close

विण्डोजको नयाँ संस्करणमा यस्ता हुनेछन् परिवर्तन

टेकपाना टेकपाना

जेठ २०, २०७८ २१:१६

विण्डोजको नयाँ संस्करणमा यस्ता हुनेछन् परिवर्तन

काठमाडौं । माइक्रोसफ्टले आगामी असार १० गते विण्डोजको नयाँ संस्करण सार्वजनिक गर्ने भएको छ । कम्पनीका सीईओ सत्य नाडेलाले डेभलपर्स र क्रियटर्सका लागि पिसी अपरेटिङ सिस्टममा अपग्रेडको घोषणा गरेको एक हप्तापछि यस्तो जानकारी आएको हो ।  माइक्रोसफ्टले नयाँ संस्करण सार्वजनिकको तयारी सुरु गरिसकेको छ ।

यसका लागि सञ्चार माध्यमहरूलाई निमन्त्रणा समेत भइसकेको छ । सार्वजनिकीकरण कार्यक्रममा सीईओ नाडेला र प्रमुख उत्पादन अधिकृत प्यानोस पानेले पनि प्रस्तुति दिनेछन् । नयाँ संस्करणमा खासगरी भिजुअलतर्फ विशेष सुधार गरिएको कुरा बाहिर आएको छ । त्यस्तै युजर इन्टरफेसमा पनि विशेष परिवर्तन गरिएको छ, जसलाई सन भ्याली नामाकरण गरिएको छ ।

माइक्रोसफट्को निमन्त्रणामा विण्डोजको नयाँ लोगो समेत देखिएको छ । माइक्रोसफ्टले यसअघि नै आफ्नो नयाँ संस्करण विण्डोज टेन एक्स भने नल्याउने घोषणा गरिसकेको छ । सोही संस्करणमा रहेको भिजुअल सुधारलाई विन्डोज टेनको मुख्य संस्करणमा राख्ने जानकारी कम्पनीले दिएको छ ।

नयाँ संस्करणमा भिजुअलसमेत नयाँ सिष्टम आइकनहरू, फाइल एक्स्प्लोररमा सुधार गरिएको छ । यससँगै विण्डोज ९५ युगका आइकनको अन्त्य पनि हुनेछ । त्यस्तै नयाँ संस्करणमा धेरै मनिटरमा एप व्यवस्थापनमा रहेको समस्या पनि समाधान गरिएको छ । एक्सबक्स अटो एचडीआर सुविधा र  ब्लुटुथ साउन्ड सपोर्टमा पनि सुधार भएको छ । 

माइक्रोसफ्ट हालैका महिनाहरूमा विण्डोजका लागि नयाँ एप स्टोर निर्माणमा पनि काम गरिरहेको छ । उक्त स्टोर माइक्रोसफ्टले सबै एपहरु तथा प्रतिस्पर्धी पेमेन्ट प्रदायकका लागि पनि खुला गर्ने हल्ला बाहिर आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३