close

निर्वाचन प्रचार प्रसारमा गगन थापाको नयाँ शैली, सामाजिक सञ्जालबाटै यसरी गर्दैछन् चुनावी अन्तरक्रिया

टेकपाना टेकपाना

कात्तिक ११, २०७९ १७:५०

निर्वाचन प्रचार प्रसारमा गगन थापाको नयाँ शैली, सामाजिक सञ्जालबाटै यसरी गर्दैछन् चुनावी अन्तरक्रिया

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा सामाजिक सञ्जालबाटै चुनावी अन्तरक्रियामा जुटेका छन् । आसन्न प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दिएका उनले चुनावी प्रचार प्रसारमा नयाँ शैली अपनाएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा विभिन्न प्रयोगकर्ताले उठाएका प्रश्नलाई सम्बोधन गर्दै थापाले छुट्टाछुट्टै भिडिओमार्फत त्यससँग सम्बन्धित आफ्ना धारणा राख्ने गरेका छन् ।

गएको असोज २९ गते सामाजिक सञ्जालका विभिन्न माध्यममा पोस्ट गर्दै थापाले लेखेका थिए, "निर्वाचन आचारसंहिता अनुरूप निश्चित दिन मात्र घरदैलो गर्न पाइने हुँदा त्यति बेला सम्भव भएसम्म तपाईँको घर टोलमा आएर तपाईँसँग प्रत्यक्ष कुराकानी गर्ने नै छु । त्यसअघि सामाजिक सञ्जालमार्फत आजदेखि नियमित रूपमा तपाईँसँग जोडिने छु र तपाईँका जिज्ञासा र सुझाव लिनेछु, आफ्ना योजना र कार्यक्रम बताउनेछु ।" 

त्यसका लागि उनले फेसबुक, इन्स्टाग्राम तथा ट्वीटरमा आफ्ना प्रश्न राख्न अनुरोध गरेका थिए । सोही प्रश्नबाट महत्त्वपूर्ण लागेको प्रश्नको उत्तर दिएको थापा बताउँछन् । हालसम्म थापाले आफ्नो सामाजिक सञ्जालमा आफूमाथि उठेका विभिन्न छ ओटा प्रश्नमा केन्द्रित रहेर भिडिओ सामग्री अपलोड गरिसकेका छन् ।

हरेक भिडिओमा एउटा निश्चित विषयमा केन्द्रित रहँदै उनले उक्त विषयलाई प्रस्ट्याउने प्रयत्न गरेका छन् । जसलाई धेरै मानिसहरूले सकारात्मक रूपमा लिएको देखिन्छ । 

त्यसो त अहिले महामन्त्री थापा मात्र नभई विभिन्न राजनीतिक दलका अन्य नेताहरू पनि सामाजिक सञ्जालमा सक्रिय हुन थालेका छन् । नेताहरूले आफ्ना हरेक गतिविधिदेखि सर्वसाधारणलाई आफूप्रति आकर्षित गर्ने विषय समेटेर सामाजिक सञ्जालमा राख्ने गरेको पाइन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली पनि सामाजिक सञ्जालमा निकै सक्रिय हुन थालेका छन् । युवा वर्गलाई आकर्षित गर्न उनले केही दिनअघि मात्र 'कल केपी बा' कार्यक्रम आयोजना गरेका थिए ।

जसमा उनले सबैभन्दा पहिले आफ्नो फेसबुक पेजमा नम्बर पठाउन अनुरोध गरेका थिए । त्यसपछि विभिन्न व्यक्तिबाट प्राप्त नम्बरमा गोलाप्रथाबाट केही नम्बर छानी त्यसैमा कल ब्याक गरेको भिडिओ समेत अपलोड गरिएको थियो । 

सामाजिक सञ्जालबाट ठूलो सङ्ख्याका प्रयोगकर्तामा पुग्न सकिने भएपछि अहिले राजनीतिमा आवद्ध मानिसहरूले यसैलाई नै एउटा उपयोगी माध्यम बनाइरहेका छन् । यसरी सामाजिक सञ्जाललाई कसैको समर्थनमा वा आफ्नै प्रचारमा मात्र नभई केही नेताहरूले विभिन्न जल्दाबल्दा विषयमा आफ्नो धारणा राख्ने माध्यमका रूपमा पनि प्रयोग गरिरहेका छन् ।

 

 

पछिल्लो अध्यावधिक: कात्तिक ११, २०७९ १८:४२