close

अमेरिकामा नेपाली उबर चालकलाई बन्दुक देखाएर लुटपाट (भिडिओ)

टेकपाना टेकपाना

कात्तिक १, २०७९ १३:२७

अमेरिकामा नेपाली उबर चालकलाई बन्दुक देखाएर लुटपाट (भिडिओ)

काठमाडौं । अमेरिकामा नेपाली उबर चालकमाथि बन्दुक देखाएर आक्रमणको प्रयास भएको छ । अमेरिकाको क्यालिफोर्नियामा उबर चालकका रुपमा काम गरिरहेका विमल थापा मगरमाथि यात्रुहरूले बन्दुक देखाई आक्रमणको प्रयास गरेको भिडिओ बाहिरिएको छ ।

आक्रमण भएको करिब तीन हप्तापछि मगरले एबीसी सेभेन नामक सञ्चारमाध्यममा आफ्नो भिडिओ सार्वजनिक गर्दै आफूमाथि अक्टोबर १ को राति आक्रमण प्रयासको विषयमा बताएका छन् । सो दिन मगरले राति ८ बजेतिर ती यात्रुको राइड रिक्वेस्ट एक्सेप्ट गरेका थिए ।

राइड सकेर आफ्नो लोकेसनमा पुगिसक्दा पनि यात्रुहरू नझरेपछि यात्रुमाथि आफूलाई केही शंका लागेको मगरले एबीसीलाई बताएका छन् । ती यात्रुले मगरलाई कहाँबाट आएको हो भनेर सोध्दा मगरले 'नेपाल' भनेर जवाफ दिएका थिए ।

यसपछि उनीहरूले मगरसँग ह्यान्ड स्यानिटाइजर मागे र लगत्तै एक यात्रुले बन्दुक निकालेर मगरको वालेट, गाडीको चाबी लगायत अन्य उनीसँग भएका सामानहरू लिएर उनलाई गाडीबाट बाहिर पठाइदिए । यसपछि उनको गाडी लिएर ती आक्रमणकारी भागेका थिए ।

यस विषयमा प्रहरीले अनुसन्धान थालेको बताइएको छ । यसअघि पनि एक नेपाली उबर चालकलाई मास्क लगाउन दबाब दिएको बहानामा दुर्व्यवहार गरेको भिडिओ बाहिरिएको थियो । 

 

पछिल्लो अध्यावधिक: कात्तिक १, २०७९ १३:३४