close

यस्तो छ गुगलको पहिलो स्मार्टवाच, कति होला मूल्य ?

टेकपाना टेकपाना

असोज २१, २०७९ १३:१९

यस्तो छ गुगलको पहिलो स्मार्टवाच, कति होला मूल्य ?

काठमाडौं । गुगलले आधिकारिक रूपमा आफ्नो पहिलो स्मार्टवाच सार्वजनिक गरेको छ । विहीबार राति एक कार्यक्रम आयोजना गर्दै कम्पनीले पिक्सेल सेभेन सिरिज, पिक्सेल स्मार्टवाच र पिक्सेल ट्याब्लेट सार्वजनिक गरेको हो ।

कम्पनीले पहिलो पटक सार्वजनिक गरेको स्मार्टवाच 'पिक्सेल वाच' मा एप्पल वाच ८ को हेल्थ फिचरहरू समावेश गरिएको बताइएको छ । पिक्सेल वाच गुगलले डिजाइन तथा निर्माण गरेको स्मार्टवाच हो । यसमा सर्कुलर डोम सेप्ड (घुमाउरो आकारको) डिस्प्ले रहेको छ । जसमा अलवेज अन डिस्प्ले, १.२ ईन्च एमोलेड प्यानल र थ्री डी कोर्निङ गोरिल्ला ग्लास रहेको छ ।

पिक्सेल वाचले तीन ओटा स्टेनलेस स्टिल फिनिस सपोर्ट गर्ने बताइएको छ । जसमा ब्ल्याक, सिल्भर र गोल्ड कलर रहेका छन् । गुगलको पहिलो स्मार्टवाच एक्सीनोस ९११० (Exynos 9110) चिपसेटद्वारा सञ्चालित रहेको छ भने २ जीबी र्‍याम र ३२ जीबी इन्टर्नल स्टोरेज रहने बताइएको छ । यसमा ५.० भर्जनको ब्लुटुथ, वाई-फाई फिचर, एनएफसी र जीपीएस कनेक्टीभीटी अप्सन रहेका छन् ।

यो पिक्सेल वाच ओएस ३.५ द्वारा सञ्चालित हुनेछ । जसमा गुगलका विभिन्न एपहरू समावेश हुनेछन् । यसमा गुगल म्याप, गुगल असिस्टेन्ट, गुगल फोटोज जस्ता एपहरू उपलब्ध छ । त्यस्तै यस स्मार्टवाचले प्ले स्टोर पनि सपोर्ट गर्छ जसमा स्पोटिफाई, आडिडास रनिङ, लाइन जस्ता एप इन्स्टल गर्न सकिन्छ ।

फिटबिट एप प्रयोग गरेर आफ्नो स्वास्थ्य अवस्थालाई ट्रयाडिङ पनि गर्न सकिन्छ । यो वाचले स्टेप ट्रयाकिङ, हर्ट रेट र स्लिप मनिटरिङ जस्ता फिचरहरू उपलब्ध गराएको छ । 

एप्पल वाच जस्तै यसमा पनि ईसीजी सपोर्ट छ । यसका माध्यमबाट आट्रियल फिब्रिलेसन अर्थात अनियमित हृदय चालको संकेत थाहा पाउन सकिनेछ । यसमा २९४ एमएएचको ब्याट्री समावेश गरिएको छ । जसलाई बढीमा २४ घण्टासम्म प्रयोग गर्न सकिने बताइएको छ ।

ब्लुटुथ र वाई-फाई उपलब्ध भएको गुगल पिक्सेल वाचको मूल्य ३४९.९९ डलर (करिब ४६ हजार २६० रुपैयाँ) तोकिएको छ भने फोरजी एलटीई भर्सनको पिक्सेल वाचको मूल्य ३९९.९९ डलर (करिब ५२ हजार ८७१ रुपैयाँ) तोकिएको छ । यो स्मार्टवाच असोज २७ बाट विश्व बजारमा उपलब्ध हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २१, २०७९ १४:२