनि सुविधा दिइएकाे छ ।

ई-स्पोर्ट्समा नेपालको भविष्य

उनी नेपालमा ई-स्पोर्ट्सकाे भविष्य देख्छन् ।

“फुटबल, क्रिकेटमा जस्तो धेरै लगानी ई-स्पोर्ट्समा चाहिँदैन । यो दिमागको खेल हो । त्यसैले यसमा नेपालको सम्भावना पनि अन्य खेलको भन्दा धेरै छ,” उनी भन्छन् ।

ई-स्पोर्ट्सको विकासका लागि काठमाडाैं महानगरले बजेट छुट्याएर राम्रो काम गरेको उनकाे बुझाइ छ ।

“ई-स्पोर्ट्स जस्तो कसैको ध्यान नगएको विधामा बजेट छुट्याइएकाे छ । त्यसका लागि मेयर बालेन शाहलाई धन्यवाद दिन चाहन्छु” उनले भने ।

पब्जी, फ्री फायर, डोटा टु जस्ता मोबाइल तथा कम्प्युटर गेमले नेपाल विदेशी मुद्रा पनि भित्र्याइरहेकाले यसलाई प्रतिबन्धभन्दा पनि प्रवर्द्धनमा सरकारले ध्यान दिनुपर्नेमा उनी जाेड दिन्छन् ।

साथै नेपाल ई-स्पोर्ट्स एसोसियसन (नेसा) ले पनि खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि काम गर्नुपर्ने उनको माग छ । यसबाहेक राष्ट्रिय खेलकुदमा ई-स्पोर्ट्सलाई समावेश गर्नको लागि पहल गर्नुपर्ने उनी बताउँछन् ।

अन्तरार्ष्ट्रिय प्रतियोगिता नेपालमा नै आयोजना गर्न सके पर्यटन उद्योग विकासमा पनि टेवा पुग्ने उनको विश्वास छ ।

ई-स्पोर्ट्समा आउन चाहनेलाई सुझाव

ई-स्पोर्ट्समा आउन चाहनेले पहिलाबाट नै टिम बनाएर खेल्दा राम्रो सहकार्य हुने उनका अनुभव छ । तर आधिकारिक प्रतियोगिता खेल्नका लागि टिम बनाउने हो भने राम्रो खेलाडी समावेश गरेर नै अगाडि बढ्न उनी सुझाव दिन्छन् ।

बजेट व्यवस्थापनको पाटो झनै महत्त्वपूर्ण भएकाले सुरुमा सकेसम्म स्पोन्सर जुटाएर अगाडि बढ्दा राम्रो हुने उनको धारणा छ ।