close

दुरुपयोग हुन थालेपछि ट्वीटरले बन्द गर्‍यो ब्लु टिक भेरिफिकेसन सेवा

टेकपाना टेकपाना

कात्तिक २६, २०७९ २०:४७

दुरुपयोग हुन थालेपछि ट्वीटरले बन्द गर्‍यो ब्लु टिक भेरिफिकेसन सेवा

काठमाडौं । ब्टु टिक भेरिफिकेसनको दुरुपयोग भएपछि ट्वीटरले ८ डलर लाग्ने ब्लु सब्स्क्रिप्सन सेवा बन्द गरेको छ । विशेषगरी सामान्य प्रयोगकर्ताले चर्चित व्यक्ति तथा ब्रान्डको नाम राखेर ब्लु टिक प्रयोग गर्न थालेपछि कम्पनीले सेवा बन्द गरेको हो ।

ट्वीटरले यो साताको सुरुवातमा आईफोन एपका लागि उक्त सेवा सार्वजनिक गरेको थियो । जसका माध्यमबाट प्रयोगकर्ताले ब्लु टिक खरिद गर्न सक्थे । ब्लु टिकले प्रयोगकर्ताको ह्यान्डल आधिकारिक हो भन्ने पुष्टि गर्ने गर्थ्यो ।

तर, ट्वीटरले यो सेवा बिक्री गर्न थालेपछि यसको दुरुपयोग भएको हो । सेवा ल्याएको केही दिनमै बन्द गर्दा ट्वीटरको आम्दानी बढाउने एलन मस्ककाे योजनामा धक्का लागेकाे छ । सशुल्क सब्सक्रिप्सन सेवाले गलत मोड लिएपछि सो सेवाबाट पछि हटेको कम्पनीका जिम्मेवार व्यक्तिले जनाएका छन् ।

चर्चित फर्मास्युटिक कम्पनी लिलीको नक्कली अकाउन्टबाट इन्सुलिन निःशुल्क उपलब्ध गराउने घोषणा गरेको उल्लेख गरिएको थियो । अकाउन्टमा ब्लु टिक भएकाले प्रयोगकर्ता झुक्किए । त्यसपछि उक्त कम्पनीको आधिकारिक ट्वीटर ह्याण्डलबाट मिथ्या सूचनाबाट सतर्क हुन अनुरोध गरियो ।

नक्कली अकाउन्टबाट प्रवाह भएको गलत सन्देशले गर्दा उक्त कम्पनीको स्टक मूल्य तीव्र गतिले घट्न थाल्यो । यस्तै चर्चित कम्पनीको नामबाट पनि थुप्रै किसिमका मिथ्या सूचना फैलाइएको थियो ।

यही समस्याले गर्दा ट्वीटरका विज्ञापनदातालाई पनि समस्या पर्न थाल्यो । कतिपयले ट्वीटरबाट विज्ञापन गर्न नै बन्द गरे । यसरी सशुल्क ब्लु टिक सेवाको दुरुपयोग हुन थालेपछि कम्पनीले उक्त टिक मार्क हटाएको प्रयोगकर्ताको दाबी छ । यस विषयमा ट्वीटरबाट भने आधिकारिक सूचना आइसकेको छैन ।

पछिल्लो अध्यावधिक: कात्तिक २६, २०७९ २०:४७