close

सुबिसु २३ वर्षमा प्रवेश, गुणस्तरीय सेवा विस्तारमा जोड

टेकपाना टेकपाना

पुस १७, २०७९ १८:८

सुबिसु २३ वर्षमा प्रवेश, गुणस्तरीय सेवा विस्तारमा जोड

काठमाडौं । नेपाल दोस्रो ठुलो इन्टरनेट सेवा प्रदायक सुबिसु आज आफ्नो स्थापनाको २२ वर्ष पुरा गरेको छ । नेपालमा पहिलो पटक टीभी र इन्टरनेट सेवा एउटै केबल(कोएक्सेल केबल) मार्फत उपलब्ध गराउँदै सुरु भएको कम्पनीको यात्राले २२ वसन्त पार गरिरहँदा नेपालको इन्टरनेट क्षेत्रमा निकै ठुलो भूमिका निर्वाह गर्न सफल भएको छ ।

सुबिसु सुरु हुने समयमा नेपालमा टीभी र इन्टरनेट दिने सेवाप्रदायक एउटै थिएनन् । बजारमा टीभी च्यानल सेवा प्रदायक कम्पनीहरू र इन्टरनेट सेवा प्रदायक कम्पनीहरू छुट्टा छुट्टै रुपमा थिए । तर इन्टरनेट कम्पनीहरू डायलअप र वायरलेसमा थिए ।  केबल टेलिभिजन प्रणाली भने एकोहोरो प्रकृतिको ‘कोएक्सेल केबल’ मा चलिरहेको थियो ।

यसै बिचमा कोएक्सेल केबलमार्फत अमेरिकामा टीभी र इन्टरनेट एउटै तारबाट दिन सुरु भयो । त्यही प्रविधिलाई पछ्याउँदै कम्पनीले इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्रका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा आवेदन दिएर सन् २००४ बाट कम्पनीले इन्टरनेट सेवा सुरु गरेको थियो । हुन त यसअघि नै अर्थात सन् २००१  बाटै कम्पनी केबल टीभी सेवाप्रदायकको रुपमा सुरु भइसकेको थियो ।

यसरी नेपालमा केबल इन्टरनेट सेवाको लाइसेन्स पाउने पहिलो कम्पनी बनेको सुबिसुले आज देशका सम्पूर्ण क्षेत्रमा इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । देशभर ३ हजार भन्दा बढीलाई रोजगारी दिँदै आएको कम्पनीले यो वर्ष इन्टरनेट विस्तारलाई थप प्रभावकारी बनाउने र सेवाको गुणस्तरमा काम गर्ने योजना कम्पनीको रहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्याङ्कलाई आधार मान्ने हो भने आजको दिनमा कम्पनीले देशभर २ लाख ४१ हजार ७३४ घरमा इन्टरनेट जडान र १ लाख २० हजार भन्दा बढीको घरमा टेलिभिजन सहित करिब १२ लाख लाख प्रयोगकर्तालाई सेवा उपलब्ध गराउन सफल भएको छ । ओटीपीमार्फत समेत सेवा दिँदै आएको कम्पनीले यो वर्ष आफूलाई सबैभन्दा बढी गुणस्तरमा केन्द्रित गर्ने जनाएको छ ।

‘आगामी वर्षहरू हामी सबैभन्दा बढी गुणस्तरमा केन्द्रित हुनेछौं,’ कम्पनीका अध्यक्ष सुधीर पराजुलीले भने, ‘सेवा विस्तार सँगै ग्राहकलाई गुणस्तर प्रदान गर्नु कम्पनीको एकमात्र उदेश्य हो । त्यो हुँदा हामी अबका दिनमा बढी गुणस्तरीय सेवामा केन्द्रित हुनेछौं ।’

पराजुलीका अनुसार कम्पनीले इन्टरनेट सेवासँगै समाजमा योगदान गर्ने विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि आयोजना गर्दै आइरहेको छ । भने, यो वर्ष समेत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू गरिने छ । 
 

पछिल्लो अध्यावधिक: पुस १७, २०७९ १८:८