close

सस्तोमा आईफोन पाउने लोभमा १० हजार डुबेपछि...

टेकपाना टेकपाना

पुस १८, २०७९ २१:४६

सस्तोमा आईफोन पाउने लोभमा १० हजार डुबेपछि...

काठमाडौं । फेसबुक मेसेन्जरमा अपरिचित व्यक्तिबाट आएको मेसेजले गर्दा एक व्यक्ति १० हजार रुपैयाँ ठगिन पुगेका छन् । सस्ताे मूल्यमै आईफोन पाउने लाेभमा ती व्यक्तिले पैसा गुमाउन पुगेका हुन् ।

हालै साइबर ब्यूराेमा ठगीमा परेँ भन्दै उनले उजुरी दिए । उजुरी अनुसार पीडितले सबैभन्दा पहिले मेसेन्जरमा एक अपरिचित व्यक्तिको मेसेज रिक्वेस्ट एक्सेप्ट गरेका थिए । मेसेज रिक्वेस्ट एक्सेप्ट गर्ने बित्तिकै पीडितले १० हजारमै नयाँ आईफोन पाउन सकिने आश्वासन पाए । याे कुराले ती व्यक्ति दङ्ग भइहाले ।

त्यसबाहेक नयाँ आईफोनका विशेषताबारे जानकारी पाउँदा पीडित व्यक्ति नयाँ फोन प्रयोग गर्न उत्साहित भए । पीडकले आईफोन उपलब्ध गराउन एउटा सर्त राखे, जहाँ पीडित व्यक्तिले एडभान्समा सबै रकम दिनुपर्ने थियो ।

उनले सस्तोमा आईफोन पाउने लालचले केही नसोची १० हजार रुपैयाँ पठाइदिए । पैसा पाएपछि पीडकलाई के चाहियो र ! उनले पीडितलाई तुरुन्तै ब्लक गरिदिए ।

टेकपानासँग कुरा गर्दै साइबर ब्यूरोका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक पशुपति कुमार रायले मेसेन्जरमा अञ्जान व्यक्तिबाट ठगिएको यो प्रतिनिधि घटनामात्र भएको बताए ।

"सामाजिक सञ्जालमा सस्तो मूल्यमा सामान पाउने लोभले एड्भान्स पठाउन खोज्दा धेरै मानिस ठगिएका छन्," उनी भन्छन्, "यो प्रतिनिधि घटनामात्र हो, यसरी ठगी भएका कयौं घटना छन् ।

त्यस्तै यही हप्ता उजुरी परेको अर्को प्रकृतिको साइबर अपराधबारे जानकारी दिँदै रायले भने, "बैंकको नक्कली पेज बनाएर आफूले कस्टमर सर्भिस दिने भन्दै ठगी गरेको उजुरी परेको छ । सर्वसाधारणले एउटा कुरा के ख्याल गर्नुपर्‍यो भने बैंक तथा वालेटले कहिल्यै पनि कुनै सेवाका लागि पनि लगइन विवरण माग्दैनन् । त्यसैले बैंकको कर्मचारी भनेर कसैले लगइन डिटेल माग्यो भने त्यस्तो नम्बर वा पेज रिपोर्ट गर्न सकिन्छ ।"

यस्ताे घटना हुनबाट बेलैमा सचेत हुनुपर्ने उनी बताउँछन् । यदि केही गरी अनलाइन ठगी, ब्ल्याकमेल, लगइन डिटेल चोरीजस्ता घटना भएमा तुरुन्तै नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा उजुरी दिन उनले अनुराेध गरे ।

पछिल्लो अध्यावधिक: पुस १८, २०७९ २२:४