काठमाडौं । आईफोनसँगै चार्जर नदिएको भन्दै एप्पललाई ब्राजिलमा थप जरिवाना लगाइएको छ । गत सेप्टेम्बरमा ब्राजिलको न्याय मन्त्रालयले चार्जरबिना आउने आईफोन बिक्री गर्न नपाउने निर्णय गरेको थियो ।
त्यसबेला एप्पललाई २.३४ मिलियन डलर (करिब ३० करोड रुपैयाँ) जरिवाना तिराइएको थियो । अहिले पनि एप्पललाई चार्जरबिना बिक्री गरेको आरोपमा ब्राजिलियन सरकारले जरिवाना तिराएको छ ।
ब्राजिलियन उपभोक्ता सङ्गठनले दायर गरेको मुद्दामा आईफोनसँगै चार्जर उपलब्ध नगराएको भन्दै १९ मिलियन डलर (दुई अर्ब ४९ करोड रुपैयाँ) जरिवाना दाबी गरिएको थियो ।
अधिवक्ता क्यामुरु एफोन्सो फ्र्यान्किसोका अनुसार ब्राजिलमा विगत दुई वर्षभित्र आईफोन १२ वा १३ खरिद गरेका उपभोक्तालाई एप्पलले चार्जर उपलब्ध गराउनुपर्ने हुन्छ ।
त्यस्तै भविष्यमा पनि हरेक आईफोन डिभाइस खरिदमा एडाप्टर उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । यो निर्णय अन्तिम भने भएको छैन, जसका लागि अपिल गर्ने बताएका छन् ।
वातावरणलाई प्रभाव पर्नेभन्दै एप्पलले नयाँ डिभाइससँग एडाप्टर पठाउन बन्द गरेको थियो । यही नीतिलाई पछिल्लो समय विभिन्न प्रिमियम डिभाइस निर्माता कम्पनीले पछ्याएका छन् ।