close

ट्वीटर अन्ततः एलन मस्कको स्वामित्वमा, सीईओ पराग अग्रवाल बर्खास्त

टेकपाना टेकपाना

कात्तिक ११, २०७९ ८:२३

ट्वीटर अन्ततः एलन मस्कको स्वामित्वमा, सीईओ पराग अग्रवाल बर्खास्त

काठमाडौं । विवाद, विभिन्न मोड, असहमतिका बावजुद अन्ततः छ महिनापछि आधिकारिक रूपमा माइक्रोब्लगिङ प्लेटफर्म ट्वीटर एलन मस्कको भएको छ । विभिन्न रणनीतिहरू अपनाउँदै टेस्ला तथा स्पेस एक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले ट्वीटरलाई निजी कम्पनीका रूपमा रूपान्तरण गरेका छन् । 

योसँगै मस्कले ट्वीटरका प्रमख कार्यकारी अधिकृत पराग अगवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल लगायत शीर्ष तहका कर्मचारीलाई बर्खास्त गरेका छन् । हामीले यहाँ एलन मस्कले छ महिनाको अवधिमा के कस्ता रणनीति अपनाएका थिए भन्ने विषयमा जानकारी दिएका छौँ ।

४४ अर्ब डलर अफरले गर्दा लगानीकर्ताले नाँई भन्न नसक्ने अवस्था आयो

ट्वीटरमा सर्वाधिक रुचाइएका प्रयोगकर्ता एलन मस्कले सबैभन्दा पहिले आफू ठूलो लगानीकर्ता बन्ने हिसाबले ट्वीटरको शेयर खरिद गर्ने याेजना प्रस्तुत गरे । त्यसपछि कम्पनीले मस्क बोर्ड अफ डिरेक्टरमा सहभागी हुनेछन् भन्ने घोषणा गर्‍यो । तर, मस्क बोर्ड अफ डिरेक्टरमा सहभागी भएनन् ।

ट्वीटरको सम्पूर्ण शेयर खरिद गरेर उक्त कम्पनी आफ्नो स्वामित्वमा लिन चाहेका मस्कले १०० प्रतिशत शेयर खरिद गर्ने योजना बनाए । त्यसबेला प्रति शेयरको मूल्यभन्दा केही बढी रकम अर्थात प्रति शेयर ५४.२० डलरमा खरिद गर्ने घोषणा गरे । ट्वीटरले एलन मस्कको अफर स्वीकार गर्‍यो र त्यही अनुसारको कानूनी प्रक्रिया अगाडि बढायो । तर, यो सम्झौता त्यति सहजै अघि बढ्ने तरखरमा थिएन ।

बटका कारण ट्वीटर खरिद गर्न एलन मस्क पछाडि हटे

सबै ठीकै चलिरहेको थियो । त्यही समयमा मस्कले ट्वीटर र आफूबीचकाे सम्झौता रद्द गर्नुपर्ने भन्दै ट्वीटरलाई चिठी पठाए । ट्वीटरमा बटको सङ्ख्या पारदर्शी नभएको भन्दै उनी आफू ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने सम्झौताबाट पछि हटेको बताए ।

उनलाई ट्वीटर खरिद गर्न बाध्य पार्न उक्त कम्पनी अदालती प्रक्रियामा गयो, जसको सुनुवाइ आज शुक्रबार हुनेछ ।

त्यसपछि मस्कले पुनः ट्वीटर खरिद गर्ने निर्णय गरे  

लामो समयपछिको असहमति तथा विवादपछि मस्कले पुनः ट्वीटर खरिद गर्ने योजना बनाए । अधिवक्ता क्याथालिन म्याककोर्मिकले दुवै पक्षलाई शुक्रबार साँझ ५ बजेसम्मको डेडलाइन दिएका थिए । उनले अन्तिम समयमा नै सम्झौतालाई पूर्ण रूपमा बन्द गरेका छन् ।

कम्पनीलाई आफ्नो निजी स्वामित्वमा लिएपछि ट्वीटरका सीईओ पराग अग्रवाल, सीएफओ नेड सिगल तथा पोलिसी चिफ विजया ग्याडीलाई बर्खास्त गरेका छन् ।

एलन मस्कका लागि ट्वीटर के हो ?  

विश्वका सर्वाधिक चर्चामा रहेका कम्पनी टेस्ला, स्पेस एक्स् र न्यूरालिङ्क जस्ता कम्पनीलाई उक्त उचाइ दिने मस्क ट्वीटरका सबैभन्दा चर्चित प्रयोगकर्ता हुन्, जसले ठूलो सङ्ख्याका अडियन्सलाई सक्रिय पार्न अहम् भूमिका खेलेका थिए ।

ट्वीटरमा ट्वीटरकै मजाक उडाइ रहने मस्कले उक्त प्लेटफर्म मनोरञ्जनका साथै आफ्नो उत्पादनको विज्ञापन गर्ने माध्यमका रूपमा परिचित गराइदिएका थिए । मस्कले अब भने ट्वीटरलाई वी च्याट र टिकटक जस्तो माध्यममा रूपान्तरण गर्ने बताएका छन् ।

त्यस्तै केही वर्षअघि प्रतिबन्ध लगाइएका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फिर्ता ल्याउने उनको योजना रहेको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०७९ १४:३९