close

अमेरिका बस्ने नेपालीको फेसबुक अकाउन्ट ह्याक गरी रकम ठगी गर्ने व्यक्ति पक्राउ

टेकपाना टेकपाना

माघ २७, २०७९ १५:३१

अमेरिका बस्ने नेपालीको फेसबुक अकाउन्ट ह्याक गरी रकम ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं । अमेरिकामा बस्ने नेपालीको फेसबुक प्रोफाइल ह्याक गरी रकम ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा उपमहानगरपालिका-१९ लामाचौरका २३ वर्षीय आशिष परियार रहेका छन् ।

आरोपी परियारले अमेरिकामा बस्ने एक नेपालीको फेसबुक अकाउन्ट ह्याक गरी सो अकाउन्टबाट आपत परेको भन्दै विभिन्न व्यक्तिहरूलाई डिजिटल वालेटहरूमा रकम ट्रान्सफर गर्न लगाउने गरेको पाइएको प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले जनाएकाे छ ।

हालै प्राप्त एक उजुरीउपर अनुसन्धान गर्दै जाँदा परियार पक्राउ परेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

''अमेरिका बस्ने साथीको अकाउन्टबाट आपत परेको भन्दै रकम माग भएको र आफूले मोबाइल बैंकिङमार्फत ५० हजार रुपैयाँ पठाएको, तर बुझ्दै जाँदा साथीको फेसबुक अकाउन्ट ह्याक भएको थाहा पाएपछि पीडितले ब्यूरोमा उजुरी दिनुभएको थियो,'' रायले टेकपानासँग भने, अनुसन्धान गर्दै जाँदा प्राविधिक सबुत, प्रमाण र ह्युमन इन्टेलिजेन्सको आधारमा उक्त प्रोफाइल ह्याक गरी सोही प्रोफाइलमार्फत डिजिटल वालेटहरूमा रकम पठाउन लगाउने कार्यमा संलग्न भएको भेटिएपछि परियारलाई पक्राउ गरिएको हो ।''

परियारलाई सामाजिक सञ्जालको दुरुपयोग गरी साइबर अपराध सम्बद्ध ठगी अपराध अन्तर्गतको कसूरमा थप अनुसन्धान भइरहेको उनले जनाए । 

पछिल्लो अध्यावधिक: माघ २७, २०७९ १५:५६