close

नागरिक एपमा थपियो काठमाडौं उपत्यका खानेपानी, अब बिल पनि तिर्न मिल्ने

टेकपाना टेकपाना

असोज २४, २०७९ १५:३९

नागरिक एपमा थपियो काठमाडौं उपत्यका खानेपानी, अब बिल पनि तिर्न मिल्ने

काठमाडौं । नागरिक एपमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) समेत थपिएको छ । गुगल प्ले स्टोरमा आएको एपको पछिल्लो अपडेट (भर्सन १.५.९) मार्फत केयूकेएल जोडिएको हो । 

यससँगै काठमाडौं उपत्यका खानेपानीका ग्राहकहरूले आफ्नो बिल भुक्तानीको विवरण हेर्न तथा तिर्न बाँकी बिलको जानकारी लिन सक्ने भएका छन् । यसका लागि ग्राहकले आफ्नो सम्बन्धित शाखा कार्यालय, कनेक्सन नम्बर अथवा ग्राहक नम्बरको आधारमा नागरिक एपमा केयूकेएल लिङ्क गर्नु पर्नेछ ।

निकट भविष्यमा नागरिक एपबाटै खानेपानीको बिल समेत भुक्तानी गर्न सकिने सुविधा ल्याउने तयारी समेत भइरहेको छ । यसका लागि नागरिक एप र काठमाडौं खानेपानी उपत्यका खानेपानी लिमिटेडबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गर्न बाँकी रहेको बताइएको छ ।

नागरिक एपका प्रतिनिधिले आगामी मंसिर ४ को प्रतिनिधिसभा निर्वाचन अगावै खानेपानीको बिल भुक्तानी सुविधा ल्याउने अपेक्षा गरिएको छ ।

एमओयूमा हस्ताक्षर भएपछि मात्रै भुक्तानीको परीक्षण थालिनेछ । यद्यपि त्यसका लागि आवश्यक सम्पूर्ण प्राविधि तयारी भने पूरा भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको नागरिक एप एकाइले जनाएको छ । पछिल्लो अपडेटसँगै एपमा रहेका केही बग तथा कमजोरी समेत सुधार गरिएको उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २४, २०७९ १७:१०