काठमाडौं । टेस्लाका मालिक नवधनाढ्य एलन मस्कलाई उछिन्दै अमेजनका संस्थापक जेफ बेजाेस पुन: संसारकै धनी बनेका छन् । गत सोमबार मस्ककाे विद्युतीय कार कम्पनी टेस्लाको शेयर ८.६ प्रतिशतले ओरालो लागेपछि उनकाे सम्पत्तिमा एकै दिन १५ अर्ब २० करोड डलर अर्थात् साढे १७ खर्ब बढी रूपैयाँले ह्रास आएको छ ।
गत महिला अमेजनका संस्थापक जेफ बेजोसलाई पनि पछि पार्दै विश्वका धनाढ्यको अग्रस्थान हासिल गर्न सफल मस्क, शेयर बजारमा आएको हलचलले दोस्रो स्थानमा झरेका थिए । उक्त समय बेजोसको कुल सम्पत्ति १८६ अर्ब ३० करोड डलर थियो भने मस्कको सम्पत्ति १८३ अर्ब डलर रहेको थियो ।
तर सोमबार टेस्लाको शेयर मूल्य ८.५ प्रतिशतले घट्यो । गत सेप्टेम्बरयता यो नै सबैभन्दा ठूलो गिरावट हो । मंगलबार प्रि-मार्केट ट्रेडिङमा पनि टेस्लाको शेयर अझै ६ प्रतिशतले गिरावट भएको छ ।
दुई हप्ताअघि मात्र टेस्लाले डेढ अर्ब डलरको बिटक्वाइन खरिद गरेसँगै बिटक्वाइनको मू्ल्य पनि एकाएक बढेर आइतबारसम्म ५८ हजार डलर पुगेको थियो ।
तर, यो मंगलबार बिहानसम्म घटेर साढे ४७ हजार डलर पुगिसकेको छ । तर बिटक्वाइनको मूल्य भने गत वर्षको तुलनामा अझै पनि ५ सय प्रतिशतले धेरै छ ।
-एजेन्सी
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
