काठमाडौं । पब्जी मोबाइल प्रो लिग साउथ एसिया फलको उपाधि नेपाली पब्जी टिम हाइ भोल्टेजले जितेको छ । सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म चलेको अन्तिम चरणको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै हाइ भोल्टेजले उपाधि माथि कब्जा गरेको हो ।
यसै गरी नेपाली पब्जी टिम डेडआइज गाइजले सम्हाली रहेको मंगोलियन पब्जी टिम डेडआइज वारियर्सले दोस्रो स्थान सुरक्षित गरेको छ । अंक तालिकाको तेस्रो स्थानमा भने प्रतियोगिताको उपाधिको दाबेदारका रुपमा हेरिएको मंगोलियन पब्जी टिम गडलाइक स्टलवार्ड रहेको छ ।
प्रतियोगिता विजेता टिम हाइ भोल्टेजले अन्तिम चरणमा भएका १८ खेलमा तिन वटामा चिकेन डिनर र ९३ इलिमिनेसन सहित कुल २७७ पोइन्ट ल्याएको थियो । त्यसै गरी दोस्रो स्थानमा रहेको डेडआइज वारियर्सले तिन चिकेन डिनर र ९६ इलिमिनेसन पोइन्ट सहित कुल २५० पोइन्ट बटुलेको थियो । त्यसैगरी तेस्रो स्थानमा रहेको पब्जी टिम गडलाइक स्टलवार्टले २ चिकेन डिनर र ८१ इलिमिनेसन पोइन्ट गरेर कुल २३४ पोइन्ट ल्याएको थियो ।
अन्तिम चरण खेलेका नेपाली पब्जी टिम डीआरएस गेमिङ, इलिमेन्ट्रिक्स र स्काइलाइट गेमिङ क्रमश पाँचौ, छैटौँ र आठौँ स्थानमा रहेका छन् । त्यस्तै ट्रेन टु किल, भेनम लेजेन्ड, डेडआइज गाइज, विजेज क्लब र ज्यानमारा ई-स्पोर्टस क्रमश नवौँ, १० औँ, १२ औँ, १३ औँ र १४ औँ स्थानमा रहेका छन् ।
यो सँगै प्रतियोगिताको विजेता नेपाली टिम हाइ भोल्टेजले १५ हजार डलर हात पारेको छ । उपविजेता टिम डेडआइज वारियर्सले ११,५०० डलर र तेस्रो स्थानमा रहन सफल गडलाइक स्टलवार्टले ९,५०० डलर जित्न सफल भएको छ । अन्य नेपाली पब्जी टिम हाइ भोल्टेज ,डीआरएस गेमिङ, इलिमेन्ट्रिक्स, स्काइलाइट गेमिङ, ट्रेन टु किल र भेनम लेजेन्डले भने पीएमपीएल साउथ एसिया च्याम्पियनसिप फल २०२२ को लागि आफ्नो स्थान पक्का गरेका छन् ।