close

कम्प्युटर तथा इन्टरनेट प्रयोगकर्ताले सुरक्षित रहन जान्नैपर्ने ९ टिप्स

किरण तिम्सिना किरण तिम्सिना

कात्तिक ३०, २०७७ १२:५३

कम्प्युटर तथा इन्टरनेट प्रयोगकर्ताले सुरक्षित रहन जान्नैपर्ने ९ टिप्स

काठमाडौं । अहिलेको समयमा इन्टरनेट अत्यावश्यक सेवाको रुपमा विकास भइसकेको छ । इन्टरनेटको विस्तारसँगै विश्वको आधाभन्दा बढी जनसंख्या अनलाइनमा छन् । 

वास्तविक संसारभन्दा इन्टरनेटको भर्चुअल संसार सुरक्षाका हिसाबले अझ बढी जोखिमपूर्ण छ । आज हामी तपाईंलाई इन्टरनेटमा सुरक्षित रहन ख्याल राख्नुपर्ने महत्वपूर्ण टिप्स दिँदै छौं । 

१. लक राख्न नबिर्सनुहोस् 

यदि कोही व्यक्तिले ल्यापटप लक नगरी दुई मिनेटका लागि  बाथरुम जाँदा उसको फेसबुकमा कसैले ‘ह्याक’ अपडेट गर्छ भने त्यो ह्याकिङ होइन । 

पक्कै पनि तपाईंले ल्यापटप वा कम्प्युटरमा पासवर्ड लक राख्नु भएकै होला । यस्तोमा विण्डो कीसँगै एल दबाएर कम्प्युटर लक गरिदिनुहोस् । यदि तपाईंले यसलाई बानीको रुपमा विकास गर्नु भयो भने पक्कै पनि तपाईंलाई सुरक्षित रहन सघाउनेछ । 

२. फ्री तथा छिमेकीको वाईफाई प्रयोग नगर्नुहोस् 

पब्लिक वाईफाई भनेको सार्वजनिक सौचालय जस्तै हो । कोही तपाईंभन्दा अगाडि नै भित्र पसेर चियाइरहेको हुनसक्छ । जुन तपाईलाई थाहा नै हुँदैन ।

सार्वजिनक वाईफाई असुरक्षित हुन्छ । गलत नियत भएकाहरुले यसबाट तपाईंलाई पाँसोमा पार्न कुरी बसेका हुनसक्छन् । त्यसैले आफूलाई विश्वास नभएको वा थाहा नभएको वाईफाईलाई निःशूल्क पाएँ भन्दैमा प्रयोग गर्ने बानी हटाउनुहोस् । 

इन्टरनेट बिना बस्न सक्नुहुन्न भने बरु डेटा प्याक लिनुहोस् । त्यो सुरक्षित हुन्छ । फ्री वाईफाई मात्र होइन, फ्री हट्सपट पनि त्यत्तिकै हानिकारक हुनसक्छ ।

उनीहरुले तपाईंको फोन नम्बर र ईमेल एड्रेस माग्छन् । जसलाई उनीहरुले बिक्री गरिदिन सक्छन् । त्यसपछि तपाईंलाई अनावश्यक विज्ञापनले सताउन थाल्छ । 

३. जिमेल ईमेल मात्र होइन भन्ने कुरा नबिर्सिनुहोस् 

जिमेल केवल एउटा ईमेल मात्र होइन । यदि यो कुनै दिन कम्प्रमाइज भयो भने ह्याकरले तपाईंको ईमेलमा मात्र होइन, त्यसभित्र रहेको लोकेसन, यात्रा विवरण, मोबाइल फोनको फोटो, सम्पर्क नम्बरहरु, गूगलबाट लग इन हुने सबै अकाउन्ट, जिमेलबाट खोलेको फेसबुक र अन्य धेरै कुरामा एक्सेस पाउन सक्छ । 

तपाईंले प्रयोग गर्ने गुगलका सबै सेवा वा भनौं सिङ्गो गुगल इकोसिस्टम नै त्यही एउटा अकाउन्टबाट चल्छ । यसकारण कुनै पनि जिमेल वा एन्ड्रोइड प्रयोगकर्ताका लागि आफ्नो जिमेल सुरक्षित राख्नु अपरिहार्य छ ।

त्यसैले टु फ्याक्टर अथेन्टिकेसनलाई इनेबल गर्नुहोस् । यस्तो अवस्थामा यदि तपाईंको पासवर्ड कम्प्रमाइज भयो भने पनि ह्याकरले तपाईंको फोन बिना अकाउन्टमा एक्सेस पाउन सक्ने छैन । 

टु फ्याक्टर अथेन्टिकेसन भनेको लग इन गर्न दुईवटा पासवर्ड आवश्यक पर्ने प्रणाली हो । एउटा सामान्य पासवर्ड हो भने अर्को वान टाइम पासवर्ड अर्थात् ओटीपी हो ।

