close

निषेधाज्ञामा माेबाइल र इन्टरनेट बैंकिङबाट कारोबार गर्दै हुनुहुन्छ ? यस्तो छ भुक्तानी सीमा

टेकपाना टेकपाना

जेठ ३, २०७८ १४:४८

निषेधाज्ञामा माेबाइल र इन्टरनेट बैंकिङबाट कारोबार गर्दै हुनुहुन्छ ? यस्तो छ भुक्तानी सीमा

काठमाडौं । कोभिड- १९ को दोस्रो भेरियन्ट फैलिएसँगै सरकारले देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको छ । यस्तो अवस्थामा घरमै बसी आर्थिक कारोबार गर्न विभिन्न भुक्तानी माध्यमको विकल्प हामीसामु छ ।

नेपाल राष्ट्र बैंकले कारोबार माेबाइल बैंकिङ र इन्टरनेट बैंकिङका लागि प्रतिदिन काराेबार सीमा ताेकेकाे छ ।

हाल नेपालमा मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेटमार्फत (मर्चेन्ट पेमेन्ट) २० लाख रूपैयाँसम्म भुक्तानी गर्न सकिन्छ ।

राष्ट्र बैंकका अनुसार यो सीमा एउटै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्दा भने लागू हुनेछैन ।

त्यतिमात्रै नभएर सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर लगायतका सेवा शुल्क भुक्तानी गर्दा कुनै सीमा लाग्ने छैन ।

यस्तै विद्युत सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकम, शिक्षण संस्था (विद्यालय/कलेज), स्वास्थ्य संस्था, हवाई सेवा, यातायात सेवा र होटल तथा रेष्टुरेन्ट सेवाको कारोबारको भुक्तानी गर्नुपर्ने बिल बमोजिमको रकम भुक्तानीमा पनि सीमाले बाधा पुर्‍याउने छैन ।

धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रहरूको कारोबारबापत तोकिएको बैंकमा रकम भुक्तानी गर्दा पनि सीमाले असर नगर्ने उल्लेख गरिएको छ । त्यस्तै केन्द्रीय बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानीका विशेष उपकरणहरुमा समेत सीमाले बाधा नपुर्‍याउने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१