काठमाडौं । म्यासेजिङ एप इमोबाट ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इमो एपमा पच्चीस लाख रुपैयाँको चिठ्ठा (लोट्री) परेको भन्दै झुक्यानमा पारेको भन्दै चितवन प्रहरीले एक समूहलाई पक्राउ गरेको हो ।
चिठ्ठामा परेको रकम दाबी गर्न नेपाली नागरिकताको प्रतिलिपी र बैंक खाता नम्बर समेत माग्ने र चिठ्ठाको निश्चित रकम राज्यलाई कर तिर्नुपर्ने भन्दै त्यस वापतको रकम आईएमईमार्फत पठाउन उक्त समूहले आग्रह गर्दै आएको थियो ।
प्रहरी तथा अन्य मानिसलाई जानकारी गराएमा चिठ्ठामा परेको रकम पठाउन नसक्ने भन्दै प्रलोभन तथा दबाबमा पारेर पटक पटक गरी दुई लाख ८० हजार रुपैयाँ ठगी गरेको उजुरी चितवन जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो ।
प्रहरी नायव निरीक्षक रविन कार्की समेतको अनुसन्धान टोलीले सुक्ष्म अनुसन्धान गरी जिल्ला प्रहरी कार्यालय मोरङसँगको समन्वयमा ठगी कार्यमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका दुई जनालाई ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी ल्याई चितवन जिल्ला अदालतवाट पहिलो पटक सात दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।
पक्राउ पर्नेमा मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नम्बर ११ वस्ने २७ वर्षीय साहिल हुसेन अन्सारी र बिराटनगरकै वडा नम्बर ९ बस्ने रामेश्वर स्वर्णकार रहेको प्रहरीले जनाएको छ ।