close

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा वैकुण्ठ अर्याल

टेकपाना टेकपाना

साउन २५, २०७८ १८:३४

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा वैकुण्ठ अर्याल

काठमाडौं । सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याललाई सञ्चारको जिम्मेवारी दिएको हो ।  

यसअघिका सचिव हरिप्रसाद बस्यालले अवकाश पाएसँगै ६ साउनयता मन्त्रालय सचिव विहीन बनेको थियो । सरकार परिवर्तन हुनु अघि नै मन्त्रीविहीन बनेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अहिलेसम्म नयाँ मन्त्री समेत पाउन सकेको छैन । मन्त्री र सचिव दुवै नहुँदा मन्त्रालयका महत्वपूर्ण निर्णय हुन सकेका छैनन् ।

हुलाक सेवाबाट शाखा अधिकृतको रुपमा निजामति सेवामा प्रवेश गरेका उनले लामो समय अर्थमन्त्रालयमा रहेर काम गरेका थिए । अर्थबाट बढुवा हुने भएपछि वित्त आयोगमा कामु सचिव भएका अर्याल त्यहीँ छँदा सचिवमा बढुवा भएका थिए ।

वित्तबाट वाणिज्य सचिव हुँदै पछिल्लो समय उनी प्रधानमन्त्री कार्यालयमा रहेका थिए ।  अर्थ सचिवको प्रबल दाबेदारको रुपमा हेरिएका उनलाई सरकारले सञ्चारमा पठाएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३