close

यी हुन् गुगलले सार्वजनिक गरेका नयाँ उत्पादनहरू

टेकपाना टेकपाना

असोज २१, २०७९ १४:५४

यी हुन् गुगलले सार्वजनिक गरेका नयाँ उत्पादनहरू

काठमाडौं । गुगलले विहीबार 'द मेड बाई गुगल' कार्यक्रम आयोजना गर्दै आफ्ना विभिन्न उत्पादनहरू सार्वजनिक गरेको छ । यसअघि नै गुगलको पिक्सेल सिरिजको फोन र पिक्सेल वाचमा समावेश भएको कुराको समाचार बाहिरिएको थियो । कम्पनीले आयोजना गरेको कार्यक्रममा घोषणा गरेका विभिन्न उत्पादनको जानकारी यहाँ समेटिएको छ ।

गुगल पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रो

गुगलले सार्वजनिक गरेका प्रमुख उत्पादनमध्ये पिक्सेल सेभेन सिरिजका स्मार्टफोन पनि एक हो । पिक्सेल सेभेन विशेषगरी सेभेन र सेभेन प्रो मोडेलमा उपलब्ध गराइएको छ । गुगल पिक्सेल सेभेन र पिक्सेल सेभेन प्रोको मूल्यमा ३०० डलरको फरक रहेको छ । यस मूल्य भिन्नतामा क्यामेरा फिचर, रिफ्रेश रेट, ब्याट्री क्षमता र र्‍यामलाई प्राथमिकता दिइएको छ । 

गुगल पिक्सेल वाच

गुगलले उक्त कार्यक्रममा आफ्नो स्मार्टवाच पनि सार्वजनिक गरेको छ । ब्लुटुथ र वाई-फाई भेरियन्टको गुगल पिक्सेल वाचको मूल्य ३४९.९९ डलर (करिब ४६ हजार २६० रुपैयाँ) तोकिएको छ भने फोरजी एलटीई भर्जनको पिक्सेल वाचको मूल्य ३९९.९९ डलर (करिब ५२ हजार ८७१ रुपैयाँ) तोकिएको छ ।

यो गुगलको पहिलो स्मार्टवाच हो । जो ओएस (अपरेटिङ सिस्टम) ३.५ द्वारा सञ्चालित छ । २९४ एमएएच ब्याट्री क्षमता भएको यो स्मार्टवाचलाई ३० मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिनेछ । त्यस्तै यसमा फिटबिटको स्लिप ट्रयाकिङ क्षमता समावेश गरिएको छ ।

गुगल पिक्सेल ट्याबलेट

'द मेड बाई गुगल' कार्यक्रममा गुगल पिक्सेल ट्याब्लेटका बारेमा पनि केही चर्चा गरिएको थियो । गुगलको पिक्सेल ट्याब्टले एन्ड्रोइड अपरेटिङ सिस्टमद्वारा नै सञ्चालित हुनेछ । प्रयोगकर्ताले यस ट्याब्लेटलाई आफ्नो आवश्यकता अनुसार पूर्ण रूपमा कस्टमाइज गर्न सक्नेछन् । त्यस्तै गुगलले पिक्सेल ट्याब्लेटमा एपहरू फिट गर्न स्प्लिट स्क्रिनको विकल्प समावेश गर्ने बताएको छ ।

पिक्सेल ७ सिरिज जस्तै गुगल पिक्सेल ट्याबलेटमा पनि गुगलको टेन्सर जीटु एसओसी चिपसेट प्रयोग गरिएको छ ।

एआई एण्ड एक्सेसिबिलिटी

कम्पनीले आफ्नो उत्पादनका साथै नयाँ आउने फिचर समेत उक्त कार्यक्रममा समावेश गरेको छ । जसमा गुगलले भ्वाइस असिस्टेन्ट टाइपिङका लागि नयाँ फिचर उपलब्ध गराउने जनाएको छ । यसका माध्यमबाट भ्वाइसलाई टेक्स्टमा अनुवाद गर्दा गुगलले उपयुक्त ईमोजी सुझाव गर्नेछ । उदाहरणका लागि तपाईँले ह्याप्पी ईमोजी भन्नुभयो भने स्क्रिनमा स्माइली ईमोजी देखिनेछ । तपाईँलाई आवश्यक परेको ईमोजीको नाम नमिले पनि गुगलले उक्त टेक्स्टको आधारमा शत प्रतिशत सटिक ईमोजी सुझाव दिनेछ । पिक्सेल सेभेनमा पनि केही एआई फिचर समावेश छन् । जसले कलको गुणस्तर, मेसेजिङ र अन्य सेवालाई उत्कृष्ट बनाउने कम्पनीको भनाई छ ।

त्यस्तै गुगलले दृष्टिविहीन वा आँखा कम देख्ने प्रयोगकर्ताका लागि एक्सेसिबिलिटी फिचर ल्याएको छ । जसले प्रयोगकर्तालाई भ्वाइसका माध्यमबाट गाइड गर्नेछ ।

 

पछिल्लो अध्यावधिक: असोज २१, २०७९ १५:५३