काठमाडौं । ट्वीटरले ब्लु चेक मार्क भेरिफिकेसन पुनः बन्द गरेको छ । करिब चार वर्षपछि कम्पनीले खुलाएको ब्लु चेक मार्क भेरिफिकेसनले धेरै प्रयोगकर्तालाई खुशी बनाएको थियो ।
तर यो खुशी छोटो समयका लागि मात्र भएको छ । प्राविधिक कारण जनाउँदै ट्वीटरले अकाउन्ट भेरिफिकेसन पुनः रोकेको जानकारी दिएको छ ।
शुक्रबार आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट कम्पनीले प्राविधिक सुधारका लागि अकाउन्ट भेरिफिकेसन केही समयका लागि बन्द गरेको उल्लेख गरेको छ ।
यही जुलाईमा ट्वीटरले ६ वटा फेक अकाउन्ट भेरिफाइड गरेको पत्ता लागेको थियो । त्यसपश्चात ट्वीटरले अकाउन्ट भेरिफिकेसन रोक्ने निर्णय लिएको हो ।
‘हामीले भेरिफिकेसनको कामलाई केही समयका लागि रोकेका छौं, ताकि हामी एपमा अझै सुधार गर्न सकौं र भेरिफिकेसनको प्रक्रियालाई अझ बलियो बनाउन सकौं । ब्लु चेक मार्क भेरिफिकेसनको लागि कुरेर बस्नुभएका प्रयोगकर्ताको लागि यो दु:खको खबर हो । हामी यो सबै काम ठीक गर्न चाहन्छौें र तपाईंहरुको धैर्यताको कदर गर्दछौं,’ ट्वीटरले आफ्नो ट्वीटमा उल्लेख गरेको छ ।
यसको अर्थ तपाईंले सब्मिट गरिसक्नुभएको निवेदन भेरिफाइड नहुने भन्ने चैं होइन । ट्वीटरले आएका निवेदनहरू छिटोभन्दा छिटो समिक्षा गर्ने बताएको छ । तर अहिलेसम्म निवदेन नदिएका प्रयोगकर्ताले भने आउने केही हप्तासम्म अब निवेदन दिन पाउने छैनन् ।