close

एसएमएस सेवामा छुट दिँदै टेलिकम

टेकपाना टेकपाना

कात्तिक २६, २०७७ १७:३८

एसएमएस सेवामा छुट दिँदै टेलिकम

काठमाडाैं । नेपाल टेलिकमले तिहार, छठ तथा नेपाल संवतका अवसरमा नयाँ एसएमएस प्याक सञ्चालन गरिरहेकाे छ । यसअन्तर्गत आफन्त र शुभचिन्तकहरुलाई शुभकामना सन्देश पठाउन सहज होस् भनेर टेलिकमले एसएमएस पठाउँदा सामान्य अवस्थाकाे शुल्ककाे तुलनामा भारी छुट दिएकाे छ ।

सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ । टेलिकमले अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत उपलब्ध गराएकाे छ ।

यसअन्तर्गत रू. ५ मा २० वटा एसएमएस, रु. १५ मा ७० वटा एसएमएस र रु. ६० मा ३०० वटा एसएमएस पठाउन सकिनेछ । यी प्याक क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न सकिन्छ ।

२० वटा एसएमएसका लागि SMS20, ७० वटा एसएमएसका लागि SMS70 र ३०० वटा एसएमएसका लागि SMS300 लेखेर १४१५ मा एसएमएस पठाउन सकिन्छ । यसैगरी *१४१५*१*४# डायल गरेर वा नेपाल टेलिकमकाे एपबाट पनि एसएमएस सेवा खरिद गर्न सकिन्छ ।

त्यस्तै टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिँदा एसएमएस, भ्वाइस र डेटा प्याकहरु समेत प्रयोग गर्न सकिन्छ ।

पोस्टपेड प्राइम प्याक लिई २ सयवटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध छ ।

यी एसएमएस एक महिनासम्म कुनैपनि समयमा पठाउन सकिन्छ । पोस्टपेड प्याक खरिद सम्बन्धी विस्तृत जानकारी लिनका लागि आफ्नो मोबाइलमार्फत *१४१५*२# डायल गर्न सकिन्छ ।

त्यस्तै कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन सकिन्छ ।

सीयूजी प्याक अन्तर्गत रु. २००, रु. ५००, रु. १००० र रु. १५०० दरका विभिन्न अफर अन्तर्गत रहेर ग्रुपमा आबद्ध र ग्रुपभन्दा बाहिरका नम्बरमा समेत कल गर्न र एसएमएस गर्न सकिनुका साथै डेटा समेत चलाउन सकिन्छ ।

सो प्याक अन्तर्गत अन्य सुविधाका अतिरिक्त क्रमशः ५०, १००, २०० र ४०० वटा एसएमएस आवश्यकता अनुसार एक महिना भित्र पठाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०