काठमाडौं । साेसल अडियो एपको रुपमा चर्चित क्लबहाउसले सुरक्षाको कारण देखाउँदै अफगानिस्तानमा रहेका प्रयोगकर्ताको व्यक्तिगत विवरण हटाएको छ ।
गत हप्ता मात्रै क्लबहाउसले आफ्ना हजारौं अफगानी प्रयोगकर्ताको व्यक्तिगत विवरण र तस्वीर रिसेट गरेको थियाे । त्यस्तै अफगानी प्रयोगकर्ताहरूको अकाउन्ट सजिलै सर्च गर्न नमिल्ने व्यवस्था पनि क्लबहाउसले गरेको छ ।
क्लबहाउसका प्रवक्ताका अनुसार यो कदमले प्रयोगकर्ताको फलोअर्समा केही फरक पर्ने छैन र यदि प्रयोगकर्ताले चाहेको खण्डमा यो व्यवस्थालाई रिसेट गरेर सामान्य रुपमा अकाउन्ट प्रयोग पनि गर्न सक्नेछन् ।
अफगानी प्रयोगकर्ताले चाहेमा आफ्नो सुरक्षा र मानव अधिकारका लागि आफ्नो वास्तविक नाम लुकाएर अन्य कुनै उपनामबाट पनि क्लबहाउस प्रयोग गर्नसक्ने व्यवस्था मिलाइएको कम्पनीले बताएको छ ।
तालिबानले देश नियन्त्रणमा लिएपछि अफगानिस्तानका थुप्रै मानिसले आफ्नो सामाजिक सञ्जालका अकाउन्ट र फोनबाट पश्चिमा वा पूर्व अफगान सरकारसँग सम्बन्ध देखाउन सक्ने फोटोहरू मेटाउने प्रयास गरिरहेका छन् ।
त्यसमाथि केही प्रतिबन्धहरू रहँदा रहँदै पनि तालिबानीहरूले सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश दिने क्रम जारी नै छ । दि वाशिङटन पोस्टको एक रिपोर्टका अनुसार समाजमा आफ्नो छवि परिवर्तन गर्नका लागि तालिबानीले सामाजिक सञ्जालको सहारा लिइरहेको छ ।