जुन तपाईंको मोबाइल फोनमा पठाइन्छ । यसमा थप सुरक्षा थप गर्न आफ्नो फोनलाई लक गरेर राख्नुहोस् । त्यसमा अरुलाई पहुँच नदिनुहोस् । 

४. गोप्यता जोगाउनुहोस्

यदि तपाईं कम्प्युटरमा गोप्यरुपमा केही काम गरिरहनु भएको छ र त्यसबेला कोही नजिक आउँछ भने विण्डो प्लस डी थिच्नुहोस् ।

ट्याब वा स्क्रिन स्विच गर्न एकदमै जोखिमपूर्ण हुन सक्छ । विण्डोज प्लस डी यस्तो शर्टकट हो, जसले सबै कुरालाई एकाएक मिनिमाइज गरिदिन्छ र तपाईको डेस्कटप स्क्रिनलाई पुनः लोड गरिदिन्छ । 

५. क्र्याक तथा पाइरेटेड सफ्टवेयर डाउनलोड गर्ना होसियारी अपनाउनुहोस्

क्र्याक सफ्टवेयर सधैं निःशूल्क पाउन सकिँदैन । यदि तपाईंले इन्टरनेटबाट पाइरेट सफ्टवेयर डाउनलोड गर्नु भयो भने मेलिसियस फाइल पनि डाउनलोड हुने सम्भावना रहन्छ ।

जसले तपाईंको डिभाइस र गोपनीयतामा आघातक पुर्‍याउन सक्छ । स्रोतमा पूर्ण विश्वास नभएसम्म कुनै पनि पाइरेट वा क्र्याक सफ्टवेयर इन्टरनेटबाट डाउनलोड नगर्नुहोस् ।

डाउनलोड गर्नु अघि त्यसमा देखिएका कमेन्टहरु पढ्नुहोस् । जुन मान्छेले लेखेको जस्तो देखिन्छन् । वास्तविक कमेन्टहरुमा मिश्रित प्रतिक्रिया हुन्छन् भने झुटा कमेन्टमा सकरात्मक कुराहरु मात्र राखिएका हुन्छन् ।  

इन्टरनेटमा धेरै अनलाइन साइटहरु छन् । उदाहरणका लागि भाइरस टोटल । जसले तपाईंको कम्प्युटरमा फाइल रन गर्नु अघि सबै जसो लोकप्रिय एन्टिभाइरसबाट ती फाइलहरु स्क्यान गराइदिन्छ । यस अतिरिक्त सावधानीले तपाईंको डिभाइसलाई सुरक्षित राख्दछ । 

पाइरेटेड सफ्टवेयर डाउनलोड गर्दा भाइरस स्क्यान गर्नु अघि सधैं त्यसको फाइल साइज निर्क्यौल गर्नुहोस् । यदि साइज धेरै सानो छ, तर डाउनलोड गर्दा धेरै समय लाग्छ भने त्यसमा मेलिसियस फाइल बसेको हुन सक्छ । त्यसलाई डिलिट गर्नुहोस् र सुरक्षित रहनुहोस् । 

६.हार्ड ड्राइभ फर्म्याट गर्दैमा सबै डेटा डिलिट भएको भ्रममा नपर्नुहोस्

फाइललाई रिसाइकल बिनबाट डिलिट गर्दा वा सिफ्ट प्लस डिलिट प्रेस गर्दा त्यो फाइल तपाईंको हार्ड ड्राइभबाट सदाका लागि डिलिट भएको हुँदैन । यसले सामान्य रेकर्डलाई त हटाइदिन्छ  ।

तर यसले ओएसलाई कुन फाइल हार्ड ड्राइभमा कता बसेको छ भनेर थाहा पाउने अनुमति दिन्छ । त्यसैले वास्तविक डेटा हार्ड ड्राइभको कुनै भागमा तबसम्म बसिरहन्छ, जबसम्म त्यसको ठाउँमा नयाँ डेटा लेखिएको हुँदैन । 

यसको अर्थ यदि तपाईंले माथि भनिए जस्तै सामान्य तरिकाले फाइल डिलिट गरेर कम्प्युटर बेच्न वा अरुलाई दिन लाग्नु भएको छ भने तपाईको डेटा पनि सँगै जादैँछ भन्ने कुरा नबिर्सिनुहोस् ।

हार्ड ड्राइभ फर्म्याट गर्दा पनि त्यसबाट तपाईंका डेटाहरु सजिलै मेटिँदैनन् । हामीले हाम्रो कम्प्युटर कसैको हातमा सुम्पिनु अघि कुनै सफ्टवेयर प्रयोग गरेर हार्ड ड्राइभलाई सफा गर्नुपर्छ । 

