काठमाडौं । टिकटकको मुख्य कम्पनी बाइटडान्सले चिनियाँ सरकारको आक्रामक नीतिका बावजुद पनि सर्वसाधारणमा शेयर जारी गर्ने निर्णय गरेको छ ।
पछिल्लो सयम चिनियाँ नियामक निकायले प्रविधि कम्पनीलाई लक्षित गर्दै नयाँ नीति लागू गरेको छ, जसले प्रविधि कम्पनीलाई निकै ठूलो प्रभाव पारिरहेको छ ।
यसका बावजुद पनि बाइटडान्सले हङकङको शेयर बजारमा सूचीकृत गराउने भएको हो । कम्पनीले गएको डिसेम्बरमा पाँच अर्ब अमेरिकी डलर लगानी भित्र्याएको थियो, जसमा कम्पनीको मूल्याङ्कन एक खर्ब ८० अर्ब अमेरिकी डलर गरिएको थियो ।
त्यसैका आधारमा कम्पनी शेयर बजारमा सूचीकृत हुने भएको हो । कम्पनीका अनुसार सन् २०२१ को अन्त्य अथवा सन् २०२२ को पहिलो त्रैमासिकभित्र कम्पनी शेयर बजारमा सूचीकृत हुनेछ ।
तर, अमेरिका लगायतका देशमा भने तत्कालै शेयर जारी हुने छैन । कम्पनीले बाहिरी देशमा जारी गर्ने शेयर एक वर्षसम्मका लागि स्थगित गरेको जनाइएको छ ।
पछिल्लो ६ महिनादेखि डेटा सेक्युरिटीको विषयमा बलियाे तर्क गरिरहे पनि कम्पनीका लागि शेयर बजारमा सूचीकृत हुँदा कठिनाइ हुने आँकलन गरिएको छ ।