close

‘रवि लामिछाने चिन्दिनँ’ भन्दा सामाजिक सञ्जालमा गायिका एलिना चौहानमाथि यातना

टेकपाना टेकपाना

फागुन २, २०७९ ९:५६

‘रवि लामिछाने चिन्दिनँ’ भन्दा सामाजिक सञ्जालमा गायिका एलिना चौहानमाथि यातना

काठमाडौं । एक टेलिभिजन अन्तर्वार्तामा 'रवि लामिछाने'लाई व्यक्तिगत रूपमा चिन्दिनँ भन्दा गायिका एलिना चौहानमाथि सामाजिक सञ्जालमा यातना दिन थालिएको छ । कार्यक्रम प्रस्तोताले 'कुन रूपमा चिन्नुहुन्छ' श्रृङ्खलामा चौहानलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो देखाएका थिए । 

एपीवान टिभी तथा युट्युब च्यानल र रजतपट अनलाइन टिभीको युट्युब च्यानलबाट प्रसारण हुने 'द प्रकाश सुवेदी शो' कार्यक्रमको १५ सेकेन्डको क्लिप यतिखेर सामाजिक सञ्जालमा भाइरल छ । 

सो भिडिओ शनिबार दुई फरक युट्युब च्यानलमार्फत अपलोड भएको थियो । सो भिडिओको सुरुवाती चरणमा चौहानले आफू राजनीतिको विषयमा धेरै जानकार नभएको र हालसालै रवि लामिछानेको मन्त्री, सांसद् र पार्टी सभापतिको पद गुमेको समाचार भने थाहा पाएको सुनाएकी थिइन् ।

कुराकानीकै क्रममा 'कुन रूपमा चिन्नुहुन्छ’ नामक सेग्मेन्टमा प्रस्तोताले सबैभन्दा पहिले ऋषि धमालाको फोटो देखाउँछन् । गायिका चौहानले आफूले उनलाई नजिकबाट चिन्ने मौका पाएको र आफू प्ररित समेत भएको धारणा राख्छिन् । त्यसपछि प्रस्तोताले भारतीय गायिका नेहा कक्करको फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भनेर सोध्छन् ।

चौहानले ती गायिकाको पनि खुलेर प्रशंसा गर्छिन् । त्यसपछि प्रस्तोताले हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) को फोटो देखाउँछन् । गायिकाले कट्टेललाई व्यक्तिगत रूपमा नचिन्ने  बताउँछिन् ।

यसरी सोध्दै जाँदा प्रस्तोताले रवि लामिछानेको फोटो देखाउँछन् । गायिकाले फोटो देख्नासाथ रवि लामिछाने दाइ भन्छिन् । "खै वहाँलाई त त्यस्तरी चिन्दिनँ म । चिन्छु, तर पर्सनल्ली वहाँ कस्तो मान्छे हो, थाहा छैन । वहाँलाई कुन रूपमा चिन्नुहुन्छ भन्दा म वहाँलाई कुनै पनि रुपमा चिन्दिनँ ।

"वहाँ रवि लामिछाने हो भनेर चिन्छु तर रूप अनुसार चिन्दिनँ," उनी थप्छिन् । उनले अन्तिममा बोलेका दुई वाक्यको क्लिप काटेर सामाजिक सञ्जाल फेसबुक र टिकटकमा गाली गर्नेको जमात बढेको छ । जसमा सबैजसो रवि लामेछानेका फ्यान तथा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थकहरू रहेका छन् ।

उनीहरूबाट धेरै नै गाली आउन थालेपछि गायिका चौहानले फेसबुकमा पोस्ट राख्दै माफी समेत मागेकी छिन् । गायिकाको सोही पोस्टमा पनि अधिकांश गाली गरिएका कमेन्ट आइरहेका छन् । 

पछिल्लो समय युट्युबमा प्रसारण भएका भिडिओबाट स-साना क्लिक काटेर टिकटकमा राख्ने र भाइरल बनाउने प्रवृत्ति बढ्दो छ । १०-१५ सेकेन्डको क्लिकलाई लिएरै आफ्नो धारणा बनाउने र नकारात्मक टिकाटिप्पणी गर्ने जमात बढ्दै गएको छ । 

छोटो भिडिओ तथा अन्य सामग्रीको इंगेजमेन्ट राम्रो हुने भए पनि यस्तो प्रवृत्तिले पूर्ण सूचना नदिने भएकाले भ्रामक सूचना फैलाउन भूमिका खेलिरहेको छ । 

पछिल्लो अध्यावधिक: फागुन २, २०७९ १०:१४