काठमाडौं । ट्वीटर आफ्नो स्वामित्वमा लिएपछि एलन मस्कले कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित शीर्ष तहका कर्मचारीलाई बर्खास्त गरेका छन् । टेस्ला तथा स्पेस एक्सका मालिक मस्क बुधबार ट्वीटरको मुख्यालय पुगेपछि यो विषयले एकाएक चर्चा पाएको थियो । बिहीबार ४४ अर्ब डलरमा ट्वीटर खरिद गर्ने सम्झौतालाई पूर्ण रूप दिँदै मस्कले कम्पनी आफ्नो स्वामित्वमा लिएका हुन् ।
दी न्यू योर्क टाइम्स, सीएनबीसी, दी वाल स्ट्रिट जर्नल, दी वाशिङटन पोस्ट लगायतका शीर्ष अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार एलन मस्कले सीईओ पराग अग्रवाल, सीएफओ मेड सेगल, जेनेरल काउन्सिल सिन एडजेट र हेड अफ लिगल पोलिसी विजया ग्याड्डीलाई बर्खास्त गरेका छन् ।
सम्झौता सम्पन्न भएपछि ट्वीटरलाई नयाँ तवरबाट सुरु गर्न शीर्ष तहका कर्मचारीलाई बर्खास्त गरिएको बताइएको छ । विभिन्न सञ्चारमाध्यमले जनाएअनुसार एलन मस्कलाई ट्वीटरका निर्णय मन पर्दा त्यसमा जोडिएका कर्मचारीलाई उनले बर्खास्त गरेका हुन् ।
विशेषगरी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई प्रतिबन्ध लगाउँदा त्यसमा जोडिएकी विजया गेड्डीलाई उनले हटाए । मस्कले बारम्बार ट्वीटरका पूर्वसीईओ पराग अग्रवाललाई लक्षित गरी ट्वीट गरिरहेका हुन्थे । उनी र अग्रवालबीच असमझदारी भएको कुरा उनीहरूको ट्वीटबाट प्रष्ट हुन्छ ।
मस्कले ट्वीटरका ७५ प्रतिशत कर्मचारी बर्खास्त गर्ने हल्ला पनि फैलिएको थियो । त्यसपछि मस्कले आफूले त्यस्तो केही निर्णय नगरेको बताएका छन् ।
भारतीय मुलका पराग अग्रवाल सीईओ हुनुअघि ट्वीटरका संस्थापक ज्याक डोर्सी उक्त कम्पनीका सीईओ थिए । डोस्रीको पद लिएपछि अग्रवालले कर्मचारीको धेरै फेरबदल गरिसकेका छन् ।
पहिलोपटक सन् २०११ मा ट्वीटरमा आवद्ध भएका अग्रवाल सीईओ हुनुअघि कम्पनीका प्रमुख प्राविधिक अधिकृत (सीटीओ)का रूपमा काम गरिरहेका थिए । अग्रवाल सीईओ बनेपछि ट्वीटरका सीडीओ (चिफ डिजाइन अफिरस) डन्टले डेभिस र इन्जिनियरिङका प्रमुख माइकल मोन्टेनोले पद त्याग गरेका थिए ।
त्यसको केही समयपछि कम्पनीले मुख्य सूचना अधिकारी रिंकी सेठ्ठी र सुरक्षा प्रमुख पिटर जाट्स गुमायो । त्यस्तै अग्रवालले ट्वीटरका जीएम अफ कन्जुमर किभोन वेकपुरलाई राजिनामा दि आग्रह गरे । जसले गर्दा वेकपुरले कम्पनीमा आवद्ध भएको सात वर्षपछि उक्त कम्पनी छोड्ने निर्णय गरे । सोही समयमा ट्वीटरको रेभेन्यु प्रडक्ट लिड ब्रस फाल्कले पनि उक्त कम्पनी छोडेका थिए ।
मस्कले सुरुवात नै कम्पनीमा ठूलो फेरबदल ल्याएर गरेका छन् । उनले ट्वीटरलाई थप उचाइ दिनसक्ने अपेक्षा गरिएको छ ।