close

करिब तीन लाख टोयोटा प्रयोगकर्ताको डेटा चोरी

टेकपाना टेकपाना

असोज २३, २०७९ ११:५६

करिब तीन लाख टोयोटा प्रयोगकर्ताको डेटा चोरी

काठमाडौं । गाडी निर्माता कम्पनी टोयोटा मोटर कर्पको करिब तीन लाख प्रयोगकर्ताको डेटा चोरी भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्ना ग्राहकको डेटा चोरी भएको बताएको छ । चोरी भएको डेटा इन्टरनेटमा सार्वजनिक भएको पनि हुनसक्ने कम्पनीको अनुमान छ ।

कम्पनीका अनुसार सवारीलाई नेटवर्कसँग जोड्ने टेलिम्याटी सेवा 'टि-कनेक्ट' प्रयोग गर्ने दुई लाख ९६ हजार १९ जना ग्राहकको ईमेल आईडी र ग्राहक नम्बर लिक भएको हुनसक्छ ।

सन् २०१७ देखि सेवाका लागि कम्पनीको वेबसाइटमा साइनअप गरेका प्रयोगकर्ताहरूको डेटा चोरी भएको कम्पनीले जनाएको छ । यस विषयमा थप अनुसन्धान चलिरहेको कम्पनीले जनाएको छ ।

यद्यपि यो ह्याकिङमा ग्राहकको नाम, फोन नम्बर, क्रेडिट कार्ड नम्बर लगायतको कुनै पनि व्यक्तिगत विवरण भने चोरी नभएको कम्पनीको दाबी छ । साथै हालसम्म चोरी भएका विवरणमार्फत कुनै पनि अप्रिय घटना नघटेको कम्पनीको दाबी छ ।

कम्पनीले आफ्ना ग्राहकलाई कुनै पनि प्रकारको स्प्याम अथवा फिशिङ आक्रमणबाट सचेत रहन आग्रह गरेको छ । टी-कनेक्टका डेभलपरहरूले भुलवश सोर्सकोड ग्राहकलाई उपलब्ध सेटिङमा उपलब्ध गराउँदा यस्तो घटना घट्न गएको कम्पनीले आफ्नो विज्ञप्तीमा उल्लेख गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २३, २०७९ १२:४४