close

११.११ मा ग्राहकलाई मूर्ख बनाउँदै दराज, १ रुपैयाँ घटाएर ६० प्रतिशत छुटको ट्याग !

टेकपाना टेकपाना

कात्तिक २६, २०७७ १६:५५

११.११ मा ग्राहकलाई मूर्ख बनाउँदै दराज, १ रुपैयाँ घटाएर ६० प्रतिशत छुटको ट्याग !

काठमाडौं । आज नेपालकै ठूलो ईकमर्स दराजमा ११.११ बिग सेल आयोजना भइरहेको छ । अंग्रेजी ११ महिना ११ तारिखलाई अन्तर्राष्ट्रिय रुपमै अनलाइन शपिङको विशेष दिनको रुपमा लिइँदैं आएको छ ।

यसको सुरुवात सन् २००९ बाट भएको हो । चिनियाँ ईकमर्स कम्पनी अलिबाबाले यसको सुरुवात गरेको थियो ।

चिनियाँ कम्पनी अलिबाबाबाट सुरु भएको यो शपिङ डे अहिले विश्वका विभिन्न ईकमर्स कम्पनीहरुले मनाउँदै आएका छन् । विशेष गरी यो दिन अनलाइनबाट सामान खरिद गर्दा विशेष छुट प्राप्त हुने गरेको छ ।

त्यही अनुसार नेपालमा पनि विगत केही वर्षयता विभिन्न ईकमर्स कम्पनीले त्यसलाई पछ्याउँदै आएका छन् । अझ चिनियाँ ईकमर्स कम्पनी अलिबाबाकै लगानी रहेको दराजले त यो कार्यक्रमलाई विशेष रुपमा मनाउने नै भयो ।

आज दराजमा त्यही उत्सव चलिरहेको छ । दराजको प्रेस विज्ञप्तिमा आधार मान्ने हो भने ११.११ मा ग्राहकहरुले मेगा डिल, फ्ल्यास सेल्स, बैंक डिस्काउन्ट, निःशुल्क डेलिभरी, भौचरहरुका साथै ६ हजारभन्दा बढी विक्रेता र १६० भन्दा बढी राष्ट्रिय र अन्तर्राष्ट्रिय आधिकारिक ब्रान्डहरुले बेच्दै आएका ५ लाखभन्दा बढी उत्पादनहरुमा धेरैभन्दा धेरै छुट पाउन सकिने उल्लेख छ ।

कम्पनीको साइटमै आजको मेगा डिलमा ६० प्रतिशतसम्मको छुट भनिएको छ । यसको अर्थ हरेक सामानमा ६० प्रतिशतकै छुट पाइन्छ भन्ने पनि होइन ।

केही सीमित सामानमा ६० प्रतिशतसम्म छुट उपलब्ध भएको चाहिँ मान्न सकिन्छ । यसमा दराजले आफैंले ‘अप टु’ अर्थात ‘सम्म’ भन्ने शब्द प्रयोग गरेकाले त्यसमा ग्राहक झुक्किनुपर्ने कुनै कारण छैन ।

तर, यहाँ त दराजले ग्राहकलाई सोझै मूर्ख बनाइरहेको छ । आज बिहानै टेकपानको फेसबुक पेजमा एकजना पाठकले दुई वटा फोटोको स्क्रिन सट पठाएका थिए ।

फोटो एउटा दराजको थियो भने, अर्को दराजमा उक्त सामान उपलब्ध गराउने कम्पनीको इन्स्टाग्रामको स्क्रिनशट । ती दुवै फोटोमा निप्ट्रा ब्राण्डको कालो ज्याकेट थियो ।

जसको मूल्य ११.११ मा ५७ प्रतिशत छुट पश्चात २३ सय ८० रुपैयाँमा उपलब्ध रहेको भनिएको छ ।सोही ज्याकेटको मूल्य एक वर्षअघि अर्थात २०१९ डिसेम्बर २० मा निप्ट्रा ब्राण्डले हालेको इन्स्टाग्राम पोष्टमा २३ सय ९९ रुपैयाँ रहेको छ ।

