close

वायरलेस चार्जिङ सपोर्ट सहित रेड्मीको मिडरेन्ज स्मार्टफोन सार्वजनिक

टेकपाना टेकपाना

पुस १३, २०७९ ९:१

वायरलेस चार्जिङ सपोर्ट सहित रेड्मीको मिडरेन्ज स्मार्टफोन सार्वजनिक

काठमाडौं । रेड्मीको के सिरिजका स्मार्टफोन राम्रो बजार पाएको स्मार्टफोन हो । बजेट रेन्जमा पनि फ्ल्यागसिप फोनमा जस्तै हुने विभिन्न फिचरका कारण पनि यो फोन लोकप्रिय छ । लामो समयदेखि यसका प्रयोगकर्ताहरूको प्रतिक्षा अब भने सकिएको छ । कम्पनीले वायरलेस चार्जिङ सपोर्ट सहितको 'रेड्मी केसिक्सटि' सिरिजका तीन नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । 

रेड्मी केसिक्सटि प्रो (K60 pro)
सिरिजको सबैभन्दा महँगो फोनबाट सुरु गर्नुपर्दा रेड्मी केसिक्सिटि प्रोमा  स्न्यापड्रागन ८ जेन २ एसओसी (snapdragon 8 gen 2 SoC) चिपसेट प्रयोग गरिएको छ । ५,००० एमएएच ब्याट्री भएको यो फोनले १२० वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ ।

यो फोन १९ मिनेटमा नै शुन्य प्रतिशतबाट शतप्रतिशत चार्ज हुने कम्पनीले जनाएको छ । यसले ३० वाटको वायरलेस चार्जर पनि सपोर्ट गर्छ । फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.६७ इन्चको डिस्प्ले छ । ५० मेगापिक्सेलको मुख्य क्यामेरा भएको फोनमा १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

चिनियाँ बजारमा केसिक्सटि प्रोको ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भेरियन्टको मूल्य तीन हजार दुईसय ९९ युआन (साढे ६२ हजार रुपैयाँ) तोकिएको छ ।   

केसिक्सटि (K60)
यो फोनमा १२० हर्ज रिफ्रेसरेट सहितको ६.६७ इन्चको डिस्प्ले छ । फोनमा स्न्यापड्रागन ८ प्लस जेन २ (snapdragon 8 Plus Gen 1) चिपसेट प्रयोग गरिएको छ । यो फोन ८ जीबी र्‍याम सहित १२८ जीबी स्टोरेज र १६ जीबी र्‍याम सहित ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

फोनमा ६७ वाटको वायर्ड चार्जिङ सपोर्ट सहितको ५,५०० एमएएच ब्याट्री दिइएको छ । यो फोनले पनि ३० वाटको वायरलेस चार्जर सपोर्ट गर्छ । फोनमा ६४ मेगापिक्सेलको मुख्य क्यामेरा सहित १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । चिनियाँ बजारमा यो फोनको मूल्य दुई हजार चारसय ९९ युआन (साढे ४७ हजार रुपैयाँ) बाट सुरु हुन्छ । 

केसिक्सटिई (K60E)
यो फोनमा पनि १२० हर्ज रिफ्रेसरेट सहितको ६.६७ इन्चकै डिस्प्ले दिइएको छ । फोनमा मिडियाटेक डामेन्सिटि ८२०० (mediatek dimensity 8200) चिपसेट प्रयोग गरिएको छ । ८ जीबी र १२ जीबी र्‍याममा उपलब्ध यो फोन क्रमश: १२८ जीबी र ५१२ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।

फोनमा ६७ वाटको चार्जिङ सपोर्ट सहितको ५,५०० एमएएच ब्याट्री राखिएको छ । यद्यपि यो फोनले भने वायरलेस चार्जिङ सपोर्ट गर्दैन । यो फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा सहित २० मेगापिक्सेलको फ्रन्ट क्यामेरा उपलब्ध छ । चिनियाँ बजारमा यो फोनको मूल्य २,१९९ युआन (करिब ४२ हजार रुपैयाँ) बाट सुरु हुन्छ । 
 
 

पछिल्लो अध्यावधिक: पुस १३, २०७९ ९:३