close

भाइरसयुक्त सफ्टवेयर फैलाउन नेपाल सरकारकै वेबसाइट दुरुपयोग गर्दै ह्याकर

टेकपाना टेकपाना

पुस १२, २०७९ १९:३५

भाइरसयुक्त सफ्टवेयर फैलाउन नेपाल सरकारकै वेबसाइट दुरुपयोग गर्दै ह्याकर

काठमाडौं । ह्याकरहरुले भाइरसयुक्त सफ्टवेयर र विभिन्न किसिमका मालवेयर फैलाउन नेपालका सरकारी वेबसाइटहरु प्रयोग गरिरहेको खुलासा भएकाे छ । साइबर सुरक्षासँग सम्बन्धित अन्तर्राष्ट्रिय अनुसन्धान संस्था ‘भाइरस टोटल’ ले हालै जारी गरेको ‘डिसेप्सन एट स्केलः हाउ अट्याकर एब्युज गभर्मेन्ट इन्फास्ट्रक्चर’ नामकाे एक प्रतिवेदनमा यस्ताे खुलासा गरिएकाे हाे ।

प्रतिवेदन अनुसार सन् २०२२ मा नेपालका नाै ओटा सरकारी वेबसाइटमार्फत ह्याकरले भाइरसयुक्त सफ्टवेयर फैलाउने काम गरेको पाइएको छ । सरकारी वेबसाइट प्रयोगकर्तामाझ विश्वासिलो हुने हुँदा ह्याकरले त्यसैको फाइदा उठाएको अनुसन्धानकर्मीकाे निष्कर्ष छ ।

अध्ययनको क्रममा ४०० भन्दा बढी सरकारी वेबसाइट र १७ सयभन्दा बढी अन्य वेबसाइट ‘सोफिस्टिकेटेड एक्टर्स’ मार्फत प्रभावित भएको समेत पाइएको छ । यो सूचीमा सबैभन्दा बढी इन्डोनेसियाका वेबसाइट रहेका छन् ।

प्रतिवेदन अनुसार इन्डोनेसियाका ८१ ओटा सरकारी वेबसाइट ह्याकरले दुरुपयोग गरिरहेको छन् । त्यस्तै चीनका २९, ब्राजिलका २५, बङ्गलादेश र अमेरिकाका ११ ओटा सरकारी वेबसाइट ह्याकरले भाइरसयुक्त सफ्टवेयर फैलाउने, विभिन्न किसिमका मालवेयरहरु फैलाउने प्रयोग गरिरहेको पाइएको छ ।

यस्ता वेबसाइटमा ट्राेजन, र्‍यानसमवेयर, फिशिङ, कोइन माइनर, बैंकिङ मालवेयर लगायत भेटिएका छन् ।

कतिपय वेबसाइटहरु ‘अपर्च्युनिटिक्स अट्याक’को शिकार भएको बताइएको छ, जसमार्फत ह्याकरले आफ्ना विभिन्न टुलहरु आवश्यकता अनुसार प्रयोगकर्तामाझ पुर्‍याउने गर्छन् । पछिल्ला वर्षमा यस्ता वेबसाइटमार्फत फिशिङका घटना बढिरहेको समेत प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै सन् २०२१ को तुलनामा २०२२ मा करिब २० प्रतिशतले फिशिङका घटना बढेको र  यसका लागि सबैभन्दा बढी पीडीएफ र डक्स फाइल प्रयोग भइरहेको उक्त अध्ययनले जनाएकाे छ । 

पछिल्लो अध्यावधिक: पुस १२, २०७९ १९:३५