close

युट्युबमा नयाँ फिचर आउँदै, लाइभ स्ट्रिमरसँग प्रश्नोत्तर गर्न सकिने

टेकपाना टेकपाना

कात्तिक २६, २०७९ १७:५४

युट्युबमा नयाँ फिचर आउँदै, लाइभ स्ट्रिमरसँग प्रश्नोत्तर गर्न सकिने

काठमाडौं । युट्युबले लाइभ स्ट्रिमरहरूका लागि उपयोगी फिचर घोषणा गरेको छ । लाइभ स्ट्रिमलाई अझै अन्तर्क्रियात्मक बनाउने उद्देश्यसहित कम्पनीले 'लाइभ क्यू एन्ड ए' फिचर ल्याउन लागेको हो ।

यसअन्तर्गत युट्युबमा लाइभ कन्ट्रोल रुम प्रयोग गरेर लाइभ स्ट्रिमको बेला प्रयोगकर्तासँग प्रश्नोत्तर सत्र सुरु गर्न सकिन्छ । लाइभ क्यू एन्ड ए को छेउमा लाइभ पोलको फिचर पनि हुनेछ ।

यो फिचरले च्याट सेक्सनको रूपमा उही प्रणाली प्रयोग गर्ने भएकाले प्रतिबन्धित शब्दहरू स्वतः फिल्टर गर्ने जनाइएको छ । कम्पनीका अनुसार लाइभ स्ट्रिमका मोडेरेटरहरूले लाइभ क्यू एन्ड पेमा नियन्त्रण गर्न पाउने भने छैनन् ।

सम्बन्धित युट्युब च्यानलका म्यानेजर वा एडिटरले मात्र यो सेसनमा पहुँच पाउनेछन् । उनीहरूले प्रश्न सूचीमा पहुँच पाउनुका साथै उत्तर दिनका लागि कुन कुन प्रश्नहरू चयन गर्ने भन्ने निर्णय लिन सक्छन् ।

त्यस्तै च्याट सेक्सनमा २०० प्रश्नहरु क्रमैसँग स्टोर हुनेछ भने एक प्रयोगकर्ताले एक मिनेटमा एउटामात्र प्रश्न सोध्न सक्नेछन् । यो फिचर पहिलो चरणमा डेस्कटप भर्सनका लागि मात्रै उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०७९ १७:५४