close

आईफोन १५ का विवरण लिक, १४ अपेक्षित बिक्री नभएपछि थपिँदैछन् यी नयाँ स्पेसिफिकेसन

टेकपाना टेकपाना

कात्तिक १२, २०७९ ९:५५

आईफोन १५ का विवरण लिक, १४ अपेक्षित बिक्री नभएपछि थपिँदैछन् यी नयाँ स्पेसिफिकेसन

काठमाडौं । पहिलो पटक आईफोन १५ का महत्त्वपूर्ण जानकारी लिक भएका छन् । विशेषगरी स्ट्यान्डर्ड र प्रो मोडलको डिजाइन कस्तो हुने, प्रोसेसर कुन रहने भन्ने कुराको विवरण बाहिरिएको हो । 

खासगरी नयाँ सिरिजमा हुने आन्तरिक परिवर्तनको विवरण बाहिरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ट्रेन्डफोर्सका विश्लेषकले आईफोन १५ सिरिजमा प्रयोग हुने क्यामेरा, मेमोरी, मोडेम र कनेक्टिभिटीको विवरण बाहिर ल्याएका छन् । जसमा लाइटिनिङ पोर्ट विस्थापित गर्दै कम्पनीले टाइप-सी पोर्ट समावेश गर्ने बताइएको छ ।

ट्रेन्डफोर्सका अनुसार आईफोन १५ सिरिजमा ६ जीबीदेखि ८ जीबीसम्मको र्‍याम प्रयोग हुनेछ । जसमा प्राइमरी क्यामेराका लागि नयाँ एटपी (एट इलिमेन्ट) लेन्स प्रयोग हुनेछ । आईफोन १४ मोडलमा सेभेन इलिमेन्ट लेन्स रहेको छ । त्यस्तै प्रो मोडेलका लागि पेरिस्कोप लेन्स हुने बताइएको छ ।

आईफोन १५ का हरेक मोडलमा लाइटिङ पोर्ट नभई यूएसबी-सी कनेक्टर हुने बताइएको छ । एप्पलका विश्वव्यापी मार्केटिङका उपाध्यक्ष ग्रेग जोसविकले कम्पनीले युरोपेली संघ (ईयू) को नियम मान्नुपर्ने उल्लेख गरेका थिए ।

ईयूको नयाँ नियम असार युरोपेली सङ्घका देशहरूमा बिक्री हुने सबै फोनमा २०२४ सम्म यूएसबी-सी पोर्ट अनिवार्य रूपमा समावेश हुनुपर्ने उल्लेख छ । कम्पनीले युरोपेली देशमा बिक्री हुने फोनमा मात्र टाइप-सी पोर्ट उपलब्ध गराउन लागेको हो वा सबै फोनमा उपलब्ध हुनेछ भन्ने कुरा चाहिँ प्रस्ट भइसकेको छैन ।

त्यस्तै ट्रेन्डफोर्सका अनुसार एप्पलले नयाँ आईफोनमा पहिलो पटक क्वालकोमको एक्स ७० मोडेम प्रयोग गर्ने भएको छ । जुन पेरिस्कोप लेन्सका लागि निकै नै उपयोगी मानिन्छ ।

एप्पलले आईफोन १५ प्रो र प्रो म्याक्स मोडलका बीचमा आईफोन १५ अल्ट्रा ल्याउन सक्ने बताइएको छ । यस वर्ष आईफोन १४ सिरिजका फोनको अपेक्षित बिक्री नभएकाले कम्पनीले नयाँ आईफोनमा थप फिचर समावेश गर्ने अपेक्षा गरिएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०७९ १३:०