काठमाडौँ । माेबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नहुँदा तीन महिनामा ग्रे मार्केटबाट ३१ लाख फाेन नेपाल भित्रिएकाे नेपाल दूरसञ्चार प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द मिश्रले बताएका छन् । राजधानीमा बुधबार आयोजित एक कार्यक्रममा बाेल्दै उनले वैधानिक बाटोको तुलनामा ग्रे मार्केटबाट झन्डै दुई गुणा बढी फोन आयात भएको उल्लेख गरे ।
उनका अनुसार गत असाेजदेखि मंसिर महिनासम्म वैधानिक बाटाेबाट साढे १५ लाख माेबाइल आयात भएकाे थियाे भने ग्रे मार्केटबाट ३१ लाख फाेन नेपाल भित्रिएका थिए ।
“हामीले पुस १५ देखि पूर्ण रुपमा एमडीएमएस लागू गर्ने भनेर भदौ ३० गते सफ्ट लञ्च गरेका थियौं,” उनले भने, “सफ्ट लञ्चपछिको तीन महिना (असोजदेखि मंसिर)मा वैधानिक बाटोबाट साढे १५ लाख मोबाइल फोन आयात हुँदा ३१ लाख फोन ग्रे मार्केटबाट आए ।”
उनका अनुसार सो तीन महिनाको अवधिमा विदेशबाट नेपाल आउने व्यक्तिहरुले ४२ हजार फोन ल्याएका थिए ।
विदेशबाट नेपालीहरूले ल्याउने फाेनले नभई ग्रे मार्केटका कारण असर पुगेकाे उनकाे भनाइ थियाे । एमडीएमएस पूर्ण रुपमा लागू भए अवैधानिक बाटोबाट आउने फोन आयात रोकिने उनको दाबी थियो ।
साथै प्राधिकरणले एउटै व्यक्तिको नाममा मोबाइल सेट र सिम भएमात्र सो मोबाइल सेट चल्ने व्यवस्था लागू गर्ने तयारी गरिरहेकाे पनि उनले जानकारी दिए । उनका अनुसार एमडीएमएस लागू भएसँगै यही प्रणालीमा ‘अनरसिप ट्रान्सफर’ भन्ने विकल्प हुनेछ, जहाँबाट अर्को व्यक्तिको नाममा मोबाइल नामसारी गर्न मिल्नेछ ।