close

प्रविधिमार्फत सहरी खानेपानी तथा ऊर्जा सेवा स्तरोन्नति गर्न सरोकारवाला एकजुट

टेकपाना टेकपाना

माघ २६, २०७९ १०:१४

प्रविधिमार्फत सहरी खानेपानी तथा ऊर्जा सेवा स्तरोन्नति गर्न सरोकारवाला एकजुट

काठमाडौँ । सहरी खानेपानी तथा ऊर्जा सेवामा पछिला समय विकास भएका विश्वमा प्रविधिको प्रयोग गर्दै खानेपानी र ऊर्जा थप परिस्कृत गर्न सरोकारवाला एक जुट भएका छन् ।

सहरी सेवा प्रबन्धका चुनौतहीरूलाई ध्यानमा राख्दै, जीएसएमए डिजिटल उपयोगिता कार्यक्रम, दियालो टेक्नोलोजिज, घामपावरको सहकार्यमा “नेपालमा सहरी खानेपानी तथा ऊर्जा सेवा स्तरीकरण” विषयमा भएको कार्यक्रममा सरोकारवालाहरू अहिले विकास भएका नयाँ प्रविधिको प्रयोगबाट मात्र गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने कुरामा केन्द्रित रहे ।

गोलमेच सम्मेलनमार्फत गरिएको कार्यक्रममा दियालो टेक्नोलोजिजका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले 'खानेपानीमा डिजिटाइजेशसन: समस्या र चुनौती'का विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा खानेपानी तथा ढल विकास विभागका महानिर्देशक ई.रमाकान्त दुवाडी, नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण सापकोटा, खानेपानी मन्त्रालयकी सहसचिव मिना श्रेष्ठ, खानेपानी विभाग इसाउका डा. रञ्जित ओझाले प्रस्तुतिमाथि टिप्पणी गर्दै अहिलेका चुनौती र आगामी आवश्यकताबारे बोलेका थिए ।

सहभागीहरुले आगामी दिनमा प्रविधिकै प्रयोग गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा नेपालमा सहरी ऊर्जा र खानेपानीको सेवाप्रवाहमा वर्तमान चुनौतीहरू बुझ्न, सस्तो र पहुँचयोग्य ऊर्जा तथा सुरक्षित खानेपानीका क्षेत्रमा काम गर्ने नेपालका सरोकारवालासँग साझेदारी विकास गर्न र आपसी समझदारीका क्षेत्रहरू पहिचान गर्नका लागि छलफल भएको थियो ।

यस्तै कार्यशालामा पहुँचयोग्य र किफायती ऊर्जा र सुरक्षित खानेपानीका लागि यस क्षेत्रमा कार्यरत विभिन्न सरोकारवालाहरूको विचार र दृष्टिकोण साझा गर्न तथा  कम र मध्यम आय भएका देशहरूमा उत्कृष्ट अभ्यासहरू र अनुभवबाट खानेपानी र ऊर्जामा सार्वजनिक तथा निजी साझेदारीलाई स्पष्ट बनाउने विषयमा केन्द्रित रहेको थियो ।

कार्यक्रममा नेपालका खानेपानी तथा ऊर्जा विभागका बीस भन्दा बढी वरिष्ठ सरकारी अधिकारीहरू, जल तथा ऊर्जा क्षेत्रमा काम गर्ने संस्थाहरू र जीएसएमएले सहयोग गरेका संस्थाहरु सहभागी थिए । यसमा दियालो टेक्नोलोजिज, घामपावर तथा ईसेवा,  जियोकृषि, प्राक्टिकल एक्सन आदि संस्थाको समेत सहभागिता थियो ।

पछिल्लो अध्यावधिक: माघ २६, २०७९ १०:१४