close

सफ्टवेयरमार्फत कल सेन्टर सेवा दिँदै आएको भक्सक्रो छैटौँ वर्षमा

टेकपाना टेकपाना

माघ १८, २०७९ १९:५६

सफ्टवेयरमार्फत कल सेन्टर सेवा दिँदै आएको भक्सक्रो छैटौँ वर्षमा

काठमाडौँ । सफ्टवेयरमार्फत व्यावसायिक  कम्पनीहरूलाई कल सेन्टर सेवा उपलब्ध गराउँदै आएको भक्सक्रो छैटौँ वर्षमा प्रवेश गरेको छ । सन् २०१८ मा सुशान्त राई र दिपेश रेग्मीले यस कम्पनीको सुरुवात गरेका थिए ।

सुरुवाती दिनमा एकै समयमा हजारौं फोन नम्बरमा एउटै रेकर्डेड सन्देश प्रसारण गर्ने प्रविधि ‘भ्वाइस ब्रोडकास्टिङ सिस्टम’ ल्याएकाे भक्सक्रो पछिल्लो समय कल सेन्टर व्यवस्थापन गर्ने कम्पनीका रूपमा चिनिएकाे छ ।

कम्पनीले ‘गेटडेस्क’ नामक आफ्नै कल सेन्टर सफ्टवेयर सञ्चालनमा ल्याई सेवा दिँदै आएको छ । फोनपे, फुडमान्डु, भोज, एरामेक्स, बिज बजार, पठाओ लगायतका डिजिटल व्यवसाय र ८५ भन्दा बढी कम्पनीहरूले आफ्ना ग्राहक सेवा केन्द्र व्यवस्थापनका लागि सोही प्रविधि प्रयोग गर्दै आइरहेकाे कम्पनीले उल्लेख गरेको छ ।

यसअन्तर्गत बुद्ध एयर, नर्भिक अस्पताल, केयर नेपाल, तिलगंगा आँखा अस्पताल, गरिमा विकास बैङ्क, साङ्ग्रिला विकास बैङ्क, मोको डिजिटल वालेट, सिटी एक्सप्रेस, सिप्रदी, सिजी होल्डिङ्स जस्ता ठूला संस्थाका साथै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा सेवाग्राहीको फोनकललाई व्यवस्थापन गर्न भक्सक्रोकाे सो प्रणाली प्रयोग हुँदै आएको छ ।

उक्त सफ्टवेयरको प्रयोगबाट ग्राहक सेवा केन्द्र व्यवस्थापन सहज भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशान्त राईले बताए ।

कसरी लिन सकिन्छ भक्सक्रोको सेवा ?

सीईओ राई भन्छन्, "दिनमा १०० वा सोभन्दा बढी फोन कल आउने संस्थालाई यो सेवा लिनु उपयुक्त हुन्छ ।"

कम्पनीले त्यस्ता कम्पनीहरूलाई सुरुवाती सेटअपका लागि ४० हजारदेखि ५० हजार रुपैयाँसम्म शुल्क लिने गरेको उनले बताए ।

हाल गेटडेस्कलाई आधारभूत र व्यावसायिक संस्करणमा वर्गीकरण गरी उपलब्ध गराइएको छ ।

पछिल्लो अध्यावधिक: माघ १८, २०७९ २०:७