२३ सय ९९ रुपैयाँमा एक वर्षअघि उपलब्ध उक्त ज्याकेटको मूल्य अहिले दराजले ५७ प्रतिशत छुट उल्लेख गर्दै २३ सय ८० रुपैयाँमा उपलब्ध गराइरहेको छ । अर्थात दराजले २३९९ रुपैयाँमा १९ रुपैयाँ छुट दिएर ट्याग भने ५७ प्रतिशतको लगाएको छ ।

पाठकले पठाएको ती स्क्रिनसट पुष्टि गर्ने क्रममा सही नै रहेको पाइयो । त्यो एउटा प्रकरणमा मात्र त्यस्तो समस्या भएको हो कि भनेर हामीले निप्ट्राकै त्यसपछिका पोष्टहरुलाई पनि अध्ययन गरेर हेर्‍यौं ।

गएको मार्चमा निप्ट्राले राखेको विन्डचिटरको मूल्य १७९९ रुपैयाँमा ५३ प्रतिशत छुट उपलब्ध गराएर १७ सय रुपैयाँमा उपलब्ध गराएको छ ।

गएको मार्चमा १७ सय ९९ रुपैयाँ पर्ने उक्त विन्डचिटरमा ८ महिना पश्चात सेलमा त्यो पनि ५३ प्रतिशत छुट दिएर बिक्री गर्दा वास्तवमा केवल ९९ रुपैयाँ मात्रै कम छ ।

निप्ट्रा ब्राण्डका कपडामा मात्रै यस्तो समस्या भएको हुनसक्छ भन्ने लाग्न सक्छ । हामीले अन्य ब्राण्डको प्रडक्टको मूल्य समेत दाँजेर हेर्ने कोशिश गरेका छौं ।

त्यसक्रममा ‘फ्यानटेक’ ब्राण्डको एउटा वायरलेस एयरफोनको मूल्यमा दराजले दिएको छुट अनौठो लाग्यो । दराजमा ‘फ्यानटेक टीडब्लूएस टीएक्स–१ मिथ्रिल ५.० वायरलेस इयरफोन’ को मूल्य ८९९९ रुपैयाँमा ५० प्रतिशत छुट दिएर ४ हजार ४ सय ९९ रुपैयाँमा उपलब्ध गराइएको उल्लेख छ ।

त्यसपछि हामीले उक्त प्रडक्टको वास्तविक मूल्य कति पर्ने रहेछ भनेर आधिकारिक कम्पनीको वेबसाइटमा गएर हेर्‍यौं । जब त्यहाँ यो प्रडक्टको मूल्य जम्मा ४५०० रुपैयाँ मात्र छ । यसको अर्थ दराजले कम्पनीले दिइरहेको मूल्यभन्दा जम्मा १ रुपैयाँ कम मूल्य छुट दिएर ५० प्रतिशत डिस्काउन्ट भन्दै ग्राहकलाई मूर्ख बनाएको पाइयो ।

यसरी डिस्काउट ट्याग धेरै राखेर ग्राहकलाई लोभ्याउन पाउने कि नपाउने त ? हामीले यो विषयमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीसँग कुरा गर्‍यौं ।

उनले भने, ‘छुटको नाममा ग्राहकलाई मूर्ख बनाउन पाइँदैन । यदि त्यो प्रडक्ट नेपालमा सहजै पाइँदैन थियो र बाहिरबाट ल्याउनुपर्ने हो भने फरक कुरा हुन्थ्यो होला । तर, नेपालमै सोही कम्पनीले त्यही मूल्यमा सामान उपलब्ध गराइरहेको छ र दराजले त्यसमा ५५–६० प्रतिशत छुट भन्दै ग्राहक ठगिरहेको छ भने अध्ययन प्रक्रिया अघि बढाउँछौं ।’

यदि अध्ययनको क्रममा गलत गतिविधि भएकाे पाइएमा कारबाही समेत गरिने उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०