close

भोलि एप्पलको लञ्च इभेन्ट, नयाँ के आउलान् ?

टेकपाना टेकपाना

बैशाख ६, २०७८ ७:३०

भोलि एप्पलको लञ्च इभेन्ट, नयाँ के आउलान् ?

काठमाडौं । मंगलबार अर्थात अप्रिल २० मा एप्पलले ‘स्प्रिङ लोडेड लन्च इभेन्ट’ नामक विशेष कार्यक्रमको घोषणा गरेको छ । क्यालिफोर्नियास्थित एप्पल पार्क क्याम्पसको स्टिभ जब्स थिएटरमा हुने उक्त कार्यक्रममार्फत कम्पनीले के कस्ता उत्पादन सार्वजनिक गर्न सक्छ भन्ने विषय यतिबेला सबैका लागि चासोको विषय हो ।

यस विषयमा धेरै अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले विभिन्न उत्पादनको सार्वजनिक गर्नसक्ने भन्दै आँकलन गरिरहका छन् । त्यसमध्ये पनि एप्पलले उक्त दिन नयाँ डिजाइनको आईम्याक्स, आईप्याड प्रो, एयरपड्स, एप्पल पेन्सिल थ्री, लगायतका केही उत्पादन सार्वजनिक गर्नसक्ने अपेक्षा गरिएको छ ।

आईम्याक :

मंगलबार हुने ‘स्प्रिङ लोडेड लन्च इभेन्ट’ मार्फत कम्पनीले आईम्याक्सलाई नयाँ डिजाइनका साथ प्रस्तुत गर्न सक्नेछन् । कम्पनीले विगत एक दशकदेखि एप्पलका कम्प्युटरहरू अपग्रेड गरेको छैन । त्यसैले यो कार्यक्रममार्फत कम्पनीले ठूलो स्क्रिनसहित नयाँ डिजाइनमा आईम्याक सार्वजनिक गर्नसक्ने जनाइएको छ ।

हालसम्म प्राप्त जानकारीअनुसार नयाँ आईम्याकको डिस्प्ले ३२ इन्च हुनेछ । भने, यसमा एप्पल आफैले तयार पारेको ‘प्रो डिस्प्ले एक्सडीआर मोनिटर’ आधारित हुन सक्नेछ ।

आईप्याड प्रो :

एप्पलले आउँदो मंगलबार आइप्याड प्रो पनि नयाँ भर्सनमा सार्वजनिक गर्नसक्ने आँकलन गरिएको छ । उक्त आईप्याडको डिभाइसमा धेरै परिवर्तन नभएता पनि त्यसभित्र हुने फिचरहरुमा भने उल्लेख्य परिवर्तन हुनसक्ने अनुमान गरिएको छ ।

नयाँ आईप्याड ११ इन्च र १२.९ इन्चमा उपलब्ध हुनेछ । मिनी एलईडी डिस्प्लेयुक्त उक्त आईप्याडमा ए–१४ चिपसेट प्रयोग हुने जनाइएको छ ।

एप्पल पेन्सिल–३ :

कम्पनीले सन् २०१८ मा आईप्याड प्रोमार्फत सार्वजनकि गरेको एप्पल पेन्सिलको नयाँ भर्सन सार्वजनिक गर्नसक्ने उल्लेख गरिएको छ । जसमा नयाँ सेन्सर प्रयोगमा ल्याइने अनुमान गरिएको छ ।

आईओएस १४.५ :

आईओएस १४ सार्वजनिक गरेसँगै कम्पनीले समय समयमा त्यसलाई परिमार्जन गर्दै प्रयोगकर्तामाझ उपलब्ध गराउँदै आएको छ । केही समयअघिमात्रै आईओएस १४.४ सार्वजनिक गरेको कम्पनीले उक्त कार्यक्रममार्फत आईओएस १४.५ सार्वजनिक गर्नसक्ने आँकलन गरिएको छ ।

जसमा लामो समयदेखि चर्चामा रहेको माक्स लगाएर मोबाइल अनलक गर्न सकिने फिचरका साथ आईओएस १४.५ सार्वजनिक हुन सक्नेछ । साथै यसमा नयाँ एप ‘ट्रयाकिङ ट्रान्सपरेन्सी पोलिसी’ अपडेट हुने उल्लेख छ ।

यसका साथै कम्पनीले उक्त कार्यक्रममार्फत एयरपड, फोरके टिभी लगायतका उत्पादन सार्वजनिक हुनसक्ने बताइएको छ । तर, कम्पनीले भने यसबारेमा यकिन कुनै जानकारी भने उपलब्ध गराएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१