अहिलेको समयमा प्रायः सबै जनाको समय व्यतित गर्ने र ज्ञानगुनका जानकारी लिने गतिलो विकल्प भएको छ, युटुब । यसलाई फिल्म र म्युजिक भिडियो हेर्न मात्रै नभएर ट्रेन्डिङ भिडियो, समाचार, मनोरञ्जनात्मक कार्यक्रम, खेल गतिविधिदेखि विभिन्न सीप तथा कौशल सिक्ने माध्यमको रुपमा समेत प्रयोग गर्ने गरिएको छ । अझ स्मार्ट तरिकाले युटुबलाई हेर्न जानियो भने यसले तपाईंलाई छुट्टै आनन्द मात्रै दिनेछैन, समयको बचत समेत गराउनेछ ।
त्यसैले आज हामी तपाईंहरुलाई युट्युब हेर्ने स्मार्ट तरिका बताउन गइरहेका छौँ । त्यसो त युटुब हेर्ने अनेक तरिका छन्, त्यसमध्ये आज यहाँ सर्टकट की प्रयोग गर्ने विषयमा चर्चा गर्दैछौँ ।
प्ले तथा पज
भिडियो हेर्दाहेर्दै बिचैमा एक छिन रोक्नु पर्यो अर्थात पज गर्नुपर्यो भने धेरैजसो प्रयोगकर्ताले माउसको प्रयोग गरिरहेका हुन्छन् । तर स्मार्ट तरिका थाहा हुने हो भने की बोर्डबाटै त्यो काम गर्न सकिन्छ ।
युट्युबमा कुनै भिडियो बजिरहेको छ भने किबोर्डमा ‘k’ दबाएर त्यसलाई बजिरहेकै स्थानमा रोक्न सक्नु हुन्छ । त्यसैगरी फेरि भिडियोलाई अघि रोकिएकै स्थानबाट पुनः प्ले गर्नुपर्यो भने फेरि ‘k’ थिच्नुपर्ने हुन्छ। यो काम तपाईंले स्पेस बारबाट समेत गर्न सक्नुहुन्छ ।
अघिल्लो भिडियोमा फर्किन
युटुबमा हेरिरहेको भिडियो चल्दाचल्दै सकिएर अर्को भिडियो सुरु भइसकेको हुन्छ । यस्तो अवस्थामा तपाईंलाई फेरी भर्खरै सकिएको भिडियोमा पुनः फर्किनु पर्यो भने की बोर्डमा ‘p’ अथवा सिफ्ट बटनसँगै ‘p’ थिच्न सक्नु हुन्छ ।
नेक्स्ट अथवा अर्को भिडियो
भर्खरै हेरिसकेको भिडियोमा फर्के जस्तै अब नयाँ भिडियोमा जानुपर्यो भने ‘n’ अथवा सिफ्ट बटनसँगै ‘n’ थिच्नुपर्ने हुन्छ ।
भिडियोमै केही सेकेन्ड पछाडिबाट फेरी हेर्न
युटुबमा भिडियो हेरिरहनु भएको छ र त्यसमा तपाईंलाई भर्खरै सकिएको सिन दोहोर्याएर हेर्नुपर्यो वा १० सेकेन्ड पछाडिबाट फेरि रिपिट गर्नुपर्यो भने के गर्नुहुन्छ ? यसका लागि पनि सजिलो तरिका छ । की बोर्डमा ‘j’ थिचेर तपाईं १० सेकेन्ड अगाडिबाट हेरिरहेको भिडियोलाई दोहोर्याउन सक्नुहुन्छ । माउसको कर्सरको झञ्जटिलो तरिकाभन्दा एउटा कि मात्र थिच्नु साच्चिकै गज्जब भएन त ?