७. ब्राउजिङमा ध्यान दिनुहोस् 

कहिलेकाँही तपाईंले कुनै काम छिटो छिटो गर्नुपर्ने हुन्छ । यसका लागि तपाईंले तीनवटा टप शर्टकट थाहा पाइराख्नुहोस् । जसको प्रयोगबाट तपाईं आफ्नो ब्राउजिङको धेरै समय जोगाउनुका साथै गोपनीयता कायम राख्न सक्नुहुन्छ ।  

ब्राउजरबाट केही कुरा डिलिट गर्न चाहनुहुन्छ भने कन्ट्रोल प्लस सिफ्ट प्लस डिलिट थिच्नुहोस् । यति गरेपछि तपाईंको सबै लेटेस्ट हिस्ट्री र क्यास क्लिन गर्ने अप्सन आउँछ । 

अर्को भनेको हिस्ट्री सेभ नगर्ने गरी गोप्य ब्राउज गर्न पनि सक्नुहुन्छ । त्यसका लागि कन्ट्रोल प्लस सिफ्ट प्लस एन दबाएर इनकग्निटो मोड खोल्नुहोस् । 

तेस्रो भनेको कुनै ट्याब बाइ मिस्टेक बन्द भयो भने कन्ट्रोल प्लस सिफ्ट प्लस टी प्रेस गर्नुहोस् र पछिल्लो पटक तपाईंले प्रयोग गरिरहेको ट्याब खुल्छ ।

८. डाउनलोड हिस्ट्री मेटाउनुहोस्

विण्डो टेनले सबै खोलिएका फाइलको हिस्ट्रीलाई सेभ गर्दछ र एक्सप्लोरर र इन साइडबार क्विक एक्सेसमा देखाउँछ । जुन सबैका लागि सुरक्षित कुरा होइन ।

हामी इन्टरनेटबाट धेरै कुराहरु डाउनलोड गर्छौं । तर सबैले नदेखुन् भन्ने चाहन्छौं । ती सबै कुरा मेटाउने हामीसँग छिटो र सजिलो अप्सन छैन र धेरैलाई हामी साँच्चै त्यसलाई सफा गर्न सक्छौं भन्ने कुरा पनि थाहा छैन । 

यस्तो अवस्थामा विण्डोज टेनमा खोलिएका फाइलको हिस्ट्रीलाई मेटाउन निम्न विधि अपनाउनुहोस् । पहिलो, विण्डोज की प्रेस गर्नुहोस् र ‘file explorer options’ सर्चबारमा टाइप गर्नुहोस् र इन्टर प्रेस गर्नुहोस् । 

दोस्रोमा क्लियर बटनमा क्लिक गर्नुहोस् । जुन क्लियर फाइल एक्स्प्लोरर हिस्ट्रीको नजिकै रहेको हुन्छ । 

९. तपाईं भोट फर मी लिङ्कबाट पनि ह्याकिङमा पर्न सक्नुहुन्छ 

केही विश्वसनीय व्यक्तिहरुबाट नै मलाई कहिले काहिँ ‘भोट फर मि’ जस्ता लिङ्कहरु आइरहेको हुन्छन् । जसमा फेसबुक लग इन आवश्यकता पर्दछ ।

तर वास्तवमा त्यो फिसिङ साइट हुन्छ । जसले तपाईंको युजर नेम र पासवर्ड  चोरी गर्दछ । यदि तपाईं उक्त साइटलाई विश्वास गर्नुहुन्न र त्यसले तपाईसँग लग इन क्रेडेन्सियल माग्छ भने त्यो फिसिङको प्रयास हुनसक्छ । 

ह्याकिङमा सोसल इंजिनियरिङको एकदमै सामान्य अभ्यास छ, जहाँ तपाईकै विश्वसनीय व्यक्तिबाट तपाईंलाई झुक्याउने प्रयास गरिन्छ ।

त्यसैले आफूलाई कसैले पठाएको लिङ्क के हो भनेर थाहा नपाएसम्म त्यसलाई खोल्न हतार नगर्नुहोस् । भोटिङ लिङ्कहरुमा आधिकारिक साइटको एड्रेस हुन्छ ।

त्यसले तपाईंको सामाजिक अकाउन्टको क्रेडेन्सियल कहिल्यै माग्दैन । बरु भोटिङ प्लेटफर्मका लागि नयाँ अकाउन्ट खोल्न भन्नसक्छ । त्यसैले क्रस चेक र लिङ्क भेरिफिकेसन गरेपछि मात्र तपाईं यस किसिमका स्क्यामहरुबाट जोगिन सक्नुहुन्छ ।

तिमसिना आन्ट्रप्रेनर तथा आईटी विज्ञ हुन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०