close

अब विश्व क्रिकेटका इभेन्ट पनि फेसबुकमै

टेकपाना टेकपाना

असोज १०, २०७६ ७:४०

अब विश्व क्रिकेटका इभेन्ट पनि फेसबुकमै

यदि तपाईँ क्रिकेट फ्यान हुनुहुन्छ र नियमितरुपमा फेसबुक समेत प्रयोग गरिरहनुहुन्छ भने अब तपाईँले अझ थप समय फेसबुकमै बिताउनु पर्नेछ । सामाजिक सञ्जाल फेसबुकले विश्व क्रिकेट प्रतियोगिता सम्बन्धि सामग्री फेसबुकबाटै सम्प्रेषण गर्न अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सँग सम्झौता गरेको छ ।

फेसबुकले जनाएअनुसार सम्झौता बिहिबारमात्रै भएको हाे । आईसीसीसँग एक्सक्लूसिभ डिजिटल पार्टनरको लागि चार वर्षको सम्झौता भएको बताइएको छ । योसँगै नेपाल सहित भारतीय उपमहाद्धिपका देशहरुमा सन् २०२३ सम्म फेसबुकले आईसीसीका विश्वस्तरीय प्रतियोगिता कभर गर्नेछ । चार वर्षको लागि भएको उक्त सम्झौताको आर्थिक पक्ष भने खुलाइएको छैन ।

सम्झौताअनुसार फेसबुकले कुनैपनि बजारमा खेलहरुको प्रत्यक्ष प्रशारण भने गर्नेछैन् । ‘हामी करोडौं क्रिकेट फ्यानहरुलाई यो अतुलनिय सम्झौतामार्फत अझ प्रभावकारी सेवा प्रदान गर्न सक्षेम हुनेछौं,’ फेसबुकले भनेको छ, ‘तर यो सम्झौताअन्तरगत खेलहरुको प्रत्यक्ष प्रशारण भने हुनेछनै् ।’ यो सम्झौताले फेसबुकका साथै इन्स्टाग्राम र ह्वाट्सएपका स्पोर्टस फ्यानहरुलाई अतिरिक्त सेवाको अवसर आईसीसीले प्रदान गरेको उल्लेख फेसबुकले गरेको छ ।

यसले विश्व क्रिकेटमा नयाँ फलोअर जन्माउन समेत मद्धत गर्ने आशा गरिएको छ । सम्झौताअनुसार फेसबुकले पोस्ट म्याच रिक्याप र खेलको समयमा हुने महत्वपूर्ण क्षणहरु फेसबुकमार्फत देखाउने छ । यसका साथै खेलहरुका फिचर कन्टेन्टहरु भारतीय उपमहाद्धिपमा देखाउने छ । कम्पनीले पोस्ट म्याच रिक्यापहरु पनि देखाउन सक्नेछ । जसमा पुरुष तथा महिलाका टि ट्वाइन्टी ट्वाइन्टी क्रिकेट प्रतियोगिताहरु, ५० ओभरका विश्वकप खेलहरु, वल्ड टेस्ट च्याम्पियनसिप २०२३ लगायतका खेल पर्नेछन् ।

यसअघि सन् २०१७ मा फेसबुकले ६० करोड डलरमा पाँचवर्षको आईपिएलको अनलाइन स्ट्रिमिङ्ग अधिकार लिने प्रयास गरेको थियो । त्यसमा फेसबुक सफल भने हुन सकेन । त्यसबेला फेसबुक स्टार इन्डीयासँग हारेको थियो । स्टार इन्डीया जसले हटस्टार सञ्चालन गर्दै आएको छ । स्टार इन्डीयाले ९४४ मीलियन डलरमा आईसीसीको डिजिटल तथा टेलिभिजन ब्रोडकास्टीङ अधिकार खरिद गरेको थियो । उसले भारतीय टोलिको हरेक खेल विश्वभर प्रत्यक्ष प्रसारणको लागि उक्त अधिकार लिएको हो ।

तर, फेसबुकले फुटबलमा स्पेनको ला लिगाका हरेक खेल फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गर्दै आएको छ । त्यो पनि भारतीय उपमहाद्धिपमा मात्रै सिमित छ । आईसीसीकाअनुसार हालै सकिएको आईसीसी विश्वकपको अवसरमा चार अर्ब ६० करोड भिडियो भ्यूज आईसीसीको डिजिटल तथा सोसियल मिडिया प्लेटफर्ममार्फत भएको थियो ।

(एजेन्सीकाे सहयाेगमा)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३