बजिरहेको भिडियोमा केही सेकेन्ड अगाडि जान
भर्खैरै हामीले हेरिरहेको भिडियोमा १० सेकेन्ड पछाडि गएजस्तै अगाडि जानका लागि पनि तपाईंले केवल एउटा की थाहा पाइराखे पुग्छ । त्यसका लागि ‘l’ कि थिच्नुपर्ने हुन्छ । एक पटक दबाउँदा यसले भिडियोलाई १० अगाडि लैजान्छ । यसलाई पटक पटक थिचेर १०/१० सेकेन्ड गर्दै अगाडि जान पनि सक्नुहुन्छ ।
भिडियोको निश्चित खण्डमा जान
यदि तपाईंलाई १० सेकेन्ड भन्दा धेरै अगाडि वा पछाडि जानुपर्यो भने की बोर्डमा ० देखि ९ सम्मका कुनै पनि कि थिच्न सक्नु हुन्छ । उदाहरणका लागि यदि तपाईँलाई भिडियोको ७०% भागमा जानुपर्यो जानुपर्यो भने ७ थिच्न सक्नु हुन्छ । त्यसै गरि भिडियोको १०% भाग स्किप गर्न मन लाग्यो भने १ थिच्न सक्नु हुन्छ ।
फुल स्क्रिनमा हेर्न
युट्युबमा भिडियो सानो स्क्रिनमा हेरेको त के मजा ? यस्तोमा फुल स्क्रिनमा भिडियो हेर्न चाहनुहुन्छ भने किबोर्डमा ‘f’ कि थिच्नुहोस् । यसरी एउटा बटन दबाउँदैमा ठुलो स्क्रिनमा भिडियोको आनन्द लिन सक्नुहुन्छ । फुल स्क्रिन लाई अघिकै जस्तो गरी हेर्न चाहनुहुन्छ भने फेरी ‘f’ नै थिच्न सक्नुहुन्छ ।
मिनिप्लेयरमा हेर्न
कुनै पनि भिडियोलाई मिनि प्लेयरमा खोल्नको लागि किबोर्डमा ‘i’ थिच्नुहोस् । यसरी निप्लेयरमा भिडियो खोल्दा भिडियो सँगसँगै अरु फिड पनि हेर्न सक्नु हुन्छ ।
फुल स्क्रिनबाट सानोमा जान तथा मिनिप्लेयर बन्द गर्न
फुल स्क्रिनबाट एकैचोटि सानो स्क्रिनमा जान किबोर्डको बायाँ तर्फ रहेको ‘ecsape’ कि थिच्न सक्नु हुन्छ। यो कि प्रेस गर्दा स्क्रिन एकैचोटि सानो भइदिन्छ । र त्यसैगरि मिनिप्लेएर लाई बन्द गर्न पनि यो कि प्रयोग गर्न सक्नुहुन्छ ।
आवाज बढाउन तथा घटाउन
भिडियोको आवाज ठूलो बनाउन माथि तिर फर्केको एरो की तथा भल्युम सानो बनाउन तल तिर फर्केको एरो की दबाउन सक्नुहुन्छ ।
भिडियोको आवाज म्युट अर्थात बन्द गर्न
यदि भल्युम पुरै अफ गर्नु पर्यो भने ‘m’ की थिच्नुहोस् । त्यसरी नै भिडियो म्युट भएको अवस्थामा फेरी ‘m’ कि थिचेर भिडियो अन म्युट वा आवाज खोल्न सक्नु हुन्छ।
सबटाइटल सहित भिडियो हेर्न
भिडियोको क्यापसन अर्थात सबटाइटल अन गर्नको लागि किबोर्डमा ‘c’ थिच्नुहोस् । यदि क्यापसन बन्द गर्न चाहनुहुन्छ भने पुनः ‘c’ नै थिच्नुपर्ने हुन्छ ।
क्याप्सनको आकार घट-बढ गर्न
किबोर्डमा ‘+’ थिचेर क्यापसन आफुले चाहेको साइजमा बढाउँदै लैजान सक्नु हुन्छ । यसै गरि क्यापसनको अक्षरको आकार घटाउनु पर्यो भने ‘-‘ प्रयोग गर्न सक्नु हुन्छ । तपाईँले जति चोटि यो कि थिच्नु हुन्छ क्यापसनको साइज त्यति नै घट्दै जान्छ ।