close

मेटाकै कर्मचारीले प्रयोग गर्दैनन् मेटाभर्स

टेकपाना टेकपाना

असोज २१, २०७९ १७:४५

मेटाकै कर्मचारीले प्रयोग गर्दैनन् मेटाभर्स

काठमाडौं । भर्चुअल संसार नै अबको भविष्य हो भन्दै मार्क जुकरबर्गले आफ्नो मेटाभर्सको प्रोजेक्टका लागि धेरै लगानी गरेका छन् । उनले आफ्नो कम्पनीको नाम पनि फेसबुकबाट रिब्रान्ड गरेर मेटा राखे । तर उनका आफ्नै कर्मचारी कम्पनीको फ्ल्यागशिप एप 'मेटाभर्स' प्रयोग गर्दैनन् । 

कम्पनीले भर्चुअल रियालिटी सामाजिक सञ्जाल होराइजन वर्ल्डको रुपमा मेटाभर्स सार्वजनिक गरेका थिए । तर यो एपको गुणस्तर र यसमा बग धेरै भएका कारण नै मेटाका कर्मचारीहरू नै यो एपको प्रयोग गर्दैनन् । कम्पनीका भाइस प्रेसिडेन्ट विशाल शाहले पनि अन्य प्रयोगकर्ताको लागि होराइजन उपलब्ध गराउनुअघि यसको गुणस्तर अझै बढाउनुपर्ने कुरा अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई बताएका थिए ।

होराइजन वर्ल्डमा प्रयोगकर्ताले आफ्नो छुट्टै भर्चुअल संसार बनाएर विभिन्न भेटघाट, छलफल, अन्तर्क्रिया लगायतका काम गर्न सक्छन् । कम्पनीले यो उत्पादन गत वर्षको डिसेम्बरमा मात्र सार्वजनिक गरेका थियाे । यो वर्षको सुरुवातमा नै यसको प्रयोगकर्ताको संख्या तीन लाख पुगेको पनि कम्पनीको दाबी थियो । 

यद्यपि पछिल्लो समयमा मेटाभर्सको राम्रो प्रतिक्रिया भने आइरहेको छैन । प्रयोगकर्ताले यसको गुणस्तर र फिचरलाई लिएर धेरै गुनासो गर्ने गरेका छन् । कुनै एनिमेटेड गेमको भन्दा पनि नराम्रो ग्राफिक्स रहेको गुनासाे आइरहेको छ । यसले गर्दा पनि कम्पनीकै कर्मचारीले यो सुविधा प्रयोग नगरेको बताइएको छ ।   

पछिल्लो अध्यावधिक: असोज २२, २०७९ ७:५५